मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पहिरोमा बगेका व्यक्ति जब १४ घण्टापछि जीवितै भेटिए

पहिरोमा बगेका व्यक्ति जब १४ घण्टापछि जीवितै भेटिए

अपि टाइम्स

काठमाडौं । मकवानपुरको बागमती गाउँपालिका सिक्रेनीमा पहिरोमा पुरिएर वेपत्ता भएका ६ मध्ये एक जना जीवित भेटिएका छन् ।

जीवित भेटिनेमा सिन्धुली हरिहरपुर गाउँपालिका(१ ककरेका १९ वर्षका पासाङ घिसिङ रहेका हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइवाले जानकारी दिए ।

वाइवाका अनुसार पहिरोले घर बगाउँदा वेपत्ता घिसिङलाई १४ घन्टापछि घाइते अवस्थामा फेला पारिएको हो ।

घिसिङलाई पहिरोले बगाएको घरभन्दा निक्कै तल खोलामा फेला पारिएको हो । ‘खोलामा एक ठाउँ उकास भएको जमिन रहेछ, उनी त्यही उकास भएको जमिनमा फेला परेका हुन्’ वाइवाले भने ।

उनी पाहुना लागेको मकवानपुरको बागमती गाउँपालिका(५ सिक्रे दोभानका ६० वर्षीय अक्कलबहादुर स्याङ्तानको घर पहिरोले बगाएको थियो । जसमा ५ जना अझै बेपत्ता छन् ।

स्याङ्तानसहित उनकी २२ वर्षीया छोरी शिला पहरी, ज्वाइँ २५ वर्षीय जीवन पहरी, नाती चार वर्षीय मिलन पहरी, साढे एक वर्षकी नातिनी दिब्या पहरी वेपत्ता रहेको वाइवाले बताए ।

अक्कलबहादुरकी श्रीमती शन्तमायाको भने पहिरोमा परेर मृत्यु भएको वाइवाले बताए ।

घटनास्थल काभ्रे र मकवानपुरको सीमा क्षेत्रमा पर्दछ । उद्धारमा मकवानपुरको भोर्लेनी र काभ्रेको प्रहरी समेत परिचालन गरिएको छ ।