मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

समुदायस्तरमै आँखा पाक्ने रोग फैलने चिन्ता, धमाधम विद्यालय बन्द

समुदायस्तरमै आँखा पाक्ने रोग फैलने चिन्ता, धमाधम विद्यालय बन्द

अपि टाइम्स

काठमाडौँ । आँखा पाक्ने रोग फैलन थालेपछि धमाधम विद्यालय बन्द भएका छन् । विद्यार्थी–शिक्षकसँगै संक्रमण घर–घर पुग्न थालेपछि केही दिनका लागि विद्यालय बन्द गर्न थालिएको हो ।

स्वास्थ्य संस्थाहरूमा आँखा रातो हुने, पाक्ने, चिलाउने, पानी बग्ने तथा पोल्नेजस्ता समस्या लिएर बिरामीको चाप बढ्दै गएको छ ।आँखाका बिरामी बढेपछि चितवनका तीन स्थानीय तहले विद्यालय बन्द गरेका छन् ।

भरतपुर महानगर, रत्ननगरका सबै शिक्षण संस्था बन्द भएका छन् । भरतपुरमा सोमबारदेखि शुक्रबारसम्म शिक्षण संस्था बन्द गर्ने निर्णय भएको नगर शिक्षा अधिकारी महेन्द्रप्रसाद पौडेलले बताए । रत्ननगरका शिक्षा अधिकारी बद्रीनारायण शर्माका अनुसार नगरभित्रका सबै विद्यालय बुधबारसम्म बन्द गरिएको छ । खैरहनी नगरपालिकाले गत शुक्रबार नै सूचना निकालेर रोग नियन्त्रणमा नआए बुधबारसम्म विद्यालय बन्द गर्ने जनाएको थियो ।

दुई साताअघि खैरहनीमा देखिएको आँखा पाक्ने रोग छिमेकी पालिकामा पुगिसकेको स्वास्थ्य कार्यालय चितवनका सूचना अधिकारी राम केसीले बताए । आँखा उपचार हुने जिल्लाको मुख्य अस्पताल भरतपुर आँखा अस्पतालसहित यसका १४ वटा इकाईमा बिरामीको संख्या दोब्बर पुगेको छ ।

दैनिक करिब १२ सय बिरामी आउने मुख्य अस्पताल र सहायक केन्द्रहरूमा आइतबार २ हजार ३ सय ५७ जना आएको अस्पतालका वरिष्ठ प्रशासक दयाशंकर चौधरीले बताए । तीमध्ये ६० प्रतिशतभन्दा बढी आँखा पाक्ने समस्या भएका व्यक्ति छन् । संक्रमण झनै बढ्न सक्ने भएका कारण सावधानी अपनाउन स्वास्थ्य कार्यालयले अपिल गरेको छ ।

सातायता देखिएको आँखा पाक्ने रोग व्यापक भएपछि सोमबारदेखि धनकुटाका अधिकांश संस्थागत विद्यालय बन्द छन् । धनकुटा–६ स्थित बालसंसार बोर्डिङ स्कुलमा आइतबार एकै दिन एक सय बढी विद्यार्थी आँखा पाक्ने समस्याका कारण अनुपस्थित भएपछि आकस्मिक रूपमा बन्द गरिएको प्रिन्सिपल दिनेश अधिकारीले बताए । विद्यालय शुक्रबारसम्मका लागि बन्द गरिएको हो । तमोर भ्याली बोर्डिङ स्कुल पनि विद्यार्थीमा पनि संक्रमण देखिएपछि बन्द गरिएको छ । जोखिमको अवस्था हेरेर बिदा समायोजन हुने गरी बन्द गर्न सूचना गरेको नगरका शिक्षा शाखा प्रमुख नगेन्द्रमणि श्रेष्ठले बताए । शिक्षा विकास तथा समन्वय इकाई केन्द्र प्रमुख मोहन राईका अनुसार सात वटै पालिकाका विद्यालयमा प्रकोप देखा परेको छ ।

पछिल्लो समयमा डेंगी तथा आँखा पाक्ने समस्या बढ्दै गएकाले सजग रहन तथा औषधि व्यवस्थापनमा समन्वय गर्न पालिकाका शिक्षा शाखामा पत्राचार गरिएको स्वाथ्य कार्यालय प्रमुख गोकुल भण्डारीले बताए ।