एजेन्सी । दक्षिण अफ्रिकामा चलिरहेको भारत, ब्राजिल, रुस, चीन र दक्षिण अफ्रिकाको संस्था ब्रिक्समा बोल्दै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अन्तरिक्ष प्रस्ताव पेस गर्नुभएको छ । भारत चन्द्रमामा अवतरण गर्ने चौथो देश तथा चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गर्ने पहिलो देश बनेर इतिहास बनेकै दिन हिजो सम्मेलनमा मोदीको यो प्रस्ताव आएको हो ।
दक्षिण अफ्रिकाको सहर जोहानेसबर्गमा १५औँ ब्रिक्स शिखर सम्मेलनमा मोदीले सम्बोधन गर्नुभयो । भारतको चन्द्रयान–तीन चन्द्रमामा पुग्दा भिडियोमार्फत् उहाँले दक्षिण अफ्रिकाबाटै जोडिएर सम्बोधन गर्नुभएको थियो । चन्द्रयान मिसन भारतको सफल भएपछि अहिले विश्वभरबाट भारतलाई बधाईको ओइरो लागेको छ ।
भारतका विभिन्न सहरमा उत्सव भइरहेका छन् । चन्द्रमाको दक्षिणी ध्रुवमा भारतले आफ्नो अन्तरिक्षयानको सफल अवतरण गराएको छ । गएको जुलाई १४ तारिखमा पृथ्वीबाट उडान भरेको चन्द्रयान–तीन, चालिस दिनको यात्रा पूरा गरेर हिजो बेलुका चन्द्रमामा अवतरण गरेको हो । यसअघि अमेरिका, रुस र चीनले इक्वेटर भनिने चन्द्रमाको मध्यरेखा वरपर आफ्नो अन्तरिक्षयान अवतरण गराएका थिए ।
चन्द्रयान–तीनको एउटा मुख्य उद्देश्य चन्द्रमामा बरफको खोजी गर्नुरहेको छ । यसअघि सन् २०१९ मा भारतले चन्द्रयान–२ अभियानलाई दक्षिणी ध्रुवनजिकै अवतरण गराउने प्रयास गरेको थियो । तर यान दुर्घटनामा परेपछि अभियान विफल भएको थियो ।
प्रतिक्रिया