मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वाह नेपाली खेलाडी ! हेर्नुहोस् क्रिकेटमा बनेका बिभिन्न विश्व कीर्तिमान

वाह नेपाली खेलाडी ! हेर्नुहोस् क्रिकेटमा बनेका बिभिन्न विश्व कीर्तिमान

अपि टाइम्स

काठमाण्डौ। एसियाली खेलकुद अन्तर्गत क्रिकेटमा नेपालले मंगोलियालाई हराउँदै विजयी शुरुवात गरेको छ । मंगोलियालाई २ सय ७३ रनको फराकिलो अन्तरले हराएको नेपालले आजको खेलमा विभिन्न विश्व कीर्तिमान बनाएको छ ।

सर्वाधिक फराकिलो जित
नेपालले जितका लागि दिएको ३ सय १५ रनको लक्ष्य पछ्याएको मंगोलिया १३ ओभर एक बलमा ४१ रनमा अलआउट भयो । नेपालले मंगलोलियालाई २ सय ७३ रनले हरायो । यो टी–२० क्रिकेटमा सर्वाधिक धेरै रनको जित हो । यसअघि सन् २०१९ मा चेक रिपब्लिकले टर्कीलाई २ सय ५७ रनले हराउँदै जित हासिल गरेको थियो ।

सर्वाधिक ठूलो योगफल
चीनको हान्झाउमा नेपालले टस हारेर पहिला ब्याटिङ्ग गरेको थियो । नेपालले २० ओभरमा ३ विकेट गुमाएर ३ सय १४ रन जोड्यो । अहिलेसम्म अन्तर्राष्ट्रिय टी–२० मा कुनै पनि टोलीले तीन सय रन बनाएका थिएनन् । सन् २०१९ मा अफगानिस्तानले आयरल्यान्डसँगको खेलमा बनाएको २ सय ७८ रन नै टी–२० अन्तर्राष्ट्रियमा बनेको सबैभन्दा ठूलो स्कोर रहेको थियो ।

सर्वाधिक छिटो शतक
नेपालका कुशल मल्लले टी–२० क्रिकेटमा सर्वाधिक छिटो शतकको विश्व कीर्तिमान राखेका छन् । उनले ३४ बलमै शतक पुरा गरे । उनी ५० बलमा १ सय ३७ रनमा अविजित रहे । यसअघि भारतका रोहित शर्मा, दक्षिण अफ्रिकाका डेविड मिलर र चेकरिपब्लिकनका सुदेश विक्रमशेखरले समान ३५ बलमा शतक हानेका थिए ।

सर्वाधिक छिटो अर्धशतक
आजको खेलमा दिपेन्द्रसिँह ऐरीले अविश्वसनीय प्रदर्शन गरे । उनले ९ बलमै अर्धशतक पुरा गरे । ऐरी सर्वाधिक छिटो अर्धशतक प्रहार गर्ने खेलाडी बनेका छन् । यसअघि टी–२० मा सर्वाधिक छिटो अर्धशतक भारतीय खेलाडी युवराज सिंहले सन् २००७ मा इंग्ल्यान्डसँगको खेलमा १२ बलमै पूरा गरेका थिए । ऐरीले अन्तर्राष्ट्रिय कुनैपनि खेलमा सर्वाधिक छिटो अर्धशतकको कीर्तिमान बनाएका हुन् । उनले १९ औँ ओभरको अन्तिम पाँच बलमा लगातार पाँच छक्का हाने ।

तेस्रो नम्बरमा सर्वाधिक रन
कुशल मल्लले तेस्रो नम्बरमा आएर बनाएको १ सय ३७ रन पनि विश्व कीर्तिमान नै हो । टी–२० मा चौथो नम्बरमा यति ठूलो स्कोर कुनै ब्याट्सम्यानले बनाउन सकेका थिएनन् ।

चौथो विकेटका लागि सर्वाधिक ठूलो साझेदारी
आज बनेको अर्को कीर्तिमान भनेको टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा तेस्रो विकेटका लागि सर्वाधिक ठूलो साझेदारी पनि हो । कुशल मल्ल र रोहित पौडेलबीच एक सय ९३ रनको साझेदारी भएको थियो । यसअघि टी–२० मा तेस्रो विकेटका लागि सर्वाधिक ठूलो साझेदारीको विश्व कीर्तिमान न्यूजिल्यान्डका डीपी कोनवे र जिडी फिलिप्सको नाममा थियो । उनीहरूले सन् २०२० मा वेस्ट इन्डिजसँगको खेलमा एक सय ८४ रनको साझेदारी गरेका थिए ।

सर्वाधिक छक्का
नेपालले टी–२० क्रिकेटमा सर्वाधिक छक्काको कीर्तिमान पनि बनाएको छ । २० ओभरमा नेपालले २६ छक्का प्रहार गर्यो । कुशल मल्लले १२, रोहित पौडेलले ६ र दीपेन्द्रसिंह ऐरीले ८ छक्का प्रहार गरेका थिए । एउटै टी–२० मा सर्वाधिक छक्काको कीर्तिमान अफगानिस्तान र वेस्ट इन्डिजको नाममा थियो ।

सन् २०१९ मा आयरल्यान्डलाई अफगानिस्तानले २२ छक्का हानेको थियो । यस्तै वेस्ट इन्डिजले दक्षिण अफ्रिकालाई सन् २०२३ मा २२ छक्का हानेको थियो । यी दुवै टोलीको संयुक्त कीर्तिमान आज नेपालले तोडेको छ ।

नेपालले आफ्नो समूह चरणको अन्तिम खेल आइतबार माल्दिभ्ससँग खेल्नेछ । नेपाल क्वाटरफाइनलमा पुगे भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान मध्य एक टोलीसँग खेल्नुपर्ने हुन्छ । एसियाली खेलकुद अन्तर्गत क्रिकेटमा नेपालले पदकको लक्ष्य राखेको छ ।