मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

६० किलो सुन काण्डः डीएसपी भण्डारी नेतृत्वको टोली किन पुग्यो दिल्ली ?

६० किलो सुन काण्डः डीएसपी भण्डारी नेतृत्वको टोली किन पुग्यो दिल्ली ?

अपि टाइम्स

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरिएको ६० किलो ७ सय १६ ग्राम सुनको अनुसन्धान गर्न सीआईबीले डीएसपी नेतृत्वको टिमलाई विहिबार भारत पठाएको सीआईबी श्रोतले बतायो ।

अन्तर्राष्ट्रिय प्रहरी संगठन (ईन्टरपोल)को समन्वयमा सूचना संकलनका लागि भण्डारी नेतृत्वको टिम भारत गएको हो । सुन अनुसन्धान टिममा दिल्लीस्थित नेपाली दूतावासका कन्सुलर प्रहरी वरिष्ठ उपरीक्षक उमाप्रसाद चतुर्वेदी पनि सहभागी छन् । डिएसपी भण्डारी मुलुककै सक्षम र सफल प्रहरी अधिकृतमा पर्छन् । उनले अपराध अनुसन्धान र नियन्त्रणमा उनले गरेको काम अब्बल मानिन्छ ।

काठमाडौँबाट गएको टिमले एसएसपी चतुर्वेदीसँग समन्वय गरेर काम गर्ने अनुसन्धानमा संलग्न एक जना अधिकृतले जानकारी दिए ।

हङकङबाट काठमाडौँ ल्याएर तस्करले भारतमा सुन पठाउने गरेको अनुसन्धानबाट देखिएपछि भारतमा सुन ‘रिसिभ’ गर्ने समूहको अनुसन्धानका लागि भण्डारी भारत गएका हुन् ।

चतुर्वेदीले सुन तस्करीमा संलग्न आरोपित किशोर बस्नेतलाई पक्राउ गरेर काठमाडौँ पठाएका थिए । बुधवार बस्नेतलाई काठमाडौँ ल्याइएको हो ।

सीआईबीले सूचना संकलनका लागि प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यलाई हङकङ पठाएको छ । साउन १२ मा राति उनी हङकङ प्रस्थान गरेका हुन् । अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)को समन्वयमा एसएसपी दिनेश आचार्य हङकङ गएका हुन् ।

अनुसन्धानका लागि इन्टरपोलको सहयोग माग्दै सीआईबीले प्रहरी प्रधान कार्यालय मार्फत यसअघि नै पत्राचार गरेको थियो । नेपालमा पछिल्लो समय हङकङ र दुबईबाट सुन तस्करी हुने गरेको अनुसन्धानबाट थाहा भएको छ । सुन प्रकरणमा चिनियाँ नागरिकको मुख्य भूमिका देखिएको छ ।

बरामद सुन ‘रेडी ट्रेड प्रालि’ले मोटरसाइकल र स्कुटरको ‘ब्रेक प्याड’मा लुकाएर काठमाडौँमा ल्याएको थियो । नेपालमा ल्याएपछि सुनलाई गालेर गिरोहले भारत पठाउने गरेको केन्द्रीय अनुसन्धान ब्यूरोले गरेको अनुसन्धानबाट थाहा भएको छ ।