चन्द्रकान्त न्यौँपाने, कपिलवस्तु । गत भदौ २९ गते शुक्रबार साँझदेखि वाणगंगा नगरपालिकाबाट २ बालिका हराए । वडा नम्बर १ को उत्तमनगर घर भएकी कक्षा १० मा अध्यनरत १५ वर्षीया विष्णु छहारी र वडा नः २ को राजपुर स्थायी घर भएकी १५ वर्षीय सिर्जना ठकुरी हराएका थिए । स्कुल जान्छौँ भनेर घरबाट हिँडेका उनीहरु लामोसमय परिवारको सम्पर्कमा आएका थिएनन् ।
१८ । १९ दिनसम्म पनि उनीहरु घर नआएपछि परिवार पीडामा रह्यो । सुरुवाती चरणमा आफै खोजमा लागेका परिवारले केहि उपाय नलागेपछि अन्तिममा प्रहरी र मिडिया गुहारे । प्रहरी गुहारे लगत्तै हराएका ती बालिकालाई निरन्तरको खोज र सक्रियतापछि प्रहरीले २ दिनभित्रै फेला पार्न सफल भयो ।
ईलाका प्रहरी कार्यालय पिपराका प्रहरी नीरक्षक गोपाल रायमाझीको कमाण्डमा खटिएको टोलीले रुपन्देहीको बुटवलस्थित मझवा गाउँबाट उनीहरुलाई सकुशल उद्धार गर्यो र परिवारको जिम्मा लगायो । बालिका उद्धारमा प्रहरी नीरिक्षक रायमाझीले प्रसंसनीय काम गरेका छन् ।
खोजी र उद्धारमा स्वयम् परिवारका सदस्य पनि सहभागि थिए । भेटिएकै दिन प्रहरीले ती बालिकालाई प्रहरीको जिम्मा लगाएको थियो । अहिले बालिका आआफ्नो घरमा छन् ।
ती बालिकाको सकुशल उद्धार भएपछि पनि आम समुदायमा भने बिभिन्न प्रश्न उब्जिएका छन् । अहिले पनि यी प्रश्नहरुको सामना अभिभावकले गरिरहेका छन् ।
ती प्रश्न भनेका यतिका दिनसम्म ती बालिका कसरी हराए ?, किन घर आएनन् ? यो वीचमा के खाए ? कोसंग बसे, के खाए ? कसले बन्धक बनाएर राखेको थियो या कतै बेचिन आँटेका थिए कि ?
बालिकाको उद्धारपछिको समाचार सम्प्रेषण गरेपछि पनि अपिटाइमसले यस्तै धेरै प्रश्नको सामना गर्नुपर्यो । त्यसपछि प्रहरीसंग यसबारे सोधपुछ गरिएको छ ।
इलाका प्रहरी कार्यालय पिपराका इन्स्पेक्टर गोपाल रायमाझीका अनुसार ती बालिका पारिवारिक समस्याका कारण जानिबुझिकन हराएका हुन् । बालिका भएका हुनाले धेरै सोधपुछ गरेनौँ इन्स्पेक्टर रायमाझीले भने, ‘सामान्य सोधपुछ गर्दा उनीहरुले मसंग सुटुक्क भनेका छन् ‘परिवारले गाली गरेपछि सहन नसकेर भागेका हौँ । धेरै गाली गरेपछि अति भएर भागेका हौँ । हामीलाई अहिलेसम्म कसैले केहि गरेको छैन । कुनै अफ्ट्यारो पनि भएको छैन । कसैले अपहरण पनि गरेको होइन । हामी सुरक्षित नै थियौँ । हामी सल्लाहा गरेर घरबाट भागेका हौँ ।’
