चन्द्रकान्त न्यौपाने
काठमाडौँ । शिक्षाप्रति इङ्गित गर्दै विहिबार एउटा कार्यक्रममा कपिलवस्तुको वाणगंगा नगरपालिकाका मेयर चक्रपाणी अर्यालले भनेका थिए ‘‘निजिमा धनीकाले पढ्छन् । त्यस्तो होइन यो । यो मनोविज्ञान । पुरानो मनोविज्ञान हुँदै हुँदै याँसम्म आएको छ । जनतामाविमा के त्याँ गरिबका गाहन्, लौगाई माविमा, बोर्डिङमा राम्रा राम्रा विद्यालयका सम्पन्न परिवारका, वाणगंगा माविमा भनौँ या कहिँ पनि भनौँ । यता कता थियो त्यो पुरानो संस्कार । यो सम्पूर्ण रुपमा मेटिएको छैन । त्यो एउटा कुरा हो ।
हामीले त्यसको प्रचार गरिरहेका छौँ । हाम्रामा त झोला नहुनी, किताव नहुनी, खान नपुग्नी, फोहरमैलाका गरिब, आउँछन् । यिनले काँ पढ्न सक्छन् । भन्द्या छौँ । हामी यो मनोविज्ञान र रोगबाट मुक्त हुनुपर्छ । यसमा हामीले यो प्रचार गर्न ठ्याक्कै छोडौँ । हाम्रा पनि शशक्त छन् । हाम्रा पनि सम्पन्न छन् । भोलि विहान नगर निर्माण गर्ने ती अभिभावक हुन् । जो सामाजिक क्षेत्रमा लागेका छन् । अभिभावकका बच्चा छन् । हो याँ निम्न पनि छन् । मध्यम वर्गका पनि छन् । समपन्नका पनि छन् । सबै छन् ।
एउटा कुरो हामी भावनामा बहकिन्छौँ । । भावनामा वहकिन हुन्न यो भन्छु मैले । धारणा आफना आफ्ना होलान् । मेरो धारणा कसरी बुझ्नुहुन्छ । शिक्षकले कर्मचारीले, उले सरकारी सरकारी स्कुलमै पढाउनुपर्छ भन्ने समस्याको समाधान हो जस्तो लाग्दैन मलाई । सरकारी स्कुललाई मिनिमाइज गरेर अन्त यो भन्छ त्यो गलत कुरा हो । विद्यार्थीले कहाँ पढ्न मन पराउँछ त्यहिँ पढाउनुपर्छ । उसको मौलिक हक, उसको मौलिक अधिकार कुण्ठित गर्न सक्नुहुन्छ तपाइँले ? यहाँ त हाम्रो त मिडियामा आउनलाई । लौ यहाँ यस्तो गर्यो ।
यसले त यस्तो गर्यो । शिवराजमा पनि । मैले शिवराजलाई आलोचना गर्न खोजेको होइन । शिवराजमा शिक्षा फ्रि । भनेर त्यहाँ मिडियामा आयो । तैँले के गरिस् भन्छन् मलाई । मैले शिक्षा फ्रि गर्न चाहिँ सक्दैन । शिक्षा फ्रि हुने विषय नै होइन । जहाँ शिक्षा फ्रि छ त्यहाँको शिक्षा डामाडोल छ । म त अहिले पनि यहि धारणा राख्छु । फ्रि गर्ने स्वास्थ्य हो । मान्छेलाई मर्न दिन हुँदैन । कुन शिक्षा दिने हो । शिक्षा त खरिद गर्ने विषय हो । यहाँ चाहिँ हाम्रो संविधानले पनि पैसा नलिइ पढाउनु पर्छ भन्छ । हालत देखियो ।
पैसा नलिई पढाउँदा नतिजा के आएको थियो अलिहलि अंग्रेजी मिडियममा पढाउँदा के आएको छ । अभिभावकको आकर्षण अंग्रेजी माध्यममा छ । विद्यार्थी पनि बढेका छन् । अभिभावक खुसी छन् । हामी पैसा दिन तयार छौँ भन्नुहुन्छ । खुसुक्क पैसा नदिएको जस्तो गरेर पैसा दिइरहनु भएको छ । अभिभावकले पनि पैसा नलिए जसरी दिइरहनु भएको छ । पैसा नदिई कसरी चल्छ त्यो ?भावनामा बगेर, मिडियामा हाइहाइ हुनलाई । फेसबुकमा चढाउनलाई गरेर केहि हुँदैन ।”
यस्तो अभिब्यक्ति दिइरहँदा उनी वडो अभिमानी देखिन्थे । दम्भी देखिन्थे । यो अभिब्यक्ति दिँदा म को हुँ र के बोलिरहेको छु उनले भुसक्कै विर्षेको देखिन्छ ।
उनको यो भनाईको सार हो ”नगरमा निशुल्क शिक्षा सम्भव छैन । शिक्षा खरिद गर्ने कुरा हो । कर्मचारी, सरकारी शिक्षक, कर्मचारी, जनप्रतिनिधिले आफ्ना छोराछोरी सरकारी विद्यालयमै पढाउनु पर्छ भन्ने छैन ।”
आफ्नै कारण पटकपटक विवादमा आइरहने मेयर अर्याल यहि अभिब्यक्तिको कारण फेरि आलोचित भएका छन् ।
जब कि छिमेकी शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापाले नगरमा माध्यमिक तहसम्मको शिक्षा निशुल्क गरेका छन् भने सरकारी कर्मचारी, शिक्षक र जनप्रतिनिधिका छोराछोरीलाई अनिवार्य रुपमा सरकारी विद्यालयमा भर्ना गर्न बाध्य बनाएका छन् ।
मेयरको भनाई कति संविधानसम्मत ?
