मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

महासचिव खनाल भन्छन्-‘पत्रकारले पैसाको बार्गेनिङ नमिल्दा समाचार लेख्छन्’

महासचिव खनाल भन्छन्-‘पत्रकारले पैसाको बार्गेनिङ नमिल्दा समाचार लेख्छन्’

अपि टाइम्स

काठमाडौँ । कपिलवस्तुको वाणगंगा नगरपालिकास्थित एक स्थानीय अनलाइनले बुधबार वाणगंगामा प्रहरीकै सेटिङमा खुलेआम नदीजनय पदार्थको दोहन शीर्षकमा समाचार प्रकाशन गर्यो ।

त्यो समाचारमा नेपाल किसान ट्याक्टर समिति र प्रहरीको नाम मुछिएको छ । समाचार अनुसार खोलो बन्द रहेको अवस्थामा दैनिक ७ देखि ९ वटा ट्याक्टरले वाणगंगा खोलो दोहन गरेका छन् भने प्रहरीले नगदमै बार्गेनिङ गरी पैसा उठाउने धन्दा चलाएको लेखिएको छ ।

समाचार अनुसार ट्याक्टर व्यवसायीले जनपद प्रहरीलाई ३ हजार, शशष्त्र प्रहरीलाई ५ सय र सिआइडीलाई १ हजारका दरले पैसा दिएर दोहनमा सेटिङ मिलाएका छन् ।

तर यो समाचार प्रकाशित भएको केहि समयपछि भने समितिले पत्रकारहरुमाथि नै गम्भिर प्रश्न उठाएको छ । समितिका महासचिव झविन्द्र खनालले पत्रकारले समितिसंग पटकपटक पैसा मागेको र आफूले नदिएपछि समाचार लेखेको भन्दै उक्त समाचारमा गम्भिर आपत्ति जनाएका छन् ।

उनले उक्त समाचार निराधार रहेको भन्दै प्रमाण ल्याउन पत्रकारलाई चेतावनीसमेत दिए । समाचारले समितिको मानहानी भएको भन्दै महासचिव खनालले सामाजिक संजाल फेसबुकमा रोमनमा सबैले ख्याल गर्नुहोला भन्दै यस्तो स्टाटस लेखेका छन् ।

खनालले विहिबार समितिले नै विज्ञप्ति निकाल्ने बताए । खनालले यो पोष्ट लेखेपछि पत्रकारलाई पैसा खाएको आरोप किन लगाएको भनेर अपिटाइम्सले सोध्दा उनी झन् कड्किए । उनले प्रतिप्रश्न गर्दै भने ‘पत्रकार हुँ भनेर जे पायो त्यहि लेख्न पाइन्छ ? पत्रकारलाई प्रमाण चाहिनन ?’

पत्रकारसंग निकै रुष्ट रहेका महासचिव खनालले आजमात्र नभएर अरु समयमा पनि पत्रकारले ब्यवसायीलाई समाचारको नाममा धम्की दिने, पैसाको बार्गेनिङ गर्ने लगायतका कार्य गरिरहेकाले अब चुप नलाग्ने बताए । पत्रकारलाई बिभिन्न समयमा आफूले पैसा दिएको बताउँदै अब पत्रकारको ज्यादती पनि सार्वजनिक गर्ने मुडमा पुगेर सामाजिक संजालमा लेख्न बाध्य भएको अपि टाइम्सलाई बताए ।

पत्रकारले अति गर्न थालेपछि अब पत्रकारको विरुद्धमा पनि व्यवसायी उत्रनु परेको उनको भनाई छ । वाणगंगामा मात्र नभएर कपिलवस्तु भरका पत्रकारले पैसाको बार्गेनिङ नमिल्दा समाचार लेख्ने धम्की दिएर ब्यवसायीलाई आतंकित गर्ने गरेको खनालले आरोप लगाए । उनले थपे ‘यहाँ एउटा अनलाइन मात्र छैन, एउटा पत्रकार मात्रै छैन । केहि पत्रकार बाहेक सबैले यहि धन्दा गरेर जीवन चलाइरहेका छन् । हामीले पनि देखिरहेका छौँ । यहाँका पत्रकारकारको हैसियत के छ । हाम्रा पनि कमजोरी होलान् । तर हामीले कहिल्यै पनि पत्रकारलाई नराम्रो गरेनौँ । उनीहरुका कमजोरी ढाकछोप गर्यौँ । तर अब त्यो ज्यादती सहन्नौँ । प्रतिवाद गछौँ ।’ खनालले गलत पत्रकारिता गर्नेका विरुद्धमा नडराइकन उत्रन पनि व्यवसायीलाई आग्रह गरेका छन् । अब पत्रकार भनेर नडराइने उनको चेतावनी छ ।