मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पिपरामा इन्सपेक्टरको अदलबदलः सुरुमा एक्सन, पछि बदनाम !

पिपरामा इन्सपेक्टरको अदलबदलः सुरुमा एक्सन, पछि बदनाम !

अपि टाइम्स

चन्द्रकान्त न्यौपाने

काठमाडौँ । वाणगंगा नगरपालिकाका ११ वडा र कपिलवस्तु नगरपालिकाका ३ वडाको शान्ति सुरक्षा हेर्ने प्रमुख जिम्मेवारी ईलाका प्रहरी कार्यलय पिपरालाई छ । सोही अनुसार इलाकाले काम गरिरहेको छ । यो इलाका यस्तो इलाका हो जहाँ कार्यालय प्रमुख भएर आउन मुलकभरका इन्सपेक्टरहरुको तँछाडमछाड हुन्छ ।

अहिलेसम्म यहाँ जति इन्चार्ज फेरिए ती सबै प्रहरी संगठनभित्रका माथिल्लो दर्जाका अधिकृत, सांसद, मन्त्री, नेताका सोर्सफोर्समै फेरिए । यहाँ आउन भनेपछि जो पनि मरिहत्ते गर्छन् । विगतका इतिहासले त्यहि भन्छ । किनकि यहाँ प्रहरी अधिकृतहरुले राम्रै आम्दानी गरेर विदा हुन्छन् भनिन्छ ।

लुम्बिनी प्रदेशमै आम्दानी हुने भनेर चिनिएको यहि इलाकाको इन्चार्ज भएर अहिले भर्खर प्रहरी नीरिक्षक गोपाल रायामाझी आएका छन् । उनले हाजिर लगाएको एक साता पनि भएको छैन ।

विगतको इतिहास र प्रकृयालाई स्मरण गर्ने हो भने यहाँ जो सरुवा भएर आउँछ ती सबैले सरोकारवाला निकायसंग परिचयात्मक कार्यक्रम राख्दै शान्ति सुरक्षा कायम गर्न जनउत्तरदायी भएर एक्सनमा काम गर्ने बताउँछन् । तर विदा भएर जाँदा भने बदनाम भएर जाने गरेको तितो यथार्थ जिवित छ ।

नयाँ आएका रायमाझीले पनि विहिबार पत्रकार र जनप्रतिनिधिसंग परिचयात्मक कार्यक्रम राखे । पत्रकार र जनप्रतिनिधिसंग चिया खाँदै २ घण्टा बढी विताएका उनले पनि भन्न केहि बाँकी छोडेनन् । शान्ति सुरक्षा, जनताको जिउधनको रक्षा, खोला दोहन, काठ तस्करी, लागु पदार्थ दुव्र्यसन नियन्त्रण, घरेलु हिंसा, लैंगिक हिंसा, आत्महत्या, सडक दुर्घटनाको न्युनिकरण, मुख्य सडक तथा शाखा सडकहरुमा सिसि क्यामेराको व्यवस्थापन तथा मर्मत, छाडा पशुचौपायाको सास्ती लगायतका समस्यामा दत्तचित्त भएर काम गर्ने उनले बताए । कार्यक्रममा जँगा पालेका प्रहरी नीरिक्षक रायमाझीले केहि गर्छन् कि भन्ने छनक दिए ।

साथै उनले भनेका छन् ‘प्रहरीमा लागु भएको बैज्ञानिक मापदण्डक कारण म बाणगंगामा परेको छु । यहाँ आउँन पाउदा गर्व लागेको छ ।’ यद्यपी उनले कसरी काम गर्छन् भन्ने कुरा हेर्न भने बाँकी छ ।

प्रहरी नीरिक्षकले स्वागतमा यसो भने पनि पत्याई हाल्ने अवस्था नरहेको सरोकारवाला बताउँछन् । कपिलवस्तु उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष उमानाथ पौडेलले प्रहरीको सुरुको कुरालाई आफूले नपतयाउने बताउँछन् । उनी भन्छन् सुरुमा राम्रो गर्छु भन्ने तर विदा हुँदा बदनाम भएर जाने प्रहरी अधिकृत पनि देखेका छौँ । यहाँ सधैँ यस्तो हुन्छ । रायमाझी जिले गर्छु भन्नुु भएको छ । राम्रै हो । तर काम नहेर्दै उहाँका कुरा पत्याउन सकिँदैन । यहाँ काम गर्छु भन्ने अधिकृत पनि फेल भएर गएका छन् । यहाँ काम गर्न निकै गारो छ ।

