मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पितृदोष र निवारण

पितृदोष र निवारण

अपि टाइम्स

हामीमा केही गरी उदासिनता, व्यापारमा घाटा, श्रमअनुसार काममा असफलता, वैवाहिक जीवनमा समस्या आदि भयो भने हामी अहिलेसम्म पनि या त भाग्यलाई दोष दिने गर्छौं । या त पितृदोष हो कि भनेर त्यसतर्फ ध्यान दिने गरेको पाइन्छ । जब व्यक्ति र उसको परिवारले अवरोधहरूको सामना गर्छ त्यसपछि त्यसअघि आफुले गरेका नराम्रा काम र पितृहरूमाथि कुनै समयमा भएको हुन सक्ने अपमानलाई सम्झिन्छौं । शास्त्रीय मान्यता अनुसार पितृदोषका कारण पनि यस्तै समस्या सिर्जना हुने गर्छ ।

पितृ भनेको के हो ?
पितृ शब्दको उत्पत्ति ‘पा रक्षणे’ धातुबाट बनेको शब्द हो । जसले आफूलाई हरेक मोडमा समर्थन र संरक्षण गर्ने व्यक्ति भन्ने अर्थ राख्दछ । पूर्वीय सभ्यतामा मृत्यु पश्चात् पनि हामीले पितृको आशीर्वाद पाउन सकिन्छ भन्ने मान्यताको व्याख्या गरेको पाइन्छ । पितृहरूको आशिर्वादका लागि नै मृत्यु संस्कारका विभिन्न कर्म र हरेक वर्ष श्राद्ध गर्ने गरिन्छ । पिता शब्दको बहुवचनमा ‘पितरः’ हुन्छ । यो शब्दले सबै पूर्वजहरूलाई समेटेको हुन्छ । त्यसकारण, यो भन्नु राम्रो हुन्छ कि हाम्रा सबै पुर्खाहरू, हाम्रा कुल र परिवारका सबै मृत व्यक्तिका पिताहरू एउटै श्रेणीमा पर्छन् ।
ऋग्वेदमा पूर्वजहरूलाई पितरः शब्दको प्रयोग गरिएको छ –
उदीरतामवर उत्परास उनमध्यमाः पितरः सोम्यासः ।
असुं य इयुरवृका ऋतज्ञास्ते नो ऽवन्तु पितरो हवेषु । – ऋग्वेद १०÷१६÷१

विभिन्न दृष्टिकोणबाट हेर्दा पितृ शब्दको वर्गीकरण पनि असंख्य पाइन्छ । ऋग्वेदमा, पितृहरूलाई पनि कम, मध्यम र उच्च कोटि गरी तीन श्रेणी विभाजन गरिएको छ । त्यस्तै, मनुस्मृतिका अनुसार पनि पितृहरूको उच्च स्थान रहेको बताइएको छ । जस्तै–
मनोर्हैरण्यगर्भस्य ये मरीच्यादयः सुताः।
तेषामृषीणां सर्वेषां पुत्राः पितृगणाः स्मृताः ।। मनुस्मृति ३÷१९४

हिरण्यगर्भका पुत्र मनुले सबै ऋषिहरूका पुत्रलाई नै पितृ भनेर उल्लेख गरेका छन् ।
पितृहरूको स्थानको बारेमा शास्त्रहरूमा मनुष्यलोक माथि पितृलोक छ, पितृलोकभन्दा माथि, सूर्य लोक छ र सूर्य लोकभन्दा माथि स्वर्ग लोक छ भनेर व्याख्या गरेका छन् ।


