मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मलमास (पुरुषोत्तम मास) भनेको के हो ?

मलमास (पुरुषोत्तम मास) भनेको के हो ?

अपि टाइम्स

यस्मिनमासे न संक्रान्ति संक्रान्ति द्वयमेव वा ।
मलमास स विज्ञेयो मासः स्यात्तु त्रयोदशः ।।
– निर्णयसिन्धु

जुन चन्द्रमासमा एउटा पनि संक्रान्ति हुँदैन त्यस्तो मास वा महिनालाई मलमास, अधिकमास, पुरुषोत्तम मास भनिन्छ । जुन चन्द्रमासमा दुइवटा संक्रान्ति हुन्छ त्यस्तो मासलाई क्षयमास भनिन्छ ।
सौरमास र चन्द्रमास गरी विशेषतः हाम्रोमा दुइ महिनाहरु प्रचलनमा छन् । १२ सौरमासको एकवर्ष हुन्छ भने १२ चन्द्रमासको पनि एक वर्ष हुने गर्छ तर सौरवर्ष ३६५ दिन १५ घडी ३१ पला ३० विपलाको हुन्छ भने चन्द्रवर्ष ३५४ दिन २२ घडी १ पला र २३ विपलाको हुन्छ । यसरी सूर्य तथा चन्द्रमानले एक वर्षमा १० दिन ५३ घडी ३० पला ७ विपला फरक हुने गर्दछ । यसै अन्तरलाई समायोजित गर्नलाई हरेक ३२ महिना १६ दिन भन्दा केहि अघि र केहि पछि मलमास पर्दछ । जसलाई अधिकमास, मलमास र पुरुषोत्तम मास पनि भन्ने गरिन्छ ।
मलमासलाई किन पुरुषेत्तम मास भनियो ?
ज्योतिष शास्त्रमा हरेक नक्षत्र, करण, योग, मास का आ–आफ्नै स्वामीहरु हुन्छन् तर मलमास (अधिकमास) को कुनै पनि स्वामी नहुँदा र कुनैपनि शुभकार्य गर्न नमिल्ने हुँदा सबैले मलामासलाइ हेयदृष्टिबाट हेर्नथाले । त्यसो हुँदा उ अत्यन्त दुःखीत भइ भगवान विष्णुको शरणमा पुगेर जब आफ्नो सम्पूर्ण दुःखका बृत्तान्तहरु सुनायो तब भगवानले उसलाई आफ्नो शरणमा लिँदै भन्नुभयो हे बाबु अबदेखि तिम्रो स्वामी म हुनेछु र तिम्रो नाम पनि पुरुषोत्तम मास रहनेछ । यो पुरुषोत्तम मासमा जुन भक्तले श्रद्धा भक्तिपूर्वक पुरुषोत्तम भगवानको तुलसी,तिल,मालपुवा अर्पण गरी मेरो सुवर्णमय प्रतिमामा पूजा गर्छ र महिनाभरी पुरुषोत्तम माहात्म्यको कथा श्रवण गर्छ भने त्यस्ता भक्तहरुलाइ संसारमा रहँदासम्म सबै प्रकारका भोग तथा मृत्यु पश्चात् वैकुण्ठलोक प्रदान गर्नेछु भनेर भगवान पुरुषोत्तमले मलमासलाई आशीर्वाद दिनुभयो । यसपश्चात् मलमास पनि अत्यन्त प्रसन्न हुँदै भगवानको चरणबन्दन गर्दै त्यहाँबाट प्रस्थान ग¥यो । त्यसदिन देखि मलमासको नाम पुरुषोत्तम मास पनि रहन गयो ।