पौडेलले भनेजस्तै वाणगंगामा जोकोहीलाई काम गर्न गारो छ । यहाँको मुख्य समस्या भनेको वाणगंगा काठको तस्करी र नदीजन्य पदार्थको दोहन रोक्नु र लागु पदार्थ दुव्र्यसनी नियन्त्रण हो । यसमा जनप्रतिनिधिदेखि ठेकेदारको ठुलो संरक्षण छ । यी अवैध कार्य गर्न प्रहरीलाई दबाब र प्रभाव दुवै आउँछ । जसलाई प्रहरीको नेतृत्वको आफ्नो विवेकले थेग्नै सक्दैन । यहाँ राजनैतिक आग्रहमा काम नगर्ने प्रहरीको सरुवा भइहाल्छ । त्यसैले पनि काम गर्ने इमान्दार प्रहरी पनि बदनाम भएका छन् ।

‘आएका जति सबैले सुरुमा खुबै गर्ने छाँट देखाउँछन् । र एक्सन लिएजस्तो पनि गर्छन् । तर विस्तारै ती सबै कुरा मत्थर हुँदै गएर अन्तिमसम्म पतित नै हुने गरेका छन्’, नागरिक भन्छन् ‘नयाँ आएका रायमाझीमा पनि त्यो प्रवृत्ति नदोहोरियोस् ।’

अन्य सरोकारवालाले पनि यस्तै भन्ने गर्दछन् । किनकि पिपरामा यसअघि जति प्रहरी अधिकृत आएका छन् । ती सबै जाँदा बदनाम भएर गएका छन् । पछिल्लो समय अदलबदल भएका इन्सपेक्टरहरु सबै जवान र राम्रा थिए तर ती सबै बदनाम भएर गएका छन् ।

गत फागुनमा पिपरा आएका कोशिशबाबु जोशी कार्यकाल पुरा नहुँदै आधा बर्षमै भर्खर विदा भएर गए । उनलाई खोलाको दोहनमा पैसा खाएको आरोप लाग्यो । उनीभन्दा अघि दीपकबाबु केसी आए । उनी पनि आरोपबाट उम्कन सकेनन् । तथापि अरु अधिकृतभन्दा ठिकै रहेको उदाहरण उनले दिए । केसीअघि दिनेश गुरुङ आए । गुरुङले पनि सुरुमा खुबै हाइहाइ कमाए । चाडबाडमा जुवाडेलाई समातेर चर्चामा आएका उनी अन्तिमसम्म भने त्यो लयमा रहन सकेनन् । पिपरामा आएर सबैभन्दा बढीसमय विताएका उनले जाने बेलामा पैसा असुलेर विदा भएको आरोप आयो । उनीमाथि अरु आरोप पनि लगाइएको छ ।

गुरुङ अघि आएका आएका आयुष जोशीले त काम नगरी विदा भएको बताइन्छ । उनी शान्ति सुरक्षामा केन्द्रित हुन भन्दा खान र रमाउनमा ब्यस्त रहने गरेको जानकार बताउँछन् । यी त पछिल्ला उदाहरण मात्रै भए त्यसअघिका प्रहरी नीरिक्षकहरुले पनि पिपरामा राम्रोसंग काम गर्न नसकेको विगत छ । त्यसैले त्यहाँका बासीले गर्छु भन्ने प्रहरी नेतृत्वलाई पनि त्यति विश्वास गर्दैनन् ।

प्रहरी संगठनप्रति घट्दै गएको अविश्वासको खाडल सकेसम्म घटाउने बताउँदै इन्स्पेक्टर रायमाझीले पनि आफूलाई पर्खन आग्रह गर्दछन् ।