मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

छानबिनमा तानिएका न्यायाधीशका सम्बन्धमा चाँडै निर्णय हुन्छः प्रधानन्यायाधीश श्रेष्ठ

छानबिनमा तानिएका न्यायाधीशका सम्बन्धमा चाँडै निर्णय हुन्छः प्रधानन्यायाधीश श्रेष्ठ

अपि टाइम्स

काठमाडौँ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले छानबिनमा तानिएका न्यायाधीशहरूको हकमा छिटै निर्णय हुने बताएका छन् । मंगलबार प्रधानन्यायाधीशको पदबहालीपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानन्यायाधीश श्रेष्ठले यस्तो बताएका हुन् ।

केही न्यायाधीशहरु १७ महिनादेखि छानबिनका लागि सर्वोच्च अदालत र न्याय परिषद्मा तानिएको भन्दै उनीहरुको सम्बन्धमा कहिले निर्णय हुन्छ भनी पत्रकारले प्रश्न गरेका थिए । जवाफमा प्रधानन्यायाधीश श्रेष्ठले छानबिनमा तानिएका न्यायाधीशका सम्बन्धमा चाँडै निर्णय हुने बताए ।

श्रेष्ठले भने, ‘हो, केही न्यायाधीशहरु लामो समयदेखि छानबिनमा तानिएका छन् । उनीहरुको सम्बन्धमा बुझ्ने काम सकिएको छ । अब न्यायाधीश नियुक्ति प्रक्रियासँगै उनीहरुको सम्बन्धमा पनि निर्णय हुन्छ । छानबिनबाट दोषी देखिए कारबाही हुन्छ र निर्दोष देखिए क्लिनचिट पाउँछन् । अब उनीहरुको सम्बन्धमा पनि छिटै निर्णय हुन्छ ।’

फैसलामा कैफियत, मोलाहिजा लगायतको आरोपमा जिल्ला अदालतका पाँचजना न्यायाधीशलाई सर्वोच्च अदालत र न्याय परिषद् काजमा तानिएको थियो । तानिएका मध्ये जिल्ला न्यायाधीशहरु सूर्यप्रसाद अधिकारी र बद्री ओली उमेर हदका कारण अनिवार्य अवकाशमा गइसकेका छन् । हाल न्यायाधीशहरु राजकुमार कोइराला, अम्बिका निरौला र परशुराम भट्टराई मात्रै बहाल छन् । यद्यपि निर्णय हुँदा अवकाशमा गइसकेका न्यायाधीशको हकमा समेत निर्णय हुने बताइएको छ ।