इन्सपेक्टर रायमाझी भन्छन् ‘उनीहरुले मझवामा कोठा नै भाडामा लिएर बसिसकेका रहेछन् । उनीहरुको कोठामा ग्याँस र केहि खाना पकाउने भाँडाकुँडा पनि थिए । खोज्न नगएको भए त्यहि बस्नेरहेछन्, इन्स्पेक्टर रायमाझीले प्रस्ट्याए ‘कसैले बेच्न लगेको, कसैले बन्धक गराएको भन्ने केहि पनि पाएनौँ । सकुशल उद्धार गर्यौँ । उनीहरु खुसी नै देखिन्थे, यो बीचमा उनीहरुलाई कुनै अफ्ट्यारो पनि भएको रहेनछ । हामी नपुगेको भए त्यतै बस्ने रहेछन् ।
आफूहरु पुग्नासाथ बालिका झस्किएका इन्सपेक्टर रायमाझीले अपिटाइम्ससंग बताए । बालबालिकाले भनेको कुरा अभिभावकले पनि स्विकारेका रायमाझीको भनाई छ । उनले भने, ‘यो त एउटा प्रतिनिधि घटना भयो । यस्ता धेरै घटना हुनसक्छन् । बालबालिकाको यस्तो अवस्था बुझेपछि बच्चा र अभिभावक दुवैलाई सम्झाइबुझाई गरेर पठायौँ ।’
सामाजिक संजालको बढ्दो प्रयोग र संगतको कारण बालबालिकामा अर्कै खालका भावनाहरु उत्पन्न हुन थालेकाले अभिभावक पनि सचेत हुनुपर्ने उनले बताए । आमाबुबाका सामान्य गालीगलौजलाई लिएर यस्ता खालका निर्णय नगर्न पनि रायमाझीको सबैमा अनुरोध छ ।
सामाजिक संजाल, कुलत, मोबाइलको बढ्दो प्रयोग लगायतले बालबालिकालाई अहिले बिगारिरहेकाले मनोपरामर्श जरुरी रहेको उनी बताउाछन् । उनीहरुको भावना बुझेर काम गर्न नसक्दा समाजले आत्महत्याजस्ता घटनाको सामाना गर्नु परेको तथ्यांक प्रहरीसंग छ, उनले थपे, ‘बालबालिकाको साथी भएर अभिभावक बस्नुपर्छ । सधैँभरी धम्काएर, थर्काएर बालबालिकालाई राम्रो बाटोमा ल्याउन सकिँदैन ।’
हरेक अभिभावक र पढाउने शिक्षकलाई मेरो अनुरोध छ कि बालबालिकाको मनोभावना बुझेर काम गर्नुपर्दछ । बालबालिका र अभिभावकमा कुनै समस्या आए प्रहरी चौकीमा आएर सुझाव सल्लाह लिन उनले अभिभावकलाई आग्रह गरे । समयमै यस्ता समस्या बुझ्न नसके झन् विकराल स्थिति सिर्जना हुने इन्स्पेक्टर रायमाझीको बुझाई छ ।
अब सचेत रहेको भन्दै अभिभावकले अब त्यसरी गाली नगर्ने बताएका छन् । उनीहरुले भनेका छन् ‘छोराछोरीलाई अलिअलि गाली जसले पनि गर्छ । यस्तो होला भनेर सोचिएको पनि थिएन । १५ । २० दिन निकै तनाव भयो । अब सचेत भयौँ ।’
मनोविमर्शकर्ता पनि बालबालिकाको मनोविज्ञान बुझेर व्यवहार गर्नुपर्ने सुझाउँछन् । मनोविमर्शकर्ता मधुसुदन घिमिरे भन्छन् ‘ बालबालिकाले गरेको गल्तीमा गालीगलौज गर्ने परिपाटीले जघन्य समस्या निम्तिएका छन् । उनीहरुको मनोविज्ञान बुझ्न जरुरी छ । अहिलेका अभिभावकले मनोविमर्श अध्ययनको तालिम लिनुपर्दछ । पढाउने शिक्षकलाई पनि यो अपरिहार्य भइसक्यो ।’
प्रतिक्रिया