मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुन काण्डः अनुसन्धान गर्न १० दिनको म्याद थप

सुन काण्डः अनुसन्धान गर्न १० दिनको म्याद थप

अपि टाइम्स

काठमाण्डौ । झन्डै एक सय किलो सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका सात जनामाथि अनुसन्धान गर्न उच्च अदालत पाटनले १० दिनको म्याद थप गरेको छ ।

आज बिहीवार आरोपीहरूलाई अदालतमा पेस गरिएकोमा अदालतले अनुसन्धानका लागि राजस्व अनुसन्धान विभागलाई १० दिनको अनुमति दिएको अदालतका उपरजिस्ट्रार मन्दिरा शाहीले जानकारी दिनुभयो ।

अहिलेसम्म विभागले एक चिनियाँसहित सात जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । तीमध्ये आज सात जनाको म्याद थप भएको हो । आज पक्राउ पर्नेमा चिनियाँ नागरिक जेयुङ लिन रहेका छन् । चीन जान लागेका बेला उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको थियो ।

अन्य पक्राउ परेकाहरूमा ट्याक्सी चालक अशोक रानामगर, भन्सार एजेन्ट राजेन्द्रकुमार राई, रेडी ट्रेड प्रालिका सञ्चालक दिलीप भुजेल, सहयोगी हर्कराज राई, थुक्पिन छिरिङ र रामकुमार भुजेल रहेका छन् ।

भन्सार पास भएर बाहिरिन लाग्दा विभागको टोलीले हङकङबाट ल्याइएको झन्डै एक सय किलो सुन बुधवार राति बरामद गरेको थियो ।