पितृदोष के हो ? कसरी बन्छ ?
पितृदोष भनेको पितृहरू रिसाएर हाम्रो जीवनमा पार्ने नकारात्मक प्रभावलाई बुझाउँछ । पितृहरू रिसाउनुको पछाडी थुप्रै कारणहरू हुन सक्छन् । जस्तै – नराम्रो आचरण, निर्वस्त्र भएर स्नान गर्नु, श्राद्धमा अशुद्ध सामग्री चढाउनु, श्राद्ध नगर्नु, पितृलाई स्मरण नगर्नु, परिवारले गरेको गल्ती, उनीहरूमाथिको बेवास्ता, अन्त्येष्टि कार्यमा कुनै त्रुटी आदि कारणहरू हुन सक्छन् ।
पितृदोष खासरी दुइ तरिकाबाट लाग्ने गर्दछ पहिलो हामिले हाम्रो पूर्बजसंग (आमा, बुबा, गुरू अग्रज बन्धुहरू) शरीर छँदै कस्तो व्यावहार गरेका थियौं ती सबैको परिणाम स्वरूप हामिले गरेका दुव्र्यावहारले पितृआत्माहरू हाम्रो जीवनमा पितृदोष बनेर हामिलाइ अदृस्य रूपले संकटको घेरामा हाल्ने गर्दछन् । जसले गर्दा जीवनमा असफलता, असन्तुष्टि, डर, चिन्ता, दुर्घटना, अमंगल, काममा अवरोध, निद्रा नलाग्ने, रात्रिमा पटक–पटक निद्रा टुट्ने, रातीमा भोक प्यास अधिक लाग्ने, सानो–सानो कुरामा घरमा क्लेष बढ्नु, खानामा पटक–पटक केश फेला पर्नु पितृदोषका लक्षणहरू हुन् । आकस्मिक परिघटनाहरू आउने, गर्भ नबस्ने, आदि हुने गर्दछन् यस्तो अवस्थामा मनुष्य विक्षिप्त बनेर मृत्युवरण गर्न पनि सक्छन् ।


दोस्रो हाम्रा पूर्वजहरू कहिँ कतै दैवी विपतले दुर्घटनामा परेर शरीर छोडे र ती आत्माले आफ्नो परम्पराअनुसार संस्कार नपायको भए त्यस्ता आत्मा पृथ्बीमा आफ्नो कल्याणको लागि आफ्नै परिवारको वरिपरि दुःखको संकेत दिएर घुम्ने गर्दछन् । यस्ता संकेत देखापरेपछि हामि आत्तिन्छौं भड्किन्छौं । ज्योतिषकहाँ पुग्छौं तान्त्रिक कहाँ पुग्छौ धेरै दुःख पाउँछौं र त्यसको समाधान र समाधानको को लागि लाग्ने खर्च सुन्दा हाम्रो होस उड्छ औकात भन्दा बाहिर हुन्छ ।
जब मानिसको आत्माले आफ्नो शरीर छोड्छ, ऊ सबैभन्दा पहिले पितृलोकमा पुग्छ । पितृको आत्मामा सद्गुण छ भने त्यसपछि उनीहरू थप माथिल्लो लोकमा प्रवेश गर्छन् भन्ने मान्यता पनि पाइन्छ । त्यसको लागि उनका सन्तानहरूले मर्त्यलोकमा गरेको सत् र असत् कर्मको पनि मूल्यांकन हुने बताइन्छ ।


पितृदोष निवारणका सरल उपायहरू
पितृदोष निवारणको पहिलो सर्त हो – आमा, बुबा, गुरू, अग्रज बन्धुहरूको जीवित अवस्थामैं भरपूर सम्मान, सहयोग, सेवा, सत्कार र मृत्युपश्चात् नियमोचित आ–आफ्नो संस्कार अनुसार कर्म गरिदिने, मृत तिथिमा श्रद्धापूर्वक पितृहरूको स्मरण गर्ने, श्राद्ध, तर्पण, दान गर्ने, असाहाय र अभाव भएकालाई भोजन आदि गराउने । पितृदोष निवारणका लागि निम्नलिखित केही विशेष उपायहरु अनुसरण र पालन गर्न सकिन्छ जस्तै :-

पितृदोष निवारण उपाय – एक (गीता पाठ)
एक बर्षमा १२ महिना हुन्छ १ महिनामा २ पक्ष हुन्छ त्यस मध्ये एक पक्ष भनेको पितृपक्ष हो । भाद्र शुक्ल पुर्णिमा देखि आश्विन अमवस्या (औंसी) सम्म १६ दिनलाई पितृउत्सव, सोह्रश्राद्ध, महालय आदि भनेर चिनिन्छ । हिन्दू संस्कार मान्ने मानिसहरूले आफ्नो पूर्बजको सम्झनामा श्राद्ध गर्ने, तर्पण गर्ने , दान गर्ने, पाठ, जप आदि कर्म गर्ने हँुदा यस पक्षलाइ सोह्रश्राद्ध भनिएको पाइन्छ । यही समयमा हामिले हाम्रा पूर्बजहरूको आत्मा रूपलाइ प्रसन्न गराउनका लागि घिउ, तील अथवा शुद्ध सनफ्लावरको तेलमा कपास या धागोको ३ सरे बत्ति भिजाएर बाल्ने र त्यहि बत्ति को अगाडी बसेर १८ अध्याय श्रीमद् भगवत् गीता आफुले बुझ्ने भाषामा १६ दिनसम्म प्रत्येक दिन एक आवृति पाठगर्ने र २१ माला गायत्री मन्त्र को जप गर्ने अनि १६औं दिन औंसीको दिन आफुलाई पाएक पर्ने तिर्थमा गएर स्नानगरी श्राद्ध गरी, पितृ विसर्जन गर्ने र ब्राह्मण, अनाथ, असाहायलाई भोजन गराउने हो भने पितृ दोषबाट मुक्ति मिल्छ भन्ने प्रमाण साधना गर्ने साधकहरूबाट प्राप्त भएको पाइन्छ ।


