मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रास्वपाको केन्द्रीय समिति बैठकभदौ १५ गतेभित्र

रास्वपाको केन्द्रीय समिति बैठकभदौ १५ गतेभित्र

अपि टाइम्स

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भदौ १५ भित्र केन्द्रीय समिति बैठक बोलाउने तयारीमा छ । भदौ १५ भित्र सकारका कामको समीक्षा र पार्टीका सांगठनिक एजेन्डाबारे छलफल गर्न केन्द्रीय समिति बैठक बस्ने रास्वपाका सहमहामन्त्री तथा सङ्गठन विभाग प्रमुख कविन्द्र बुर्लाकोटीले बताए ।

रास्वपाले अहिले जिल्ला, पालिका र वडा तहमा कार्यकर्ता भेलालाई तीव्रता दिएको छ । पार्टीका भेलाहरूलाई सम्बोधन गर्न केन्द्रीय नेताहरू जिल्ला–जिल्लामा रहेको बुर्लाकोटीले बताए । ‘अहिले पार्टीले जिल्ला, पालिका र वडा तहको कार्यकर्ता भेलालाई तीव्रता दिएको छ । भदौ १५ भित्र केन्द्रीय समिति बैठक बस्ने तयारी छ,’ उनले भने ।

रास्वपाले अहिले पार्टीको दस्तावेज तयार गर्न ५१ गाउँबाट सुझाव सङ्कलन गरिरहेको छ । हिमाल, तराई, पहाड सहितको भौगोलिक र समुदाय विविधता हुने गरी नागरिक कहाँ पुगेर दस्ताबेजका लागि सुझाव लिइरहेको उनको भनाइ छ ।

पार्टीले गठन गरेको १७ जनाको टोलीका प्रत्येकले तिन स्थानमा पुगेर सुझाव सङ्कलन गरिरहेका छन् । ‘नयाँ युगको सङ्कल्प’ दस्तावेज तयार गर्ने क्रममा प्रतिनिधिमण्डलका सदस्यले एक स्थानमा पाँच दिन समय दिएर तीन ठाउँमा पुग्नुपर्ने हुन्छ । सुझाव सङ्कलनका लागि तोकिएको १५ दिनको समय सीमा सकिन लागेको छ । सुझाव सङ्कलनको काम पनि अन्तिम चरणमा पुगेको उनको भनाइ छ । यता भदौबाट वडा समितिका उम्मेदवार सङ्कलन सुरु गर्ने भनिएको कार्यक्रम भने असोजलाई सारिएको छ ।

रास्वपाले ७ सय ५३ मध्ये करिब २ सय ९० पालिका, १ सय ६५ मध्ये १ सय ५४ निर्वाचन क्षेत्रमा निर्वाचन क्षेत्र, ७७ मध्ये ७४ जिल्ला, सात प्रदेश समिति बनाइसकेको छ । सबै पालिका र निर्वाचन क्षेत्रमा पनि समिति गठनको गृहकार्य भइरहेको बुर्लाकोटीको भनाइ छ ।