पहिलो कुरा संविधानले नै निशुल्क शिक्षाको व्यवस्था गरेको छ । संविधानमा स्थानीय अधिकार, अनुसुचि ८ ले यो कुरालाई इङगित गरेको छ । यता स्थानीय सरकार संचालन ऐन २०७४ को काम कर्तव्य र अधिकारको ‘झ’ मा आधारभूत र माध्यमिक शिक्षाको बारेमा स्पष्टसंग उल्लेख गरेको छ । ‘झ’ कै १६ नम्बर बुँदामा पनि भनिएको छ निशुल्क शिक्षा, विद्यार्थी प्रोत्साहन, तथा छात्रवृत्तिको व्यवस्था स्थानीय सरकारले नै गर्न सक्छ । तर मेयर अर्याल भने संविधानको मर्म र स्थानीय सरकार संचालन ऐनको निर्देशिकाविपरित बोल्न थालेका छन् । यसबाट मेयर अर्याल विस्तारै निशुल्क शिक्षाको बर्खिलापमा छन् भन्ने बुझिन्छ । उनको यो अभिब्यक्ति त्यसैको एउटा प्रमाण हो ।
चौतर्फी आलोचना
मेयर अर्यालको यस भनाइलाई धेरैले कमजोर मानसिकताको उपज पनि भनेका छन् । सामाजिक संजालमा यस्तै भेट्न सकिन्छ । स्थानीय एक अनलाइनले जहाँ शिक्षा फ्रि छ त्यहाँको शिक्षाको अवस्था डामाडोल छ भन्ने शीर्षक राखेर प्रकाशन गरेको समाचारमा पनि मेयर अर्यालको थुप्रै आलोचना भएको छ ।
नगरमा मेयर पदमा उम्मेदवार रहि अर्यालसंग पराजित भएका रविराज आचार्यले मेयरले यस्तो भनाई राख्न नुहने बताए ।
उनी भन्छन् ‘मेयर ज्यूले भन्न नपर्ने कुरा भन्नुभयो । शिक्षा फ्रि दिँदा गुणस्तरमा कमि हुँदैन । नगर निशुल्क शिक्षाको योजनामा हुनुपर्छ । उहाँलाई कति कमेन्ट गर्ने ? एउटा दुइवटा कमेन्ट भए पो । उहाँले त्यो भन्नु हुँदैनथ्यो । यदि शुल्क लिएर मात्र शिक्षा गुणस्तरयि हुन्छ भन्ने उहाँलाई लाग्छ भने अर्याल जिले सबै विद्यालयलाई शुल्क लिएर चलाउ भनेर उर्दी जारी गर्नुपर्यो । अब मेयर सापले महिनाको मनलाग्दो फिस तोक्न विद्यालयलाई भन्नु पर्यो । कति फिस लिए गुणस्तरीयता कायम हुन्छ अब उहाँले तोक्नुपर्छ त्यसो हो भने । नगरले अब भर्ना र मासिक फिस तोक्नु पर्छ कक्षा १ देखि १२ सम्म ।’
