काठमाडौँ । नेपालले १६ वर्ष मुनिका खेलाडीहरूको एशियाली क्रिकेट प्रतियोगिता ुएसीसी यू(१६ इस्ट जोन कपुको उपाधि जितेको छ।
नेपाली टोली पूर्णतः हाबी भएको मङ्गलवार सम्पन्न फाइनल खेलमा युवा खेलाडी नरेन भट्टको शतकको मद्दतले नेपालले जित हासिल गरेको हो।
नेपालले पहिलो ब्याटिङ गर्दै मलेशियाविरुद्ध ३५ ओभरमा ८ विकेट गुमाएर २५२ रनको चुनौतीपूर्ण स्कोर बनाएको थियो।
जबाफमा मलेशियाका खेलाडीहरूले नेपाली बलरको सामना गर्न सकेनन्। कप्तान अभिषेक तिवारीले पाँच विकेट लिएपछि मलेशिया १४।५ ओभरमा ३१ रनको न्यून स्कोरमा सीमित हुन पुग्यो। र, नेपाल २०१ रनले विजयी भयो।
नेपाली युवा टोली प्रतियोगिता अवधिभर कुनै खेल नहारिकन अपराजित पनि रह्यो। यसअघि टोलीले समूह चरणमा मलेशियालाई ८४ रन तथा थाइल्यान्डलाई २२५ रनले हराएको थियो भने सेमिफाइनलमा सिङ्गापुरलाई ९७ रनले पराजित गरेको थियो।
नेपाल प्रतियोगिताको डिफेन्डिङ च्याम्पिअन पनि हो। टस जितेर पहिलो ब्याटिङ रोजेको नेपाल मलेशियाको बायोमास ओभलमा भएको खेलमा विपक्षी बलरमाथि हाबी रह्यो।
त्यसको सुरु ओपनर नरेन भट्टले गरेका हुन्। सानदार ब्याटिङ गरेका उनले ८२ बलमा आफ्नो शतक पूरा गरेका थिए।
जारी प्रतियोगितामा नेपाली खेलाडीको यो पहिलो शतक हो। भट्टले अविजित ११२ रन बनाए, जसमा १० चौका र २ छक्का सामेल छ।
यसअघि प्रारम्भिक ब्याटर निरज यादवले ४७ रन तथा सूर्यान्सु कोइरालाले १८ रन बनाएर खेल अगाडि बढाएका थिए।
प्रतिक्रिया