मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

३ जना राजदूतको संसदीय सुनुवाइ पूरा

३ जना राजदूतको संसदीय सुनुवाइ पूरा

अपि टाइम्स

काठमाण्डौ । विभिन्न देश र नियोगका लागि सरकारले प्रस्तावित गरेको छ राजदूतमध्ये तीन जनाको संसदीय सुनुवाइ पूरा भएको छ । सङ्घीय संसद्अन्तर्गत सार्वजनिक सुनुवाइ समितिको आज बुधवारको बैठकमा न्युयोर्कमा रहेको नेपाली स्थायी नियोग, स्विट्जरल्यान्ड र फ्रान्सका लागि प्रस्तावित राजदूतको संसदीय सुनुवाइ भएको हो ।

बैठकमा न्युयोर्कका लागि प्रस्तावित राजदूत लोकबहादुर थापा, स्विट्जरल्यान्डका लागि प्रस्तावित राजदूत रामप्रसाद सुवेदी र फ्रान्सका लागि प्रस्तावित राजदूत सुधीर भट्टराईले आ–आफ्ना योग्यता, अनुभव, अवधारणा र कार्ययोजना प्रस्तुत गर्नुभयो । उहाँहरूले आफूलाई खटाएको नियोग र देशबाट उच्चस्तरीय भ्रमण आदानप्रदान गराउने, दुई देशबीचको सम्बन्ध थप सुदृढ तुल्याउन हरसम्भव प्रयत्न गर्ने, आर्थिक कुटनीतिमा जोड दिने, वैदेशिक लगानी भित्र्याउन पहल गर्ने तथा वैदेशिक सहयोग प्राप्त गर्ने विषयलाई उच्च प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाए ।

यसअघि समिति सदस्यहरूले प्रस्तावित राजदूतलाई देशको प्रतिनिधिका रूपमा काम गर्ने जिम्मेवारी भएकाले देश र नेपाली नागरिकको हितमा गर्व गर्ने ढङ्गबाट कार्यसम्पादन गर्न सुझाव दिँदै हाम्रा प्राकृतिक सम्पदालगायत राष्ट्रिय धरोहरको प्रचारप्रसार तथा परम्परागतबाहेक नयाँ उपलब्धि देखिने गरी काम गर्न निर्देशन दिएका थिए ।

सरकारले परराष्ट्र सेवामा रहेका वरिष्ठ सहसचिवलाई विभिन्न कुटनीतिक नियोग र देशमा राजदूतका लागि प्रस्ताव गरी संसदीय सुनुवाइका लागि समितिसमक्ष पठाएको थियो ।

समितिले भोलि बिहीवार प्रस्तावित राजदूत घनश्याम लम्साल [कुवेत[, तेजबहादुर क्षेत्री [यूएई] र धनबहादुर ओलीको [थाइल्यान्ड] को संसदीय सुनुवाइ गर्नेछ ।