मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाघको आक्रमणबाट नेपालमा पाँच वर्षमा ५८ को मृत्यु

बाघको आक्रमणबाट नेपालमा पाँच वर्षमा ५८ को मृत्यु

अपि टाइम्स

काठमाडौँ । नेपालमा बाघको सङ्ख्या बढेसँगै यिनको व्यवस्थापन, मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरण, बासस्थान सुधारलगायत अन्य विविध विषय चुनौती बनेका छन् । मध्यवर्ती क्षेत्रका मानिसहरु घाँस दाउरा, निहुरो टिप्न र गाइभैंसी चराउन जाने क्रममा सामुदायिक वनभित्रै बाघको आक्रमणमा पर्ने गरेका छन् ।

उनीहरुलाई जङ्गल नजाने वातावरण बनाउन सरकारले वैकल्पिक जीविकोपार्जनको उपायको व्यवस्था मिलाउने किसिमका कार्यक्रमहरू पनि गर्दै आएको छ ।

हात्ती, बाघ, गैँडा, चितुवा, भालु, जङ्गली कुकुरलगायतका वन्यजन्तुको आक्रमणबाट पछिल्लो पाँच वर्षमा दुई सय मानिसको मृत्यु भएको तथ्याङ्क छ । साथै क्षतिपूर्तिवापत सरकारले रु ६० करोडभन्दा बढी रकम बेहोरिसकेको छ । वन्यजन्तुले मानिसलाई घाइते बनाउने, बालीनाली, घर, गोठको क्षतिलगायत घट्ना बढ्दै गएका छन् ।

त्यसमध्ये पछिल्लो पाँच वर्षमा मुलुकभर बाघबाट मात्र ५८ जनाको मृत्यु भएको तथ्याङ्क छ । आर्थिक वर्ष २०७९र८० मा बाघको आक्रमणबाट १२, आव २०७८र७९ मा २१, आव २०७७र७८ मा १३, आव २०७६र७७ मा आठ र आव २०७५र७६ मा बाघको आक्रमणबाट चारको मृत्यु भएको थियो ।

विश्व जन्तुकोष नेपालका राष्ट्रिय प्रतिनिधि डा घनश्याम गुरुङले मानव–वन्यजन्तु द्वन्द्व रोकथामका लागि जङ्गल वरपरका समुदायलाई जङ्गल नपस्ने गरी जीविकोपार्जनको विकल्प दिनुपर्ने, स्थानीयको वन्यजन्तुप्रति गर्ने आनीबानीमा परिवर्तन गर्नुपर्ने बताए।

साथै उनले वन्यजन्तुको वासस्थानको राम्रो व्यवस्थापन गर्नसके वन्यजन्तु बाहिर ननिस्कने र स्थानीय बासिन्दालाई पनि वैकल्पिक आयको व्यवस्था गर्न सके जीविकोपार्जनका लागि जङ्गल जान बाध्य नहुने अवस्था बनाउन सरोकारवाला सबै लाग्नुपर्नेमा जोड दिए ।

बाघलाई संसारभर प्रतीकात्मक प्राणीका रूपमा लिने गरिन्छ । प्राकृतिक सम्पदाका रूपमा रहेको बाघलाई सांस्कृतिक तथा ऐतिहासिक दृष्टिकोणले पनि महत्वपूर्ण मानिन्छ । जैविक प्रणालीलाई सन्तुलनमा राख्न पनि यसले योगदान पुर्‍याउँछ । खाद्य शृङ्खलामा बाघ मुख्य शिकारी वन्यजन्तु भएका कारणले अन्य जनावरलाई नियन्त्रणमा राखी वातावरण सन्तुलनमा यसको उल्लेखनीय योगदान हुन्छ ।