मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हिलवर्टमा सुरु रोबोटिक्स तालिमको सबैबाट प्रसंसा, पायो ‘आइएसओ’ लोगो पनि

हिलवर्टमा सुरु रोबोटिक्स तालिमको सबैबाट प्रसंसा, पायो ‘आइएसओ’ लोगो पनि

अपि टाइम्स

वाणगंगा । कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर २ स्थित हिलवर्ट इङ्लिस बोर्डिङ स्कुलले पहिलोपटक सुरु गरेको रोबोटिक्स तालिमको सरोकारवालाले प्रसंसा गरेका छन् । विद्यार्थीमा रहेको सृजनशीलता, उद्यमी सोच र अन्वेषणात्मक क्षमता विकास गर्न आयोजना गरिएको तालिमको उद्घाटन सत्रमा बोल्ने वक्ताहरुले तालिम जिल्लामा नौलो रहेको भन्दै प्रसंसा गरेका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि सांसद बलराम अधिकारीले विश्व बजारमा प्रतिस्पर्धा गर्ने खालका विद्यार्थीहरू उत्पादन गर्न यसखाले तालिमले सहयोग गर्ने भन्दै विद्यालयको प्रसंसा गरे । उनले समाज रूपान्तरणमा विद्यार्थीको घोकन्ते शिक्षा भन्दा व्यवहारिक शिक्षा महत्वपूर्ण हुने बताउँदै सबैले यस्ता खालका काम गनुपर्ने बताए ।

उनले अब घोकन्ते विद्या भन्दा पनि व्यवहारिक पक्षको शिक्षा बलियो बनाउनु पर्ने बताए । विहीवारदेखि सुरु भएको तालिम ६ गतेसम्म संचालन हुनेछ ।

विशिष्ट अतिथि बाणगङ्गा नगरपालिका उप प्रमुख रिता कुमारी चौधरीले विद्यार्थीहरूको विदेश पलायनलाई रोक्न तिनै तहको सरकार, शिक्षक र अभिभावक गम्भीर हुनुपर्ने बताईन । उनले पनि विद्यालयले गरेको नौलो कामको प्रसंसा गर्दै विद्यालयले नगरको गौरव बढाएको बताएकी थिइन् ।

त्यस्तै शिक्षा विकास तथा समन्वय इकाई कार्यालय कपिलवस्तुका प्रमुख थानेश्वर घिमिरेले आजको आधुनिक वैज्ञानिक युगमा विभिन्न प्रविधिको महत्व रहेको बताए ।
कार्यक्रममा कपिलवस्तु प्याब्सनका अध्यक्ष सुन्दर पाण्डेले रोबोटिक्स तालिम आयोजना गरेर राम्रो गरेको बताउँदै आइएसओको कार्यमा विद्यालयलाई सफलताको शुभकामना दिए । उनले विज्ञान र प्रविधिको युग तर्फ सबै विद्यालयले ध्यान दिनुपर्ने बताए ।

सीप सिक्नका लागि ६५ जना विद्यार्थीहरू तालिममा सहभागि छन् । तालिममा सहभागि विद्यार्थी पनि उत्साहित छन् । आफूहरुको चाहाना पनि यस्तै सिप सिक्नमा रहेको भन्दै अधिकतम फाइदा लिने उनीहरु बताउँछन् । तालिममा नेपाल रोबोटिक्स एसोसियसनले समन्वय गरेको छ ।

सर्टिफिकेट नेपालका म्यानेजर सुदीप शर्माले आइएसओ सर्टिफाइट विद्यालय भैसकेपछि राष्ट्रिय र अन्र्र्तराष्ट्रिय प्रतिस्पर्धामा बिक्न सक्ने बताउँदै लोगो प्राप्त गरेको हिलवर्टले सर्टिफाइट हुने गरि काम गर्नुपर्ने बताए । त्यसको लागि विद्यालय परिवार, व्यवस्थापन समिति र समुदायले इमान्दार भएर काम गर्नुपर्ने शर्माको भनाई छ ।

तिन दिनसम्म चल्ने कार्यक्रममा रोबोटिक्स सम्बन्धी तालिममा विद्यार्थीहरूलाई प्रत्यक्ष सहभागि बनाई विभिन्न सीपहरू सिकाइने विद्यालयका अध्यक्ष दीपक खनालले बताए ।

विद्यालयले पहिलो चरणमा आइएसओ सर्टिफाइट लोगो प्रप्त गरेको छ । अव आइएसओ सर्टिफाइट हुनका लागि विद्यालयले कुल ४२ वटा सूचकहरूमा क्रियाकलापलाई अगाडि बढाएको खनालको भनाई छ । विद्यालयका प्रबन्ध निर्देशक बुद्धि पौडेलले तालिम आयोजनाले विद्यार्थी उत्साहित भएको बताए । आगामी दिनमा थप यस्ता तालिम र रचनात्मक कार्यक्रम गर्दै जाने प्रबन्धक पौडल बताउँछन् ।

नेपाली विभाग संयोजक तेज प्रसाद आचार्यको सञ्चालनमा भएको कार्यक्रममा विद्यार्थी, शिक्षक, अभिभावक, विभिन्न विद्यालय र संघ संस्थाका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा शिक्षक रविन्द्र पौडेलको स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा विद्यार्थीहरूले सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरेका थिए । हिलवर्ट कपिलवस्तुको पहिलो क वर्गको विद्यालय हो ।