मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भुसाल साडीका रामु भुसाल, यसरी भए जिरोबाट ‘हिरो’

भुसाल साडीका रामु भुसाल, यसरी भए जिरोबाट ‘हिरो’

अपि टाइम्स

चन्द्रकान्त न्यौपाने
काठमाडौँ । पसलमा आउने जो कोहिलाई ‘मुसुक्क’ हाँसेर न्यानो स्वागत गर्ने उनको मुख्य विशेषता हो । त्यसपछि मिठो बोल्छन् । भलाकुसारी गरिहाल्छन् । सुखदुख, सञ्चोविसन्चो पनि सोधिहाल्छन् । व्यवसायमा मात्र होइन अन्य स्थितिमा पनि उनको स्वभाव यस्तै हो । आफूमा भएको यहि विशेषताका कारण उनी आज सफल ब्यापारीको परिचय बनाउन सफल बनेका छन् । उनी अर्थात् ‘रामु भुसाल’ ।

कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर ४ जितपुरमा भुसाल साडी हाउस संचालन गरिरहेका गहुँ गोरो वर्णका भुसाल वडा नम्बर १ उत्तमनगरका स्थायी बासिन्दा हुन् । उनै भुसालले खोलेको भुसाल साडी अहिले पश्चिम नेपालमै ब्राण्ड बनेको छ । पसलले अहिले कपिलवस्तुसहित बुटवल, अर्घाखाँची, दाङ, गुल्मीसम्मका प्रशस्त ग्राहक बनाएको छ भने साडी, कुर्ता सलवार र सटिङक सुटिङ, विवाहका कपडा खरिद गर्न भारतका सुनौली, खुनुवा धाउनुपर्ने ग्राहकको बाध्यता भुसाल साडीले एक प्रकारले टारेको छ नै भन्दा हुन्छ ।

भुसालले कहिल्यै सपना देखेका थिएनन् कि साडीको ब्यापारमा दुख पोख्दा यति माथि उठ्न सक्छु भनेर । साडीमा गरेको दुखले उनले नपत्याएको सफलता हासिल गरेका छन् भन्दा अत्युक्ति हुँदैन । सुरुमा साडी पसलमा जागिरे, त्यसपछि आफ्नै पसल । अहिले त्यहि पसलबाट भुसालको आफ्नै घर, घडेरी र बैङ्क ब्यालेन्स छ । भुसाल वाणगंगामा सफल ब्यापारीका रुपमा चिनिन्छन् ।

साडीमा गरेको दुखले दिएको सफलताका कुरा गर्ने क्रममा उनले आफ्नो जागिरे जीवनलाई सम्झिए । करिब १० बर्ष बुटवलको रजनी इम्पोरियममा काम गरेको उनले सुनाए । उनी भन्छन् ‘सुरुमा रजनी इम्पोरियममा काम गर्न सुरु गरेँ । सुरुको ३ महिना भोलेन्टियर नै काम गरेँ । साडी पसलको ब्यापारबारे मलाई केहि पनि थाहा थिएन । काम गर्न पनि त्यहाँ छनौटको प्रकृया थियो । २२ जनाबाट म पनि ३ जनामा छनौट भएँ । अनि सुरु भयो जागिरे जीवन ।’

उनले थपे, ‘मेरो अहिलेको सफलतामा मेरो फुपाजुको योगदान छ । रजनीमा पाइला टेकाउन उहाँको भूमिका छ । त्यसपछि मैले इमान्दारपूर्वक काम गरिरहेँ । ३ महिना ट्रयाल पनि पास भएँ । आफ्नो इमान्दारिता र मुसुक्क हाँस्ने गुँणले गर्दा रजनी इम्पोरियममा पनि धेरै ग्राहकको विशवास जितेँ । त्यहि विश्वासको कारण मलाई इम्पोरियमले भारतको बनारस, दिल्ली, कोलकत्ता अहमदाबाद लगायतमा १५ । २० दिनसम्मको लामो भ्रमणको मौका पनि दियो । भ्रमण गर्दा बिभिन्न साडी आइटमहरुको लागि पर्चेजको मौका पनि पाएँ । कम्पनीहरु चिनेँ । अंकलसंग हिँड्ने गर्दा धेरै कुराहरु सिकेँ । सेल्स सिकेँ । डिलिङ सिकेँ । मिहिनतेको साथ काम गरेँ ।’

यो सिकाउनमा रजनीका महेश्वर श्रेष्ठ र पुरन श्रेष्ठको ठुलो हात रहेको पनि उनी बताउँछन् । उहाँहरु आफ्नो असल अभिभावक रहेको उनले बताए ।

सुरुमा तलब धेरै नभए पनि सिक्नको लागि आफूले मिहिनेत गरेको भुसाल बताउँछन् । ‘जागिर होओस् या अरु केहि सफलताको लागि के पाएँ भन्दा के दिएँ भनेर काम गर्दा नतिजा आउँछ भने कुरा मैले नै भोगेको कुरा हो । सुरुमा मेरो पनि तलब धेरै थिएन । कम्पनीको लागि आफूले दिनुपर्ने दिइरहँ । जागिरको पैसाल नपुग्ने भएपछि एउटा पसल खोल्नुपर्छ भन्ने लागिरहेको थियो । कहाँ खोलौँ पनि लागिरहेको थियो । बभिन्न ठाउँहरु पनि हेरेँ । अनि रोजेँ आफ्नै ठाउँ र ठुलै चुनौतिकाबिच २०६७ सालमा चार नम्बरमा खोलेँ । भुसाल साडी हाउस, उनले अपि टाइम्सलाई सुनाए ।

