काठमाडौँ । कोशी प्रदेश सभाका बहुमत सदस्य भएका दलहरूले विश्वासको मत नदिने घोषणा गरेका छन्। दलहरूले मत नदिने घोषणा गरेपछि मुख्यमन्त्री हिक्मत कार्कीसहित सरकारका सबै मन्त्रीहरू प्रदेश सभाबाट बाहिरिएका छन्। त्यसैले आधा घन्टाका लागि स्थगित भनिएको प्रदेश सभा बैठक अझै सुरू हुन सकेको छैन।
मुख्यमन्त्री कार्कीले प्रदेश सभामा राखेको विश्वासको प्रस्ताव माथिको छलफल सकिएपछि सभामुख बाबुराम गौतमले आधा घन्टाका लागि बैठक स्थगित गरेका थिए।
लगत्तै मुख्यमन्त्री कार्कीले संसद बैठक आजलाई स्थगित गर्न दबाब दिएका थिए। सभामुखले नमानेपछि मुख्यमन्त्री र मन्त्रीहरू प्रदेश सभाबाट बाहिरिएका थिए।
५ बजेर २० मिनेटमा आधा घन्टाका लागि स्थगित सभा अहिलेसम्म सुरू हुन सकेको छैन। विशवासको मत नपाए कोशी प्रदेश सरकार ढल्ने छ ।
प्रतिक्रिया