मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वाणगंगाको यस्तो नेतृत्व जो खोला दोहनको सुचनाले झस्कन्छ नत्र सुतिरहन्छ

वाणगंगाको यस्तो नेतृत्व जो खोला दोहनको सुचनाले झस्कन्छ नत्र सुतिरहन्छ

अपि टाइम्स

चन्द्रकान्त न्यौपाने

काठमाडौँ । कपिलवस्तुको वाणगंगा नगरपालिकाको एउटा स्थानीय मिडियाले केहि दिन अघि वाणगंगा खोलामा प्रहरीकै सेटिङमा नदीजन्य पदार्थको दोहन भएको समाचार लेख्यो । त्यो समाचारले केहि समय वाणगंगामा गर्मी सिर्जना गर्यो । पत्रकार र ट्याक्टर ब्यवसायीबिच त्यो समाचारले तनाव नै सिर्जना गर्यो भने नगरपालिकाको पनि कटु आलोचना भयो ।

त्यसपछि फेरि साउन २४ गते बुधबार एक जना स्थानीयले वडा नम्बर ८ धनेशपुरमा खोला दोहन भएको भनि एउटा भिडिओ सामाजिक संजालबाट सार्वजनिक गरे । वाणगंगामा भए गरेका बिभिन्न विकृतिमाथि सामाजिक संजालमार्फत् खबरदारी गरिरहेका रिखीराम भट्टराईले त्यो भिडिओ सार्वजनिक गरेका थिए ।

उनको बुधबारको भिडिओमा खोला वगरबाट ट्याक्टरले बालुवा बोकेर हिँडेको देखिन्छ भने जेसिबीले पनि ट्याक्टरको ट्राली भरेको देखिन्छ । भट्टराईले खोला बन्द रहेको अवस्थामा चरम रुपमा दोहन हुँदा पनि कसैले नदेखेको भन्दै सम्बन्धितको आलोचना गरेका थिए ।

उनका अनुसार केहि ब्यक्तिले नीजि जग्गा भन्दै ट्याक्टरबाट बालुवा ओसार्ने काम गरिरहेका थिए । त्यसपछि सार्वजनिक भिडिओको कमेन्ट्समा नगर नेतृत्वको चर्को आलोचना भइरहेको छ । त्यहि दिन नै भिडिओ पोष्ट गरेबापत आफूलाई र परवारलाई तर्साउने धम्की आएको पनि भट्टराईले फेसबुकमा लेखेका थिए ।

नगरको अनुगमन तालिका भनौँ या सुचना थाहा पाएपछि भनौँ त्यहि दिन वाणगंगा नगरपालिकाको अनुगमन टोलीले खोलाको अनुगमन गर्यो । नगरपालिकाका नगरप्रमुख चक्र अर्याल, प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसाल, अरु अधिकृत र प्रहरी लगायतको टोली अनुगमनमा पुग्यो । अनुगमन टोलीले त्यहि दिन वडा नम्बर ८ धनेशपुरबाट एउटा ट्याक्टर पनि जफत गरेको थियो ।

जफतपछि प्रमुख प्रशासकीय अधिकृत भुसालले अपि टाइम्ससंग भनेका थिए, ‘नगरमा हुने नदीजन्य पदार्थको अवैध दोहनबारे नगरको नेतृत्व चनाखो छ । आज पनि हाम्रो टोली घुम्यो । प्रहरीसहित एउटा ट्याक्टर जफत गरेर ल्याछम् । मान्छे आछैन । त्यसलाई जरिवाना हाल्छम् । न्यूज बनाइदिनु नगरपालिकाले गरेको अनुगमन श्रृङ्गीघाटदेखि वाणगंगाको तल्लोउपल्लो धनेशपुर साइडमा । तल म जान भ्याइनँ । साथीहरुलाई पठाएँ । ट्याक्टर पक्रेर ल्याएर आउनुभयो । दिनदिनै धरपकड गर्ने हो । तिनलाई कारबाही गर्ने हो । त्यस्तो थाहा पाए सुचना गर्नुस् । तुरुन्त तिनलाई कारबाही गर्ने । जफत गर्न नगरपालिका पछि पर्दैन । म एकदम अग्रसर छु है ।’ उनले थपे ‘यहि विषयमा मैले जिल्ला प्रशासन, सबै सुरक्षा अंगमा पत्राचार गरेको छु । अनुगमन गरेर सहयोग गर्न भनेर पत्राचार गरेको छु ।’