पसलकोे सुरुवात पछाडी उनले रोचक कुरा सुनाए । उनले भने ‘रजनीमा कपिलवस्तु र विशेष गरी वाणगंगा क्षेत्रका ग्राहक धेरै आउने गर्नुहुन्थ्यो । धेरै संख्यामा बुटवल धाउने गरेको, बुटवल धाउँदा उहाँहरुको समय र पैसा खेर गइरहेकोको कु्राले मन बिझाइरहेको थियो । त्यसपछि पसलको सोँच आउँदै थियो । यो सोँच आउनासाथ धेरै समय जागिरे भइनँ । त्यसपछि चार नम्बरमा भुसाल साडी खोलेँ । यति कस्टमर भए त सुविधा दिएर राम्रो गर्छु भन्ने उतिखेरै लागेको थियो,अहिले सोँचेजस्तै भयो । धेरैले माया गरिरहनुभएको छ।’

आफ्नो सफलताको सबै श्रेय परिवारभन्दा पनि ग्राहक र साहुको विश्वास रहेको सुनाउँछन् । ‘मैले जे जति गरेको छु । धेरै नै गरेँ भन्ने लाग्दैन । तर ग्राहकको विश्वास जितेको छु । लुम्बिनी प्रदेशका बिभिन्न जिल्लाबाट भुसाल साडी खोज्दै ग्राहक आउनुहुन्छ । यहाँको सामान मन पर्छ गुणस्तरीय छन् भन्न्ुहुन्छ । ग्राहकको खुसी नै मेरो खुसी हो । यो खुसी र सफलतामा श्रीमती निरा भुसालको पनि ठुलो हात छ, उनी भन्छन् ।’

आफू कहाँ सबै भेराइटी र प्रकारका साडी, कुर्तासलवार, सटिङ सुटिङ, लेडिज कपडा, मर्दापर्दा चाहिने कपडा, ग्यारेन्टी गहना, बालबच्चाका गुणस्तरीय सामानहरु सुपथ मुल्यमा पाइने भुसालले बताए । साडी र ग्यारेन्टेड गहनाका दुई छुट्टाछुट्टै पसल रहेको उनले जानकारी दिए ।

पसलमा अहिले ५ जनाभन्दा बढीलाई प्रत्यक्ष रुपमा रोजगारी दिएको भुसालले बताए । ग्यारेन्टेड गहना पसल दाइले संचालन गरिरहेको सुनाउँदै आफ्नो सफलताको श्रेयमा उहाँको पनि हात रहेको उनले सुनाए । मुख्यगरी चाडबाडमा धेरै ग्राहकको भीँड लाग्ने उनले बताए । अहिले तीज, दशैँ लगायतका पर्व नजिकिँदै गरेकाले विशेष छुटमा साडीहरु उपलब्ध रहेको बताउँदै भुसालले मौकाको फाइदा लिन अनुरोध गरे ।

भुसाल साडी सुरु गर्दा आफूसंग पैसा नरेहेको उनी बताउँछन् । जागिरमा तलब धेरै थिएन । घर बाउआमाबाट पनि मैले एक सुको लिएको होइन । सुरुको आर्थिक अवस्था पनि त्यति राम्रो थिएन । तै पनि आँट गरेँ । त्यहि आँट अहिलेको सफलताको कडी बनेको छ ।

यो सफलताको कुरा गर्दा रामु विगत सम्झिएर भक्कानिए । उनले भने ‘हाम्रो इतिहास नाजुक थियो । बुबा आमाले निकै दुख गर्नुभयो । मेरो जन्म पनि भारतको सिलङ, आसाममा भएको हो । कुरो कुरा म चार बर्ष रहँदाको हो । त्यहाँ एउटा द्धन्द्ध भयो । आमाबुबाले भात पकाउँदै हुनुहुन्थ्यो । एक्कासी द्धन्द्ध भएपछि कसौँडीको भात पनि छोडेर बुबा भाग्नुभएको थियो । कसौँडीको भात पनि पस्केर खान पाएनौँ । त्यसपछि नेपाल आएर बाबाले मजदुरी गरेर हामीलाई पाल्नुभयो । त्यो सम्झँदा अचम्म लाग्छ । अहिले बुबाआमा मैले गरेको प्रगति देखेर खुसी हुनुहुन्छ । यस्तो पनि हुने रहेछ भनेर बुबाले कहिलेकाहिँ अनुभव सुनाउनुहुन्छ ।

कोरोनाको समयमा समस्या भए पनि अहिले विस्तारै ठिक हुँदै गएको उनले बताए । उनको बुझाई छ चार नम्बरमा ब्यापारमा समस्या छ । यहाँको बजार ठुलो देखिए पनि धेरै ब्यापारी समस्यामा छन् । यसको कारण खोज्न जरुरी छ । नगरपालिका, उद्योग वाणिज्य संघहरुले यो विषयलाई गम्भिर रुपमा लिनुपर्दछ ।

भुसालका परिवारमा आमा धनमाया भुसाल, बुबा लोकनाथ भुसाल, छोरीहरु नितु, निर्जु र छोरा नितेश भुसाल छन् । यहि ब्यापारबाट भुसालले छोराछोरीलाई राम्रो शिक्षादिक्षा दिन सकेका छन् । अब साडीमै जिन्दगी विताउने सोच रहेको उनले सुनाए । राम्रोसंग गर्न सके कपडाको पसलमा राम्रो भविष्य रहेको भन्दै केहि सिक्न आउन खोज्नेलाई सहयोग गर्ने पनि उनले बताए ।