सरकारको तलब खानेका छोराछोरीले सरकारी विद्यालयमै नपढेर नीजिमै भर्ना गरे पनि मेयरजस्तो मान्छेले सार्वजनिक स्थलमा हाकाहाकी यस्तो अभिब्यक्ति दिन नहुने शिक्षाप्रेमीको भनाई छ । उनीहरु भन्छन् ‘मेयरजस्तो मान्छेले त प्रोत्साहन हुने कुरा पो गर्नुपर्दछ । उहाँले जसरी भन्नुभयो सार्वजनिक कार्यक्रममा यो तरिका भएन । ढंग पुगेन । अध्ययन पुगेन मेयर सापको ।’
वाणगंगा घर भई हाल बेलायत पढ्दै आएका गौरव पौडेलले पनि मेयरको त्यो भनाई अनुचित रहेको भन्दै त्यहि समाचारको शीर्षकलाई स्किृनसर्ट गरी फोटोसहित एउटा स्टाटस लेखे जर्मनी, फिनल्याण्ड, अष्ट्रिया, डेनमार्क, नर्वे, स्विडेन । यी केही मुलुकका नाम हुन्, जहाँ शिक्षा (उच्च शिक्षा समेत) निःशुल्क छ। सामान्य गुगल सर्च गर्ने हो भने मात्र निःशुल्क शिक्षाका निम्न फाइदा हुने रहेछन् भनेर उनले लामै लिस्ट लेखेका छन् । भुसालले अध्ययन नै नगरी मेयर अर्याल जथाभावी बोलेको भनेर सन्देश दिन खोजेका छन् ।
पौडेलको त्यो स्टाटसमा आएका कमेन्टसहरु हेर्नुहोस् ।
पार्टीका नेताले के सोँच्छन् मेयर के गर्छन ?
नगर प्रमुख अर्यालले पार्टीलाई पनि अटेर गर्ने गरेको आरोप छ । एमालेका पूर्व जिल्ला अध्यक्ष झविलाल पोख्रेलले गुणस्तरीय र निशुल्क शिक्षाको बारेमा पटकपटक कुरा उठाउँछन् । तर यी विषयमा मेयर अर्याल कहिल्यै जिम्मेवार नभएको पार्टीपङतिबाटै आरोप लाग्छ । स्थानीय चुनावमा जित हासिल गर्नुमा पार्टीको नभई अरुको भूमिका रहेको बताइरहेका मेयर अर्यालको कामसंग पार्टीका धेरै नेता कार्यकर्ता सन्तुष्ट नदेखिएको बताइन्छ ।
माध्यमिक तहसम्म निशुल्क शिक्षा फ्रि गर्न सकिन्न, सक्नेले शिक्षा खरिद गर्नुपर्छ भन्ने उभनाईमा तपाईको धारणा के छ भनेर सोध्दा एमालेका जिल्ला अध्यक्ष डम्बर शर्माले मेयर अर्यालको त्यो भनाई आफूले नसुनेको भन्दै टारे । उनले निशुल्क र सर्वसुलभ शिक्षामा नगरले काम गर्नुपर्ने भनाई भने राखे । मेयरको कामबाट पार्टी कति सन्तुष्ट छ भनेर सोध्दा अध्यक्ष अर्यालले अझै मेयरको मुल्यांकन गर्ने समय नरहेको बताए ।
उनी किन चाहँदैनन् नगरमा निशुल्क शिक्षा ?
