मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शरणार्थी प्रकरणः निडरतापूर्वक अनुसन्धानमा रहेका दुई एसएसपीको सरुवा

शरणार्थी प्रकरणः निडरतापूर्वक अनुसन्धानमा रहेका दुई एसएसपीको सरुवा

अपि टाइम्स

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा खटिएका उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुखको जिम्मेवारी खोसिएको छ ।

गृह मन्त्रालयले उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख डा मनोज केसी र काठमाडौं प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाएको हो ।

केसीलाई सरुवा गरेर प्रहरी प्रधान कार्यालयको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक निर्देशनालयमा पठाइएको छ भने कार्कीलाई महानिरीक्षक वसन्त कुँवरको सचिवालयमा पठाइएको छ ।

शरणार्थी प्रकरणको अनुसन्धानमा खटिएका प्रहरी वरिष्ठ अधिकृतहरुलाई हटाउन सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको दबाब थियो । हाल जिम्मेवारीबाट हटाइएका एसएसपी केसी नेतृत्वको टोलीले कांग्रेसका प्रभावशाली नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई पक्राउ गरेको थियो ।

हालै उनले थप १८ जनाको जाहेरी लिएर दोस्रो चरणको अनुसन्धान सुरु गरेपछि देउवा सशंकित बनेका थिए । उनले काठमाडौं प्रहरी परिसर, टेकुका एसएसपी दानबहादुर कार्कीलाई भने यथावत राख्न चाहेका थिए ।

तर, सरकारले केसीको मात्र सरुवा गर्दा थप विवाद हुने भएपछि दुवै युनिटको प्रहरी प्रमुख परिवर्तन गरेको हो ।

केसीको ठाउँमा राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा रहेका एसएसपी सोमेन्द्रसिंह राठौरलाई पठाइएको छ भने काठमाडौं प्रहरी परिसर, टेकुमा एसएसपी भुपेन्द्र खत्रीलाई पठाइएको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक निर्देशनालयका एसएसपी सानुराम भट्टराईलाई राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा पठाइएको छ ।

शरणार्थी प्रकरणका दोस्रो चरणको अनुसन्धान अघि बढाउन निर्देशन दिने उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका एआईजी श्याम ज्ञवालीलाई पनि यसअघि मन्त्रिपरिषद्ले हटाएको छ । उनको ठाउँमा एआईजी दिपक थापा पठाइएका छन् ।