तर सर्वसाधारण र सरोकारवालाले भने वाणगंगा नगरको नेतृत्वले यसरी काम नगरेको बताउँछन् । सरोकारवालाको आरोप छ कि ‘नगरको नेतृत्व नदीजन्य पदार्थको दोहन रोक्न नीरिह प्राय छ । बन्द अवस्थामा नदीजन्य पदार्थको खुलेआम दोहन हुँदा पनि नगर मुकदर्शक बन्छ ।’

त्यहाँका पत्रकार र जानकारले पनि नगरले आफैले जानेर यस विषयमा गम्भिर तवरले काम गर्न नसकेको बताउँछन् । नाम नभन्ने शर्तमा एक जना पत्रकारले अपि टाइमससंग भने, ‘हामीले समाचार लेखेपछि, स्थानीयले खबरदारी गरेपछि नगरको नेतृत्व जाग्छ र अनुगमन गर्छ । त्यसपछि खोलामा केके हुन्छ नगरले थाहा भएको नभएझैँ गर्छ । अति भएर फेरि पत्रकारले र समुदायले खरबदारी गर्छन् अनि नगरले अनुगमन गरेको, एक्सनमा उत्रेको बताउँछ । उनी मातहतका पत्रकारले नगर एकसनमा शीर्षक राखेर समाचार बनाउँछन् । त्यसपछि कुरो फेरि सेलाउँछ । नदीजन्य पदार्थको चोरी भइरहन्छ । कसैलाई थाहा हुँदैन ।यसैगरी चलेको छ हाम्रो वाणगंगा ।’

ती पत्रकारले भनेझैँ नगरको नेतृत्व नदीजन्य पदार्थको अवैध दोहन रोक्न नीरिहजस्तै छ । चौतर्फी आलोचना भएपछि बाध्य भएर नगरले अनुगमन गर्ने र एक दुईवटा ट्याक्टर समान्ते गरेको देखिन्छ ।

धेरैको आरोप छ, ‘नगरपालिकामा यसपटक त्यस्तै ब्यक्तिको रजगज छ । हिजोको ब्यवसायी र ठेकेदारहरु नै चुनाव जितेर वडामा छन् । नगर प्रमुख चक्र अर्याललाई पनि उनैले घुमाउँछन् । पहिलेभन्दा यसपटक नगरका जनप्रतिनिधि अनपढ र भिजनविहिन छन् । उनीहरुको धन्दा कमाउमा रहेको देखिन्छ । खै ५ बर्ष नगरमा केहि होलाजस्तो लाग्दैन ।’

चार नम्बर जितपुरका एक जना व्यवसायी विष्णु गैरेले भने, ‘मेयर चक्र अर्यालबाट धेरै आशा गरेका थियौँ । जितायौँ पनि तर भनेजस्तो केहि भएको छैन । उहाँ आफै चल्नुहुन्छ कि अरुले चलाउँछन् थाहा नै भएको छैन । अब त उहाँले पनि गर्नुहुन्छ भनेर आशा पलाउन छोड्यो ।’

वाणगंगामा विकास निर्माणको हिसाबले अहिलेसम्म त्यति उल्लेखनीय काम हुन नसकेको नगरबासीको आरोप छ । नगर हरेक बर्ष विकास निर्माणले भन्दा पनि नदीजन्य पदार्थको दोहनले चर्चामा आउँछ । खोलाकै कारण वाणगंगामा हाकिम टिक्न सक्दैनन् ।