वाणगंगा नगरपालिकामा अधिकांस नीजि विद्यालयका मालिक उनै मेयर अर्यालका नजिकका मान्छे छन् । भएका सरकारी विद्यालयमा पनि अंग्रेजी माध्यममा शिक्षा दिने नाममा शुल्क असुलेर ढाड सेक्ने गरिएको छ । त्यसको एक नमुना हो जनतामावि पिपरा । मेयर अर्यालले नगरमा गुणस्तरीय शिक्षा छ भनेर देखाउन यहि विद्यालयको नाम जताततै भजाउने गरेका छन् ।
वाणगंगा यस्तो नगर हो जहाँका पटना, भलवाड, गणेशपुर, भक्तौली, धनकौली, जस्ता ठाउँमा गुणस्तरयि शिक्षा पाउने अधिकारबाट हजारौँ विद्यार्थी बंचित छन् । त्यहाँ अझै पनि अँध्यारो छ ।
त्यहाँका अधिकांस मानिस गरिबीको रेखामुनी छन् । त्यहाँ सुकम्बासी छन् । तिनै स्थानका सरकारी विद्यालयको अवस्था हेर्ने हो कहालीलाग्दो छ । दरबन्दी पनि मिलान छैन । भौतिक संरचना ध्वस्त छन् । पढाउने शिक्षकहरु घाम तापेर बस्छन् । ती विद्यालयको कहिल्यै अवलोकन हुँदैन । मेयर अर्यालको भनाई अनुसार जेनतेन आर्थिक अवस्था धानेकाले शिक्षा खरिद गरेका छन् होइन भने अरु नागरिक तिनै फालिएका र गुणस्तरीय शिक्षा नभएका विद्यालयमा पढाउन विवस र नीरिह छन् । चाहेर पनि महंङगा स्कुलमा पढाउन उनीहरु सक्दैनन् । यो स्थिति बिर्सेर मेयर अर्याल नगरको महेन्द्र राजमार्गकेन्द्रित विद्यालयको नाम भजाएर बसिरहेका छन् ।
नगरका नीजि विद्यालयमा पनि उनी निकटका मान्छेको लगानी छ । एकछिन नगरका चर्चित नीजि स्कुललाई हेरौँ । वडा नम्बर ११ मा रहेको लिटिल स्टार बोर्डिङ स्कुलका संचालक र प्रिन्सिपल सुन्दर पाण्डे छन् । उनी मेयर आवद्ध पार्टी एमालेका युवा नेता हुन् । उनका दाजु भेषराज पाण्डे मेयर अर्यालका दाहिने हात हुन् । एमालेका चतुर खेलाडी तथा पत्रकार महासंघ कपिलवस्तुका पूर्व अध्यक्ष भेषराज पाण्डे मेयर अर्यालका अघोषित प्रमुख सल्लाहाकार हुन् । उनले बस भने बस्ने र उठ भने उठ्ने गर्छन् मेयर अर्याल भन्ने आरोप छन् ।।
वाणगंगा ४ को होराइजनमा काँग्रस र एमालेका नेता कार्यकर्ताहरुको मिश्रित शेयर छ । त्यस विद्यालयका प्रिन्सिपल रहेका बासुदेव घिमिरे पनि मेयर अर्यालका प्रिय र निकट मान्छे मानिन्छन् ।
वडा नम्बर २ मा रहेको हिलवर्ट इङलिस बोर्डिङ स्कुल पनि मेयर निकटकै ब्यक्तिको लगानी रहेको स्कुल हो । वाणगंगा २ मै रहेको ज्ञानपुञ्ज ईङलिश बोर्डिङ स्कुलमा पनि एमाले नेता कार्यकर्ताकै हालीमुहाली छ ।
वडा नम्बर ३ मा रहेको जे होराइजनमा पनि एमालेनिकटको बढी शेयर छ । नगरका विद्यलयको अवस्था यस्तो भएपछि मेयर अर्यालले निशुल्क शिक्षा हुनुपर्छ भनेर बोल्न कदापी सक्दैनन् । यिनै विद्यालयका संचालक स्थानीय चुनावमा जिताउने मेयरका खेलाडी हुन् । त्यसकारण मेयर अर्याल वाणगंगाका माध्यमिक तहसम्मको शिक्षा निशुल्क हुनुपर्छ भनेर न त लाग्न सक्छन् न त यसबारे पैरवी नै गर्न सक्छन् । उनी मेयर रहेसम्म नगरमा माध्यमिक तहसम्म निशुल्क शिक्षाको प्रतयाभुति होला भन्नु असम्भवः प्राय देखिन्छ । उनी नीजि विद्यालयका मालिकको दबाब र प्रभाव कुनै हालतमा थेग्न सक्दैनन् । त्यसकारण उनको नियत खराब भन्दा पनि नीजि विद्यालयका संचालकको दबाबमा मेयरले शिक्षा सम्बन्धि चामत्कारिक निर्णय गर्न नसकेको त्यहाँका सरोकारवाला बताउँछन् ।
नगरको शिक्षा शाखाको नेतृत्वमा पनि राजनीति
