मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एसियन गेम्सको क्रिकेटः बिस्फोटक ब्याटिङमा नेपालको कीर्तिमानी जित

एसियन गेम्सको क्रिकेटः बिस्फोटक ब्याटिङमा नेपालको कीर्तिमानी जित

अपि टाइम्स

काठमाडौं । एसियन गेम्समा नेपालले मंगोलियामाथि २ सय ७३ रनको फराकिलो जित निकालेको छ ।

हान्जाओमा पहिलो पटक अन्तराष्ट्रिय क्रिकेट डेब्यु गरेको मंगोलियामाथि नेपालले शानदार जित आत्मसाथ गरेको हो ।

नेपालले प्रस्तुत गरेको ३ सय १५ रनको लक्ष्य पछ्याएको मंगोलिया ४१ रनमा समेटिएको छ ।

मंगोलियाका दावासुरेन जामयान्सुरेनले १० रन बनाउनु बाहेक अन्य कुनै खेलाडीले दोहोरो अंकको स्कार छुन सकेनन् ।
मगोलियाका ५ खेलाडी शुन्य रनमा आउट भएका थिए भने तीन खेलाडीले मात्र १ रन जोड्न सकेका थिए ।

मंगोलियाका कुनै पनि खेलाडीले नेपाली बलर सामु टिक्न सकेनन् ।

मंगोलियालाई सस्तैमा समेट्न करन केसी, अभिनाश बोहरा, सन्दीप लामिछानेले समान दुई तथा सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी र कुशल भुर्तेलले समान एक विकेट लिएका छन् ।

यसअघि मंगोलियाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ३ विकेटको क्षतीमा ३ सय १४ रन बनाएको थियो ।

नेपालका लागि कुशल मल्लले नकआउट १ सय ३७ रनको इनिङ्स खेले । उनले ५० बलमा ८ चौका र १२ छक्काको मदतले शानदार सतकीय पाली खेलेका हुन् । रोहित पौडेल र दिपेन्द्र सिंह ऐरीले समेत अर्धशतकीय इनिङ्स खेले ।

कप्तान पौडेलले २७ बलमा २ चौका र ६ छक्काको मदतले ६१ रन बनाउदा दिपेन्द्रले १० बलमै नटआउट अर्धशतक प्रहार गरे । दिपेन्द्रले जम्मा १० बल खेल्दै ८ छक्काको मदतले सो रन बनाएका हुन् ।

कुशल भुर्तेल १९ र आसिफ शेख १६ रनमा आउट भएका थिए । मंगोलियाविरुद्ध प्राप्त जितसँगै नेपालले केही अद्भुत कीर्तिमान समेत कायम गरेको छ ।

नेपालले टी ट्वान्टीमा सर्वाधिक रन बनाउनेदेखि ठुलो अन्तरको जित निकाल्ने कीर्तिमान बनाएको छ । साथै दिपेन्द्र सिंह ऐरीले ९ बलमै अर्धशतक बनाउने कीर्तिमान कायम गरेका छन् । कुशल मल्लले टी ट्वान्टी अन्तराष्ट्रियमा सबैभन्दा चाँडो शतक प्रहार गर्ने कीर्तिमान समेत आफ्नो नाममा लेखाएका छन् ।

नेपाल प्रतियोगिताको समूह एमा रहेको छ । नेपाल रहेको समूहमा मंगोलिया र माल्दिभ्स छन् । समूह विजेता टोलीले क्वार्टरफाइनलमा स्थान बनाउनेछ ।

भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश टेष्ट राष्ट्रको रुपमा सिधै प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरिसकेका छन् ।