मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उच्च अदालतले काठमाडौं महानगरपालिका र हिसानलाई किन डाक्यो छलफलमा ?

उच्च अदालतले काठमाडौं महानगरपालिका र हिसानलाई किन डाक्यो छलफलमा ?

अपि टाइम्स

काठमाडौँ । पाटन उच्च अदालतले काठमाडौं महानगरपालिका र उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ ९हिसान० लाई आगामी बुधबार छलफलमा डोकेको छ ।महानगरले जेठ ३२ गते भृकुटीमण्डपमा जारी शैक्षिक मेला रोकेपछि हिसानले अन्तरिम आदेश माग गर्दै अदालतमा रिट निवदेन दिएको थियो ।

सोमबार न्यायाधीश जगदीश घिमिरेको इजलासले दुवै पक्षलाई छलफलमा बोलाउन आदेश दिएको हो । अन्तरिम आदेशको लागि दुवै पक्षको छलफल गर्नु पर्ने प्रकृतिको देखिएको रजिस्ट्रार ठगीन्द्र कट्टेलले बताए ।

‘शैक्षिक मेला सञ्चालनमा विपक्षी महानगरपालिकाबाट अवरोध गरेको उल्लेख गरी निषेधाज्ञासहितको अन्तरिम आदेश माग गरेको देखिँदा निवेदनमा उठाएको विषय र गम्भीरतासमेतलाई विचार गर्दा दुवै पक्षलाई छलफलमा उपस्थित गराई आदेश गर्नुपर्ने प्रकृतिको देखिएकाले अन्तिरम आदेश छलफलका लागि असार ६ गते पेसी तोकिएको छ,’ आदेशमा उल्लेख छ । छलफलमा उपस्थित हुँदा विपक्षी काठमाडौं महानगरलाई सबुत प्रमाण र निर्णय काज भए सोसमेत लिई उपस्थित हुन जानकारी गराइएको छ ।

हिसानले मेलामा बिनाकारण हस्तक्षेप गरेकोमा १५ करोड क्षतिपूर्ति र तत्काल मेला सञ्चालनको मागसहित आइतबार रिट दर्ता गरेको थियो । उच्च अदालतले निवेदनको मागअनुसार आदेश जारी हुन किन नपर्ने हो, कारण, आधार र प्रमाणसहित १५ दिनभित्र लिखित जवाफ पेस गर्न पनि आदेश दिएको छ । उक्त मुद्दामा अदालतले कारण देखाऊ आदेश जारी गर्दै अन्तरिम आदेशका लागि छलफलमा झिकाउने निर्णय गरेको कट्टेलले जनाए ।

शिक्षा मन्त्रालयबाट अनुमति लिएर जिल्ला प्रशासन कार्यालय काठमाडौं र काठमाडौं महानगरपालिकालाई जानकारी दिएर मेला आयोजना गरिएको थियो । असार ३ गतेसम्म सञ्चालन हुने ४ दिने मेला उद्घाटनकै ९पहिलो० दिन नगर प्रहरीले ‘माथिको आदेश’ भन्दै बन्द गराएको आयोजकले जनाएको छ ।

‘उत्कृष्ट शिक्षा नेपालमै’ भन्ने नाराका साथ आयोजित मेलामा काठमाडौं विश्वविद्यालय सहित विभिन्न विश्वविद्यालय, सीटीईभीटीबाट सम्बन्धन पाएका ७५ कलेज र शिक्षणसंस्थाको सहभागिता रहेको थियो । मेयर बालेन्द्र शाहको निर्देशनमा मेलामा रोक लगाइएको शिक्षा विभागले जनाएको छ । रोक लगाउनुको कारणसमेत मेयर शाह र महानगरपालिकाले नबताएको कारण अदालत पुग्नु परेको मेला संयोजक टंकराज आचार्यले बताए । मेलामा रोक लगाउँदा १५ करोड क्षति भएको आयोजकको भनाइ छ ।

मेला रोकिएकोमा निजी शिक्षणसंस्था सञ्चालकहरुको संस्थाले सामूहिक रूपमा विज्ञप्ति जारी गरेर आपत्ति जनाउँदै भर्त्सना गरेको छ । बिनासूचना मेलामा रोक लगाएपछि अवलोकनका लागि आएका सयौं विद्यार्थी, अभिभावक फर्किएका थिए । कक्षा ११ र स्नातक तहमा भर्नाको तयारीमा रहेका विद्यार्थीलाई लक्षित गरेर मेला आयोजना गरिएको थियो । मेलाबाट शैक्षिक सूचना र जानकारी दिने उद्देश्य आयोजकको थियो ।