। यत्ति मात्र होइन नगरको शिक्षा शाखामा पनि एमाले निकटकै कर्मचारीको हालीमुहाली छ । शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख रहेका खिम बहादुर जिसीलाई शिक्षाको गुणस्तर कायम गर्न भन्दा आफ्ना निकटका मान्छेलाई भर्ति गर्न बढी राजनीति लाग्ने गरेको आरोप छ । नगरमा दरबन्दी मिलान् गर्ने क्रममा आफू र पार्टी मातहतका शिक्षक भर्ती गराउन प्रकृया मिचेर प्रमुख जिसीले पैसा खाएको पनि आरोप लाग्ने गरेको छ । यो कुरा स्थानीय मिडियामा नै आएको थियो । प्रमुख जिसीले पनि नगरमा शिक्षा निशुल्क गर्नुपर्छ भनेर भनेको सुनिँदैन । यसबाट पनि मेयर र शिक्षा शाखा नै निशुल्क शिक्षाप्रति अनुदार रहेको बुझ्न सकिन्छ ।
नगरमा ५ बर्ष उपप्रमुख भएर र अहिले नगरप्रमुख बनेका मेयर चक्रपाणी आर्यालका त्यस्ता निकृष्ट भनाई र स्वार्थका योजनाले उनको स्वार्थ त पुरा होला तर निशुल्क गुणस्तरीय शिक्षा हासिल गर्नु पर्ने नैसर्गिक अधिकारबाट वाणगंगाका विपन्न परिवार भने बंचित हुनेछन् ।
एउटै विद्यालय भजाएर बचेका छन् मेयर अर्याल
‘मेयर अर्यालले जनतामावि र लौगाई या बाणगंगाको विद्यालयलाई हेरेर गमक्क हुने गर्दछन् । तिनै एकदुई विद्यालयको ब्याज खाएर मेयर अर्याल बसेका छन् । उनले पटना, भलवाड, बण्डौली, मोर्मी, भक्तौली, धनकौली लगायतका विद्यालयमा गएर त्यहाँको शिक्षाको स्तर जाँच गरेर बोल्नुपर्छ’, एक जना बुद्धिजिवीले अपिटाइम्सलाई भने ।
शिक्षाका विषयमा मात्र होइन नगरप्रमुख अर्याल धेरै यस्ता कुरामा चुकिरहेका छन् । उनी देशको प्रधानमन्त्रीले गरेको आग्रह पनि नटेर्ने मेयर हुन् । गत बर्ष पोखरा विमान दुर्घटनामा दर्जनौँ नेपाली र विदेशीको मृत्यु हुँदा मुलुकभर शोक मनाउन देशभरका सरकारी कार्यालयमा शोक विदा दिइयो । देशभर आधा झण्डा झ्काइएको थियो त्यहि दिन आफ्ना पार्टीको नेताले गरेको औपचारि कार्यक्रम पुगेर भाषण ठोक्ने मेयर ठोकेर आलोचित भएका थिए । त्यो वडा नम्बर ९ को भलवाडमा आयोजना गरिएको नगरस्तरीय माघी महोत्सव थियो ।
आलोचना सहन नसक्ने र सामाजिक संजालमा झम्टिने मेयर
मेयर अर्याल आफू पनि केहि गर्दैनन् र यसो गर भनेर कसैले आग्रह गर्यो र सुझाव दिइहाल्यो भने सामाजिक संजालमै झम्टिन पुग्छन् । स्थानीय पत्रकार हरि आचार्यले केहि समय ‘वाणगंगा नदीको मुनी रातारात चोरी, नगर बेखरबर’ भनी एउटा समाचार लेखेर शेयर गरे । त्यसमा स्थानीय रिखिराम भट्टराईले नगरको आलोचना गरेका थिए । त्यसैमा लामो समय मेयर अर्यालले दोहोरी खेले । आफूले नगरमा गरेको कामबाट जनता चकित र उत्साहित रकेको भन्दै आफ्नो आलोचना नगर्न आग्रहसमेत गरे । सामाजिक संजालमा उनको भाषा हेर्ने हो भने पनि त्यति सभ्य देखिन्न ।
त्यो पोष्टमा मेयर अर्यालले गरेको प्रतिक्रियाले यसलाई पुष्टि गर्दछ । नगरप्रमुखजस्तो मान्छे आफूविरुद्धका स्टाटस भए पनि ग्रहण गर्ने, आलोचना खेप्ने शिलशिलामा लाग्नु पर्ने हो । सार्वजनिक पद धारण गरेपछि यस्तो नियति सबैले झेल्नुपर्छ । तर मेयर अर्याललाई यस्तो मन पर्दैन । उनको विरुद्धमा लेख्नै हुँदैन । मेयर अर्यालको सोँच छ कि पत्रकारले पनि उनका गलत कामको भजन गाएरै बसेर रमिते बन्नुपर्दछ । यहि मनोविज्ञानले मेयर अर्याल दिनप्रतिदिन कमजोर हुँदै गएका छन् ।
हेर्नुहोस प्रमाण
प्रतिक्रिया