मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रधानमन्त्रीको चीन भ्रमण : राष्ट्रपति सीलाई हाङजाओ र प्रधानमन्त्री लीलाई बेइजिङमा भेट्ने 

प्रधानमन्त्रीको चीन भ्रमण : राष्ट्रपति सीलाई हाङजाओ र प्रधानमन्त्री लीलाई बेइजिङमा भेट्ने 

अपि टाइम्स

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो चीन भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीलाई अलग अलग राज्य र मितिमा भेट्ने कार्यक्रम तय भएको छ। प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभालाई आफ्नो विदेश भ्रमणबारे जानकारी गराउँदै राष्ट्रपति र प्रधानमन्त्रीसँगको भेटबारे जानकारी गराएका हुन्। 

प्रधानमन्त्रीले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई हाङजाओमा भेट गर्ने कार्यक्रम तय भएको उनले बताए। त्यस्तै  प्रधानमन्त्री ली छाङसँग भने बेजिङमा भेट हुने प्रधानमन्त्री प्रचण्डले सदनलाई जानकारी दिए। 

प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसंघको ७८औँ महासभालाई सम्बोधन गरेर ५ असोजमा न्युयोर्कबाटै चीन जाने कार्यक्रम तय भएको उनले सदनमा बताए। आफ्नो भ्रमणबारे संसदलाई जानकारी दिँदै उनले संयुक्त राष्ट्रसंघमा गर्ने सम्बोधन र चीन भ्रमणको तालिकाबीच अत्यन्त छोटो समय रहेका कारण आफू न्युयोर्कबाट छिमेकी राष्ट्र चीनको भ्रमणमा जानुपर्ने परिस्थिति बनेको बताए। 

उनका अनुसार चिनियाँ राष्ट्रपति सीसँग हाङजाओमै भेटवार्ता हुनेछ। लगत्तै उनी १९औँ एसियन्स गेम्सको उद्घाटन समारोहमा पनि सहभागी हुनेछन्।

२५ सेप्टेम्बरमा आफ्ना चिनियाँ समकक्षी लीसँग बेइजिङमा भेटवार्ता गर्ने तय भएको उनले जानकारी गराए। त्यस्तै चोङकिङ महानगरका साथै तिब्बत  भ्रमण  समेत गर्ने उनले जानकारी दिए। भेटमा नेपालको पूर्वाधार विकास, कृषि, ऊर्जा, पर्यटन, स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रमा छिमेकीको सहयोगबारे छलफल हुने उनको भनाइ छ। त्यस्तै कोभिड महामारीपछि बन्द रहेका सीमा खोल्ने र अन्य सीमाहरूको विषयमा पनि कुराकानी हुने जानकारी उनले दिए।

उनले नेपाल र चीनका बीचमा घनिष्ट सम्बन्ध रहेकाले नेपालको विकासमा चीनले सहयोग गर्नेमा विश्वास व्यक्त गरे। आफ्नो भ्रमणबाट दुई देशको सम्बद्ध थप सुदृढ हुनुका साथै आपसी सहयोगका क्षेत्रहरु थप विस्तारित हुँदै जाने उनको भनाइ थियो।