नगरको यो हविगतबारे सबै थाहा हुँदा हुँदै पनि मेयर अर्यालले न एक्सनमा काम गर्न सकेका छन् न खोलाको दोहन गर्नेमाथि कानुनी भाटा चलाउन सकेका छन् । उनले गरेको भनेको अहिलेसम्म खोलो दोहनगर्नेमाथि कहिलेकाँहि जरिवाना मात्र हो । त्यो पनि चर्को आलोचना थेग्न नसकेर बाध्य भएर गराएको स्थानीय जानकार बताउँछन् ।

मेयर अर्याल मात्र होइन पहिलो कार्यकालका नगरप्रमुख मंगल थारुले पनि यस विषयमा राम्रो काम गर्न सकेका थिएनन् । खोला चोर्ने अनि शक्तिको आडमा सुरक्षित रहन सक्ने ठेकेदार र व्यवसायीले यसपटक पनि मेयर अर्याललाई काबुमा राख्ने गरेका छन् । जसका कारण खुलेआम नदीजन्य पदार्थको दोहन हुँदा पनि नगर नेतृत्वले प्रभावकारी ढंगले काम गर्न सकेको देखिन्न ।

अहिले खोलाको विषयमा पत्रकार र ब्यवसायी विभाजित छन् । पत्रकारले सेटिङमा खोलो दोहन गरेको भनी समाचार लेख्छन् भने ब्यवसायीले पैसा नपाएको झोँकमा समाचार लेखेको भनेर सामाजिक संजालमै लेखिदिएका छन् ।

यसबाट के बुझिन्छ भने खोलो दोहन गर्न व्यवसायी र ठेकेदार मात्र नभएर पत्रकार, पुलिस, जनप्रतिनिधि नै लागेका छन् । त्यहाँको प्रहरी पनि व्यवसायीको प्रलोभनमा परेर दोहनकर्तालाई उम्काउने धन्दामा लागेको बताइन्छ । प्रहरीले सोझै पैसाको बार्गेनिङ गरी सेटिङ मिलाईदिने गरेको त्यहिँका मिडियाले लेख्ने गरेका छन् । वडा नम्बर ४ का राजेन्द्र न्यौपाने भन्छन्न, ‘गरको विकास गरौँ भन्ने सोँचमा न पत्रकार, न जनप्रतिनिधि न अरु नै छन् । कसले हो नगरको विकास गर्ने । यहाँ मता छ । विडम्बना छ ।’

उनी भन्छन् ‘खोलाको विषयमा पत्रकार र ब्यवसायी यसरी लडेको अवस्थामा त नगरले बसालेर छलफल गर्ने, कमजोरी कसबाट भएको हो पत्ता लगाई सच्चन भन्ने । तर त्यसो गरेको देखिन्न ।’

अहिले खोलो बन्द छ । तर बन्द अवस्थामा पनि आफ्नो नीजि जग्गामा रहेको बगरको बालुवा गिट्टी उठाउन पाइने भन्दै ट्याक्टर धनीले बालुवा उठाइरहेका छन् । कानुन अनुसार बगरको जग्गा आफ्नो नीजि भए पनि मनपरी ढंगबाट जनप्रतिनिधिलाई हवला दिँदै बालुवागिट्टी उठाउन पाइँदैन ।

जिल्ला प्रशासन कार्यालय कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्य भन्छन् ‘आफ्नो वगरको जग्गामा रहेको बालुवागिट्टी उठाउनु परे नगरको अनुमति लिनुपर्छ । धेरै नै छ भने खानीबाट अनुमति लिनुपर्छ । तर मनपरि उठाउन पाइदैन । त्यो गैरकानुनी हुन्छ ।’

यो नियमको धज्जी उडाउँदै ब्यवसायीले मनपरी तरिकाले नीजि जग्गाबाट नदीजन्य पदार्थ उठाएको थाहा पाउँदा पाउँदै नगरको नेतृत्व चुप रहेका कारण अहिले धेरै आलोचना भइरहेको छ ।