काठमाडौं । काठमाडौं महानगरपालिकाको सहरी योजना आयोगका उपाध्यक्ष तपेन्द्र खड्काले राजीनामा दिएका छन् ।
खड्काले अघिल्लो साता पारिवारिक कामले लामो छुट्टी मागेका थिए । तर, मेयर बालेन शाहले लामो छुट्टीमा बस्नुभन्दा राजीनामा नै दिन दबाब दिएपछि उनले गत शुक्रबार राजीनामा बुझाएका हुन् ।
योजनाको काममा लाग्नुपर्ने बेला उपाध्यक्षले लामो विदा मागेपछि उनीसँग राजीनामा माग गरिएको बालेनका स्वकीय सचिव भूपदेव शाहले अनलाइनखबरलाई बताए । ‘आर्थिक वर्ष सुरु भएको केही दिनमात्रै भएको छ, योजनासम्बन्धी धेरै काम गर्ने बेला उहाँले लामो समय विदा मागेपछि, राजीनामा कै कुरा भएको हो’, शाहले भने ।
खड्कालाई २६ पुसमा काठमाडौं महानगरपालिकाले योजना आयोगको उपाध्यक्षमा नियक्त गरेको थियो । उनले ७ महिनामै राजीनामा दिएर बाहिरिएका छन् ।
परिवारिक कामका कारण आफूले समय दिन नसकेपछि राजीनामा दिएको खड्काले बताए । ‘मेयरसँग असझदारी भएर वा अन्य कारणले राजीनामा दिएको होइन,’ खड्काले भने । खड्काकै योजनामा महानगरपालिकाले चालु आवमा महानगर गौरवको योजना, स्वर्णिम योजना ल्याएको थियो ।
राजभण्डारीलाई उपाध्यक्ष बनाइँदै
बालेनका स्वकीय शाहका अनुसार बिहीबार बस्ने कार्यपालिका बैठकले डा। सुमननरिसंह राजभण्डारीलाई नयाँ उपाध्यक्षमा नियुक्ति गर्दैछ । राजभण्डारी बालेनसँग निकट स्ट्रक्चरल इन्जिनियर हुन् । इन्जिनियरिङमै विद्यावारिधि गरेका राजभण्डारीलाई मेयर हुनुअघि बालेनले इन्जिनियरिङको काममा सहयोग गर्दै आएका थिए । अध्ययन तथा काममा राजभण्डारीले बालेनलाई गुरुले जसरी नै सिकाउने गरेको उनी निकट स्रोतले बतायो ।
प्रतिक्रिया