मलमासमा के गर्ने ? के नगर्ने ?
सामान्य रुपमा हामीले गर्ने कर्महरु तीन प्रकारका हुन्छन् – १. नित्यकर्म , २. नैमित्तिक कर्म ,३. काम्यकर्म
 नित्यकर्म ः जुनकर्म हामीले प्रत्येक दिन गरिन्छ । जस्तै स्नान, ध्यान, सन्ध्यावन्धन, पाञ्चायन देवपूजन, इत्यादि कर्महरुलाई नित्यकर्म भनिन्छ ।
 नैमित्तिक कर्म ः जो कर्म निमित्त आउँदा मात्र गरिन्छ त्यसलाइ नैमित्तिक कर्म भनिन्छ जस्तै– श्राद्ध, न्वारन, अन्नप्रासन, ग्रहण स्नान, इत्यादि कर्महरु ।
 काम्य कर्मः काम्यकर्म दुइ प्रकारका हुन्छन् –
१. अनन्यगतिक काम्यकर्म – जो कर्म तात्कालिक समयमा नै गर्नुपर्ने हुन्छ ( जसको विकल्प हुँदैन) त्यस्तो कर्मलाइ अनन्यगतिक काम्यकर्म भनिन्छ । जस्तै– कोहि व्यक्ति बिरामी भयो उसको तत्काल स्वास्थ्य लाभको लागि गरिने महामृत्युञ्जय यज्ञ, ग्रहशान्ती यज्ञ यस्तै प्रकृतिका माथी उल्लेखित कर्म अनन्यगतिक काम्यकर्म भनिन्छ । यी सम्पूर्ण नित्य, नैमिक्ति र अनन्यगतिक काम्यकर्महरु मलमास एवं गुरुशूक्रअस्तमा पनि गर्न सकिन्छ ।
२. गतिक काम्यकर्म – जुन काम्यकर्मलाइ तत्कालै नगरी अन्य समयमा सार्न सकिन्छ त्यस्ता कर्मलाई गतिक काम्यकर्म भनिन्छ । जस्तै – सप्ताह लगाउन, मन्दिर बनाउन, विवाह गर्न, ब्रतबन्ध गर्न , गृहनिर्माण, गृहप्रवेश, मूर्ति प्राण प्रतिष्ठा, नूतन ब्रत प्रारम्भ गर्न , नूतन तीर्थयात्रा, नूतन तीर्थश्राद्ध, चुडोपनयन , वेदारम्भ इत्यादि कर्महरु मलमास एवं गुरुशुक्रास्तको समयमा नगर्नू भनेर शास्त्रमा उल्लेख गरिएको छ ।


नवविवाहित दम्पति कि सङ्गै नबस्ने ?
मलमासको समयमा मैथुनकर्म गर्नु एवं गर्भाधान कर्म गर्न शास्त्रमा निषेध गरिएको छ । मलमासको समयमा नवदम्पतिहरु संगै रहँदा मैथुनकर्म हुन सक्ने र गर्भाधान पनि हुन सक्ने हुँदा मलमासमा पति पत्नि संगै नरहनू भनेर निषेध गरिएको हो । समाजमा यो केवल नवदम्पतिको लागी मात्र बार्नुपर्ने भनिएता पनि यो नियम सम्पूर्ण पति पत्निले पालन गर्नु आवश्यक छ । किनकि मलमासमा रहेको गर्भको बच्चा अस्वस्थ रहने, कम आयु, मन्द बुद्धि, अपाङ्ग आदि हुन सक्ने कुरा धर्म शास्त्रहरुमा उल्लेख गरेको पाइन्छ । तसर्थ यो समयमा पति पत्नि संगै नबस्नु नै उपयुक्त हुन्छ ।


यो वर्ष मलमास कहिले परेको छ ?
यो वर्ष २०८० साल श्रावण २ गतेदेखि ३१ गतेसम्म मलमास परेको हुँदा यो अवधिभर भगवान पुरुषोत्तमको माहात्म्य श्रवण, पूजा, आराधना, ध्यान, स्नान, जप इत्यादि गरी भगवान पुरुषोत्तमको आराधना गर्नु श्रेयस्कर हुनेछ ।


ॐ नारायणाय नमः !!
आचार्य टिकाराम पौडेल