मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाढी पहिरोका १ सय ४९ घटनामा देशभर २१ जनाको ज्यान गयो, २६ जना बेपत्ता

बाढी पहिरोका १ सय ४९ घटनामा देशभर २१ जनाको ज्यान गयो, २६ जना बेपत्ता

अपि टाइम्स

काठमाण्डौ । गएको बैशाखयता देशभर बाढी पहिरोका १ सय ४९ वटा घटना भएका छन् । बितेका ७० दिनमा बाढी पहिरोबाट २१ जनाको ज्यान गएको छ । २६ जना बेपत्ता छन् ।

बेपत्ताहरुको खोजी निरन्तर भैरहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । बैशाखयता ८२ वटा पहिरो र ६७ वटा बाढीका घटना भएकोमा पहिरोका कारण १४ जनाको ज्यान गएको छ भने ५ जना बेपत्ता छन् । त्यस्तै बाढीमा परेर ७ जनाले ज्यान गुमाएका र २१ जना बेपत्ता रहेका प्राधिकरणको तथ्याङ्क छ ।

बाढी पहिरोका यी घटनामा ५ सय २१ परिवार प्रभावित भएका छन् । नेपालमा गएको जेठ ३१ गते भित्रिएको मनसुन अहिले देशभर फैलिएको छ । मनसुन भित्रिएको पूर्वी क्षेत्रमा भएको लगातारको वर्षाले सङ्खुवासभा, पाँचथर, ताप्लेजुङलगायतका जिल्लामा बाढी पहिरोले ठूलो क्षति गरेको छ ।

मनसुनको समयमा बाढी, पहिरो, भूक्षयको सम्भावना हुने भएकाले सतर्कता अपनाउन जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङ्गको आग्रह छ । यसपालिको मनसुनमा देशभर १२ लाख ५४ हजार जनाभन्दा धेरै नागरिक प्रभावित हुने पूर्वानुमान छ ।

साथै २ लाख ८६ हजारभन्दा धेरै घरधुरीमा असर पुग्ने सम्भावना छ । मनसुनमा हुन सक्ने विपद् जोखिमको न्यूनीकरणका लागि पूर्वतयारी अनुसार काम भैरहेको र विपद् प्रभावितलाई तत्काल पालिकाका जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायसँग सम्पर्क गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव एवं प्रवक्ता ध्रुवबहादुर खड्काको आग्रह छ ।