काठमाडौँ । बहुप्रतिक्षित दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’ को सुरुवाती समिक्षा आउन थालेको छ । शुक्रबारबाट रिलिज भएको फिल्म ट्रेलरमाजस्तो नरहेको भन्दै दर्शकलाई झुक्याउने खालको रहेको नेपाली समिक्षकले बताउन थालेका छन् । पहिलो दिन चलचित्र हेरेका चलचित्र पत्रकार तथा साहित्यकारबाट चलचित्र कथानकदेखि प्राविधिक पक्षमा चुकेको प्रतिक्रिया आएको छ ।
यसैबीच चलचित्र पत्रकार विजय आवाजले आदिपुरुष चलचित्रलाई कार्टुनको दर्जा दिएका छन् ।
फिलिम हेरेपछि सर्ट रिभ्यू भन्दै उनले कार्टुनभन्दा पनि झुर रहेको बताएका हुन् । सामाजिक संजालमा प्रतिक्रिया लेख्दै उनले कथानकमा पनि चलचित्र चुकेको बताए ।
उनले लेखेका छन् ‘दिमागमा राम, सिता, लक्ष्मण र रावणलाई विर्सनुहोस् । आधुनिक जमानाका प्रभाष, कृति सेनन, सैफअली खानको त्रिकोणात्मक प्रेमलाई संझनुहोस् । फिल्मको कथावस्तु साह्रै कमजोर । भीएफएक्स औषत, कतिपय ठाउँमा त कार्टुन हेरे जस्तो । फिल्ममा रामायणको कुनै फिल नै छैन । ओम राउतले यति कमजोर फिल्म बनाएका छन् कि, हेर्दा कैयौं ठाउँमा त हाँसो लाग्छ । यति कमेडी संवाद कसरी यो फिल्ममा राखियो खै ? रामायणको कथालाई यति तोडमोड गरेर खराब बनाइएको छ कि, फिल्म एउटा पौराणिक कथाबाट धेरै पर हटेको छ । बरु, केटाकेटीसँग जानुहोस्, उनीहरु कार्टुन जस्तो एक्सन हेरेर रमाउन सक्छन् । फिल्मको उत्कृष्ट पक्ष भनेको यसको जय श्री रामवाला ब्याकग्राउन्ड स्कोर हो ।
यस्तै कपिलवस्तुका साहित्यकार समिर सायरले पनि यो चलचित्र प्रतिक्षा गरेजस्तो नरहेको बताएका छन् । उनले सामाजिक संजालमा लेखेका छन् ‘मर्यादा ‘पुरुषोत्तमले मलाई क्षमा गरून् , यो फिल्मलाइ १० मा ०.५ रेटिङ प्रदान गरेँ , थैट।’
सुरुवाती धुम मच्याउने आशा गरिएको आदिपुरुषको प्रारम्भिक रिभ्यू सुखद रहेको छैन ।
तर भारतमा भने चलचित्रको राम्रो प्रतिक्रिया छ ।
प्रतिक्रिया