मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हरितालिका तीज के हो ? कसरी ब्रत बस्ने ?

हरितालिका तीज के हो ? कसरी ब्रत बस्ने ?

अपि टाइम्स

हरितालिकाको लोकप्रसिद्ध नाम ‘तीज’ हो । यो विशेषगरी नारीहरूले मनाउने पर्व हो । धार्मिक रूपमा तीज अन्तर्गत उमामहेश्वरको पूजा गरी निराहार व्रत बस्ने र भोलिपल्ट व्रतको उद्यापन गरेर भोजन गर्नेसम्मका कृत्यहरू पर्दछन् । तीजमा निराहार व्रत बसी पार्वतीसहित भगवान् शिवको पूजा–आराधना गर्ने नियम छ । यसका साथै तीजमा दरका रूपमा विशेष खानपान, नाचगान र मनोरञ्जन समेत गरिन्छ । यो पर्व नेपाल, भारतलगायत हिन्दुहरूको बसोबास भएका अन्य मुलुकमा समेत मनाइन्छ । तीजमा मीठामीठा परिकार आफैंले पकाएर आफन्तहरूलाई बोलाएर आफ्नै मिहिनेतको फल खाने र खुवाउने चलन छ । यस्तै नयाँ कपडा तथा गरगहना जोरजाम गर्ने पर्वका रूपमा पनि तीज अगाडि रहेको छ ।
भाद्रे मासि सिते पक्ष तृतीया हस्त सोमयुक् ।
तदनुष्ठान मात्रेण सर्वपापे प्रमुच्यते ।

हिमालय पुत्री पार्वतीद्वारा शिवलाई पति रुपमा प्राप्त गर्न सखीहरुको साथमा जंगलमा गई बालुवाको शिवलिंग पूजा गरी नदितटको गुफामा गरिएको ब्रत हो हरितालिका तीज । “आलिभिर्हरितायस्मात् तस्मात् सा हरितालिका” पार्वतीका सखीहरुद्वारा हरणगरी जंगलमा लगिएको हुनाले तीजलाई हरितालिका तीज भनिन्छ ।


कसरी गर्ने पूजा ?


संस्थाप्य वालुका पिण्डम् पार्वत्या सहितं मम ।
या तृतीया भाद्रपदे हस्त नक्षत्र संयुता ।।

प्रातःकाल नदी तलाउमा गई स्नान गर्ने, शुद्ध वस्त्र धारण गर्ने अनि शंकल्पपूर्वक शिवलिंग निर्माण गरी पूजासामग्रीहरुद्वारा शिव पार्वतीको पूजा गर्ने । अनि वरदान माग्ने गर्नु पर्दछ । यस्ता प्रकारले पार्वतीद्वारा पूजीएका शिव प्रसन्न भई बरदान दिन आउँदा पार्वतीले शिवजी संग बरदान माग्नुभएको थियो । ‘यदि देव प्रसन्नोऽसि भर्ता भवतु मे हर’ भनि बरदान माग्नु भएको थियो । त्यहि ब्रतका प्रभावले प्रसन्न भएका शिवजीले तथास्तु भनि बरदान दिएको हुनाले पार्वतीले शिवजीलाई पति का रुपमा प्राप्त गरेकी थिइन । त्यसै कारण कालान्तरमा हरेक स्त्रीहरुले आफ्नो पतिको दीर्धायु एवं योग्य पति प्राप्तीको लागि यो ब्रत गर्ने गर्दछन् । ब्रतको अगिल्लो दिन दर खाइन्छ र भोलीपल्ट शिवजीको पूजा गरी दिनमा शिव भजन गान सहित नृत्य एवं उत्सव मनाइन्छ ।


ब्रत कसरी गर्ने ? किन गर्ने ?
ब्रत तीन प्रकारका हुन्छन् – निराहार, जलाहार र फलाहार आफ्नो योग्यता एवं क्षमता अनुसार उपयुक्त तरिकाको ब्रत गर्नुपर्दछ । शास्त्रमा यही र यस्तै तरिकाले ब्रत गर्नु भनेर अनिवार्य गरिएको छैन । आफ्नो शरीरको प्रकृति अनुसार विवेक प्रयोग गरी ब्रत धारण गर्नु पर्दछ । यस्त प्रकारका ब्रत चित्त शुद्धिको लागि गर्ने गरिन्छ । जीवको कल्याण भवगत्कृपा बिना नहुने भएको हुनाले पनि विभिन्न लोभ र लालच देखाएर पनि ब्रत एवं पूजा गर्ने नियम पूराणमा उल्लेख गरेको पाइन्छ । शिव नै सम्पूर्ण जगत् एवं सृष्टिको श्रोत हो । हाम्रो चेतनामा शिव तत्वलाई जगाउनको लागि र जीवनबाट नकारात्मक प्रभावलाई कम गरी जीवनमा सकारात्मक प्रभाव बढाउनका लागि नै हाम्रा पूराण शास्त्रहरुले शिव उपासनामा जोड दिएको पाइन्छ । तसर्थ यस्ता पर्वलाई मनोरंजनको माध्यम मात्र नबनाई शिव उपासनाको पर्वको रुपमा मनाउनु पर्दछ । यहि नै तीजको पनि लक्ष्य हो ।

आचार्य पं. टिकाराम पौडेल