मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रोजगारीका क्रममा विदेशमा ज्यान गुमाएका श्रमिकका परिवारलाई १० लाख रुपैयाँ दिइने

रोजगारीका क्रममा विदेशमा ज्यान गुमाएका श्रमिकका परिवारलाई १० लाख रुपैयाँ दिइने

अपि टाइम्स

काठमाण्डौ । वैदेशिक रोजगार बोर्डले रोजगारीका क्रममा विदेशमा ज्यान गुमाएका श्रमिकका परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहायता दिने भएको छ ।

यसअघि बोर्डले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका श्रमिकको ज्यान गएमा मृतकका परिवारलाई सात लाख रुपैयाँ दिँदै आएको थियो । यस्तो सहायता वैदेशिक रोजगारीमा जाने क्रममा श्रमिकले वैदेशिक रोजगार कल्याणकारी कोषमा जम्मा गरेको रकमबाट बोर्डले प्रदान गर्दै आएको छ । वैदेशिक रोजगारीमा जाने श्रमिकले तीन वर्षसम्मको श्रम स्वीकृति लिँदा एक हजार पाँच सय र तीन वर्षभन्दा बढीको श्रम स्वीकृतिका लागि दुई हजार पाँच सय रुपैयाँ कल्याणकारी कोषमा रकम जम्मा गर्नुपर्ने व्यवस्था छ ।

यस्तै बोर्डले मृतक श्रमिकका छोराछोरीलाई प्रदान गरिँदै आएको शैक्षिक वृत्ति रकम पनि बढाएको छ । बोर्डले यसअघि शिशु कक्षादेखि कक्षा ८ सम्म अध्ययनका लागि वर्षको आठ हजार रुपैयाँ दिँदै आएकोमा अब १२ हजार पाँच सय रुपैयाँ दिने भएको हो । यस्तै ९ कक्षादेखि १२ कक्षासम्म वर्षको १२ हजार रुपैयाँ प्रदान गरिँदै आएकोमा अब १५ हजार पाँच सय रुपैयाँ दिने निर्णय भएको छ ।

यसैबीच वैदेशिक रोजगार विभागको अवरुद्ध भएको अनलाइन सेवा सञ्चालनमा आउन अझै तीन दिन लाग्ने विभागले जनाएको छ । विभागको अनलाइन प्रणालीको सर्भरमा समस्या आएसँगै हिजो मङ्गलवार बेलुकादेखि सेवा अवरुद्ध रहेको छ ।