मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काँग्रेस सभापति देउवालाई गौतमको प्रश्न, तपाईंहरू राजा हो, हामीले हुकुम मान्नुपर्ने ?

काँग्रेस सभापति देउवालाई गौतमको प्रश्न, तपाईंहरू राजा हो, हामीले हुकुम मान्नुपर्ने ?

अपि टाइम्स

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य सञ्जयकुमार गौतमले पार्टीमा विधानको कार्यान्वयन गर्ने र विधिले शासन गर्ने विषयमा नेतृत्व प्रतिबद्ध नदेखिएको बताएका छन् । केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै उनले पार्टी व्यक्तिले मनमौजीले नभई विधि र विधानले निर्देशित भएर चल्नुपर्ने बताए ।

‘पार्टी विधि र विधानले चल्नुपर्छ । सबै नेता कार्यकर्ताले विधिविधानबमोजिम चल्छौँ भनेर प्रतिबद्धता जनाऔँ, अहिलेका आधा समस्या आफैँ हल हुन्छन्,’ गौतमले प्रश्न गर्दै अघि भने, ‘पार्टीमा टिकट कसले बाँड्ने हो ? संसदीय बोर्ड त छैन । मन्त्री कसले बनाउने हो ? संसदीय बोर्ड छैन । हामीले यो परिस्थितिलाई कसरी मूल्यांकन गर्ने ? कि यहाँहरू राजा हो, र हामीले यहाँहरूको हुकुम मान्नुपर्ने ? कि विधिले शासन गर्ने हो ?’

उनले पार्टी नेतृत्व विधि र विधानप्रति प्रतिबद्ध नभएसम्म बेथिति नटर्ने र पार्टीप्रति जनताको धारणा पनि नबदलिने बताए । ‘केन्द्रीय समिति बैठक एक वर्षसम्म बस्दैन । केन्द्रीय सदस्यले भूमिका पाएको छैन, बोल्ने ठाउँ छैन, नेतृत्वले कुनै सोधी खोजी गर्दैन,’ उनले भने, ‘यहाँहरूले जे गरेपनि हामीले केही बोल्न नहुने यो कस्तो लोकतन्त्र हो ? कस्तो पार्टी हो ?’

उनले अहिले पार्टीले तीन तहकै चुनावमा पहिलो दल बन्यो भनेर खुसीयाली मनाउनु आत्मरतिमा रमाउने काममात्रै हुने बताए । ‘सभापतिज्यू, हामीले चुनाव त जितेका छौं, म पनि गठबन्धनबाट चुनाव लडेँ, जितेँ । तर आज हामीले राजनीति हारेका छौँ,’ उनले भने, ‘अहिले हामीले जित्यौँ भनेर आत्मरतिमा रमाउने बेला होइन । चुनाव जितेर हामी तीन तहका सरकारमा छौँ, तर कार्यकर्तामा कुनै ऊर्जा छैन, उत्साह छैन ।’

उनले अहिले आत्मरतिमा रमाएर बस्नुभन्दा आमनागरिकमा, कार्यकर्तामा, मतदातामा छाएको निराशालाई कसरी उत्साहमा परिणत गर्ने भनेर गम्भीर हुनुपर्ने बेला रहेको बताए । उनले भ्रष्टाचार र सुशासनको पक्षमा समेत पार्टीले प्रस्ट धारणा राख्न नसकेकोप्रति प्रश्न उठाए ।

‘अहिले भ्रष्टाचार र सुशासनको मुद्दा प्रमुख बनेको छ । गाउँघरमा जाने स्थिति छैन । मुख देखाउन असहज भइरहेको छ । पार्टीको धारणा के हो रु यसमा पनि यो बैठकले प्रस्ट पार्नुपर्छ,’ उनले भने ।