मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाँदरले मकै सखाप पार्न थालेपछि अर्घाखाँचीका किसान चिन्तित

बाँदरले मकै सखाप पार्न थालेपछि अर्घाखाँचीका किसान चिन्तित

अपि टाइम्स

अर्घाखाँची . अर्घाखाँचीमा बाँदरले मकै सखाप पार्न थालेपछि किसानहरु चिन्तित‍ भएका छन् । बिहानदेखि बेलुकासम्म बारीमा बस्दा समेत बाँदरबाट मकै जोगाउन नसकेपछि किसान चिन्तामा परेका हुन् ।

किसानहरु मकैको बोटमा घोगा लागेदेखि नै सबै काम छाडेर बाँदर धपाउन लागिपरेका छन् । ुबाँदरको हुल पस्यो भने छिनभरमा बारीभरिको मकै सखाप पार्छ, बिहानैको झिसमिसेदेखि रात नपरुञ्जेलसम्म बाँदर धपाउन परिवारका सदस्य आलोपालो गरेर बारीमा बस्ने गरेका छौँ।ु सन्धिखर्क २ भलायडाँडाका ठाकुर शालिक पोख्रेलले बताउनुभयो ।

सन्धिखर्क ८ किमडाँडाकी उमकला बन्जाडेले बाँदरका कारण खेतबारी बाँझै राख्नुपर्ने अवस्था आउन लागेको दुखेसो पोख्नुभयो ।

बाँदरबाट बाली जोगाउन उज्यालो हुनेबित्तिकै खेतबारीमा पुग्ने कृषक बेलुका नहुञ्जेलसम्म बाली कुरेर बस्ने गर्छन् । खेतीबाली लगाउन र हुर्काउन जस्तै बाँदरबाट जोगाउन उस्तै चुनौती भएको किसान बताउँछन् ।

ुआँखा झिमिक्क गर्नासाथ बाँदरले सारा खेतीबाली नष्ट गरिदिन्छ । खाना र खाजा खाने समय समेत पाइँदैन । बाँदर हेर्न बसेको ठाउँमै खानाखाजा पुर्याइदिनुपर्ने बाध्यता छ ।ु भेषराज बन्जाडेले बताउनुभयो ।

खेतबारीमा फल्दै गरेका बाली मात्र होइन बाँदरले मान्छे नभएको मौकामा घरभित्रै पसेर अन्नपात नास गरिदिने गरेको छ ।

हिउँदको समयमा खासै दुःख नदिने बाँदरले मकै पाक्ने याममा निक्कै सताउने गरेको छ । बाँदरकै समस्याका कारण कतिपय कृषकले बाली लगाउनै छाडेर खेतबारी बाँझो राख्न थालेका छन् ।

सन्धिखर्क नगरपालिकाको धरम्पानी, तुमकोट, किमडाँडा, खाबडाँडा, वागला, डिभर्ना, भूमिकास्थानको धनचौर ढिकुरा, शीतगङ्गा नगरपालिका, पाणिनि गाउँपालिका, मालारानी गाँउपालिका र छत्रदेव गाउँपालिकाका प्रायजसो गाउँहरुमा बाँदरले निक्कै दुस्ख दिने गरेको छ ।