मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लगेज र कार्गो स्क्रिनिङमा प्रहरी राख्ने तयारीमा छौँः गृहमन्त्री श्रेष्ठ

लगेज र कार्गो स्क्रिनिङमा प्रहरी राख्ने तयारीमा छौँः गृहमन्त्री श्रेष्ठ

अपि टाइम्स

गोरखा । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरएको सुन प्रकरणको जरैसम्म अनुसन्धान हुने बताएका छन् । मंगलबार गृहजिल्ला गोरखामा पत्रकारसँगको कुराकानीमा श्रेष्ठले समग्र रूपमा अनुसन्धान अघि बढेको बताए ।

‘समग्र रूपमा अनुसन्धानको प्रक्रिया अघि बढाउँदा जरैसम्म पुग्न निर्देशन दिएका छौँ, अनुसन्धानको आधारमा दोषी देखिएका सम्बन्धित सबैलाई कारबाहीको दायरामा ल्याइन्छ,’ उनले भने,‘ जरैसम्म पुग्छौं, यसको स्रोतसम्म पुग्छौं, प्रारम्भमा पुग्ने भनेको जसले ट्याक्सीमा लग्यो, जसले अर्को ठाउँमा पुर्‍यायो, जसले फेला पार्‍यो त्यसैलाई अनुसन्धान गर्ने न हो ।’

अहिलेको सत्ता समीकरण भ्रष्टाचारविरुद्ध सुशासनको अभियान चलाउन र समृद्धिको लक्ष्य हासिल गर्न प्रतिबद्ध रहेको श्रेष्ठले बताए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ ढंगले व्यवस्थापन गरिने पनि गृहमन्त्री श्रेष्ठको भनाइ छ । ‘प्रारम्भिक रूपमा हामीले आगमन कक्षमा लगेजको स्क्रिनिङ होस् वा कार्गोको स्क्रिनिङ होस् प्रहरी उपस्थिति नहुने अहिलेको व्यवस्था परिवर्तन गरेर प्रहरीको उपस्थिति गराउने, प्रविधिसहित नयाँ ढंगले व्यवस्थापन गर्ने सोच बनाएका छौँ,’उनले भने,‘गम्भीर छलफलका साथ नयाँ योजना बनाउन पहल गरिरहेका छौँ ।’ सुन, भुटानी शरणार्थीलगायतका प्रकरणमा सत्य र प्रमाणका आधारमा अनुसन्धान भइरहेको श्रेष्ठको भनाइ छ । ‘प्रहरी अनुसन्धानमा बिराम लाग्दैन, ठूलो होस् कि सानो, दोषी छ भने अनुसन्धान जहाँसम्म पुग्नपर्छ पुग्छ,’ उनले भने ।

भ्रष्टाचारविरोधी अभियान यतिकै नरोकिने श्रेष्ठको भनाइ छ । ‘समाजमा यत्रो ठूलो समस्या छ, जबर्जस्ती रूपमा भ्रष्टाचारविरोधी अनियमिताविरोधी अभियान चलाइरहेका छौं,’ उनले भने ।