पितृदोष निवारण उपाय – दुई (भागवत सप्ताह यज्ञ)
पितृदोष निवारणका लागि सबैभन्दा अधिक प्रचलनमा आएको विधि हो श्रीमद्भागवत् महापुराण पारायण एवं सप्ताह यज्ञ । यो विधि अधिक खर्चिलो पनि हुने गर्दछ । घरमा यज्ञ मण्डप तयार गरी । सप्ताह मण्डपको विधिले पूजन आदि गरेर पितृ उद्धारको शंकल्प सहित भागवतको पारायण गराउने र अन्तिम दिन हवन, दान, भोजन भण्डारा गराउँदा पितृदोषबाट निवृत्ति मिल्ने कुरा शास्त्रहरूमा उल्लेख गरेको पाइन्छ ।


पितृदोष निवारण उपाय – तीन (रूद्रचण्डी यज्ञ)
७ अथवा ९ जना ब्राह्मणहरूद्वारा ७ दिनसम्म दैनिक रूपमा साँझ विहान २ पटक रूद्राभिषेक, चण्डीपाठ, पितृगायत्री मन्त्र २७ माला जप, गायत्रीमन्त्र ३० माला जप र श्रीमद्भागवत् महापुराणको स–स्वर पारायण गर्ने र अन्तिम दिनमा तीर्थमा गई तीर्थश्राद्ध गरेर पूर्णाहूति तर्पण मार्जन गर्नाले पनि पितृदोष निवारण हुन सक्दछ । अनुष्ठानको समयमा कर्ता र ब्राह्मण दुबै पक्षले दिनमा एक समयमा मात्र फलाहार ग्रहण ग्राह्य रहेको कुरा शास्त्रहरूले निर्देश गरेको पाइन्छ ।


पितृदोष निवारण उपाय – चार (केही अन्य उपायहरू)
पितृदोष खासगरी हाम्रो जीवनशैलीको अस्तव्यस्तता र अनियन्त्रणले गर्दा हुन्छ । यो एकप्रकारको मनोविज्ञान पनि हो । दैनिक जीवनमा गर्नुपर्ने नियमहरूको यथोचित पालना गर्नसके माथि उल्लेखित दोष निवारण हुन सक्छ जसका केहि उदाहरण यस प्रकार छन् – दैनिक सन्ध्याबन्धन, बलिवैश्व यज्ञ, गायत्री जप, ध्यान, योग, नारायणी श्राद्ध, गीताको ७औं अध्यायको वाचन, विष्णुशहस्त्रनाम पाठ, पितृगायत्री पाठ, पितृकवच पाठ, गजेन्द्रमोक्ष पाठ, सात्विक खानपान, सोमबार विशेष शिवजीको ध्यान आराधना, एकादशी उपवास, चण्डीपाठ, गोग्रास, श्वानग्रास, पंछीहरूलाई चारो चढाउने, कुनै तलाउ, नदी, सरोबर आदिमा स्नान गरिसकेपछि अन्जुलीले पितृलाई सम्झेर जल प्रदान गर्ने, पिपल, बर र बेलपत्रको रुखको जरामा दूध मिश्रित जल चढाउने, वर्षमा कम्तिमा एकपटक घरमा यज्ञ हवन गर्ने, ब्राह्मण भोजन गराउने, पितृको फोटोमा सकेसम्म दैनिक सेतो अथवा पँहेलो फूल चढाउनाले पितेदोषको निवारण हुन सक्दछ ।


विशेष – माथी उल्लेखित सम्पूर्ण अनुष्ठान र विधिहरू योग्य आध्यात्मिक चिकित्सक अथवा गुरूको सल्लाहले मात्र गर्नुपर्दछ ।