मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

के गोरुको मासु खान हुन्छ ?

के गोरुको मासु खान हुन्छ ?

अपि टाइम्स

दीपक पौडेल, रुपन्देही । शासकहरुले जात र धर्मको नाममा जनतालाई लडाएर शासन चलाएका हुन्छन् । साम्राज्यवादीहरुले धर्म र जातको नाममा बिभिन्न मुलुकमा द्वन्द्व मच्चाएर , युद्ध चलाएर युद्ध सामग्री अथवा हातहतियार बिक्री गर्ने वातावरण तैयार पार्छन् । उनीहरुका लागि कुनै देशमा युद्ध चल्नु सुनौलो अवसर हो । केही बर्ष पहिले साम्राज्यवादीहरुले नेपालमा जातीय राज्यको हल्ला मच्चाउन लगाएर जातीय द्वन्द्व चर्काउन खोजेका थिए , त्यो सफल हुन सकेन । अहिले धर्मको नाममा द्वन्द्व मच्चाउन खोजेका छन् ।

हामीलाई बिश्वास छ , नेपलमा त्यो सम्भव हुनेछैन । कुन धर्म मान्ने वा धर्म नमान्ने ? अथवा धर्मभन्दा माथि उठ्ने ? यहाँ धर्म भनेको हिन्दु , मुस्लिम , क्रिश्चियन आदि लाई भनिएको छ । व्यक्तिको स्वतन्त्रताको कुरा हो । आम मानिसहरुले धर्म , परम्परा , संस्कृति , संस्कार आदिलाई गोलमटोल रुपमा धर्म भन्ने गर्छन् , त्यो सहि होइन । वस्तुको गुण नै धर्म हो भन्ने पनि गरिन्छ । आगोले पोल्नु आगोको धर्म हो । पानीले भिजाउनु पानीको धर्म हो । कांग्रेस कांग्रेस जस्तो हुनु कांग्रेसको धर्म हो । कम्युनिस्ट कम्युनिस्ट जस्तो हुनु कम्युनिस्टको धर्म हो ।

बाघले बाख्रो खानु बाघको धर्म हो । यस्तै यस्तै । अव हामीले सबैभन्दा चेतनशील प्राणी मानवको धर्म के हो ? जातीय बिभेद गर्नु मानवीय धर्म हो ? धार्मिक बिभेद गर्नु मानवीय धर्म हो? समुद्रमा ठुलो माछाले सानो माछालाई खानु धर्म हो भन्न सकिएला तर सम्पन्न व्यक्तिले विपन्न व्यक्तिलाई शोषण , दमन , अन्याय , अत्याचार गर्नु धर्म मान्न सकिन्छ ? सकिन्न । समग्रमा प्राकृतिक साधन श्रोतको न्यायपुर्ण उपयोग नै मानव धर्म हो । संपुर्ण मानव निर्मित बिभेदको अन्त्य नै मानव धर्म हो ।

मानवले के खाने , के नखाने ? उसको स्वास्थ्य अवस्थामा भर पर्दछ । कसैलाई घ्यू पच्दैन , कसैलाई मासु पच्दैन । कसैलाई चिनी राखेको चिया खान पर्छ , कसैलाई चिनी नहालेको चिया खान पर्छ । यसरी शरिरलाई फाइदा गर्ने चिज खाने ह‍ो र शरीरलाई हानि हुने चिज नखाने हो । मानव समाजको विकास संगै खानाका परिकारहरु बढ्दै गइरहेका छन् ।

देश काल परिस्थिति अनुसार खाने तरिकाहरु पनि फरक फरक हुन्छन् । देश काल परिस्थिति अनुसार हाम्रा बानी व्यवहार पनि फरक फरक हुन्छन् , यसलाई स्विकार्नु पर्दछ । कुल पुजामा बोको काट्ने बाहुन पनि छन्, कुल पुजामा बोको नकाटेर खिर खाने बाहुन पनि छन् । राँगो खाने मगर पनि छन् , रागो नखाने मगर पनि छन् । सुँगुर खाने मगर गुरुङ पनि छन् , सुगुर नछुने मगर गुरुङ पनि छन् , यो आआफ्नो प्रचलन हो । बोको नखाने बाहुनले बोको खाने बाहुनलाई हिंसा गर्न मिल्दैन ।

प्रकृतिमा धेरै प्रकारका जीवजन्तु पाइन्छ , प्राकृतिक सन्तुलन कायम राख्न सबैको भुमिका रहेको हुन्छ । लोप हुनलागेका जीव जनावरको संरक्षण गर्ने अभियान पनि चलेको छ । प्रकृतिमा कस्को भुमिका कति ? मानवले त्यसको अध्ययन गरिरहेका छन् । जीव जन्तुको भुमिका अनुसारको व्यवहार पनि आवश्यक हुन्छ । कतिपय जीव जन्तुको मानिसले मासु खाने कारणले संरक्षण भएको छ ।

कतिपय जीवजन्तूको मानिसले मासु खाएका कारण संरक्षण भएको छैन । सबैका परम्परा आआफ्नै छन् , बैज्ञानिक परम्परा अगाडि बढाउदै जान पर्दछ , अबैज्ञानिक परम्परा छोड्नु पर्दछ । प्रकृतिक सन्तुलन र स्वास्थ्यमा ध्यान दिएर मानिसलाई खानपाउने अधिकार कानुन बदलेर भएपनि दिनु पर्दछ ।

गाईको दुधलाई आमाको दुध समान मानिन्छ । अहिले आमाको दुध समान दुध दिने लोकल गाईलाई अन्य विकासी गाईले विस्थापित गरिसकेका छन् । लोकल गाईको संरक्षण गर्नु पर्दछ । बाटोमा गाई र गाईका बाच्छा बाच्छीले यातायातका साधन संचालनमा समेत अवरोध पुर्याएको देखिन्छ ।

छाडा गाई गोरुले बालीनाली खाएर किसानलाई हैरान पारेका छन् । बाच्छा बाच्छीको कुनै मुल्य नभएको हुनाले एकदुई दिन दुध नदिने र एकदुई दिनपछि एकैचोटि धेरै दुध खुवाएर मार्ने चलन पनि बढेर गएको छ । मार्नु नै छ भने उपयोग हुनेगरी मार्दा के फरक पर्छ रु कुनै फरक पर्दैन । सबै कुराहरुलाई विचार गर्दा वास्तवमा गाईको संरक्षणको निम्ति गोरुको मासु खान चाहनेलाई खान दिनु पर्दछ । कानुनले रोके कानुन बदल्नु पर्दछ । हामी र हाम्रो मानसिकता बदल्नु पर्दछ ।

रुपन्देही निवासी लेखक पौडेल वामपन्थी विचार राख्ने राजनैतिक ब्यक्ति हुन् । उनी नेपालको सामाजिक तथा राजनैतिक विषयमा अध्ययन, विश्लेषण र टिप्पणी राख्ने गर्दछन् ।