मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विश्वकपः दक्षिण अफ्रिकाले श्रीलंकालाई दियो ४ सय २९ रनको लक्ष्य, ३ जनाको शतक

विश्वकपः दक्षिण अफ्रिकाले श्रीलंकालाई दियो ४ सय २९ रनको लक्ष्य, ३ जनाको शतक

अपि टाइम्स

एजेन्सी । तीन शतकको सहयोगमा दक्षिण अफ्रिकाले आइसिसी विश्वकप २०२३ मा श्रीलंकालाई ४ सय २९ रनको कीर्तिमानी विशाल लक्ष्य दिएको छ । अरुण जेट्ली स्टेडियम दिल्लीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ४ सय २८ रन बनायो ।

यो विश्वकप इतिहासकै उच्च योगफल हो । विश्वकपमा यसअघि उच्च योगफल २०१५ मा अष्ट्रेलियाले सिड्नीमा अफगानिस्तानविरुद्ध ४ सय १७ रन बनाएको थियो ।

दक्षिण अफ्रिकाका मध्यक्रमका भरपर्दा ब्याटर एडेन माक्ररमले ५४ बलमा १४ चौका र ३ छक्कासहित १ सय ६ रनको कीर्तिमानी इनिङ खेले । एडेन माक्ररमले विश्वकप इतिहासकै सर्वाधिक छिटो ४९ बलमा शतक पूरा गरेका थिए ।

उनले २०११ मा आयरल्यान्डका केभिन ओ ब्रायनले इंग्ल्यान्डविरुद्ध ५० बलमा हानेको शतकको कीर्तिमान तोडेका छन् । ओडिआई इतिहासकै सर्वाधिक छिटो शतक भने दक्षिण अफ्रिकाका एवि डिभिलियर्सले २०१५ मा वेस्टइन्डिजविरुद्ध ३१ बलमा हानेका थिए ।

विश्वकप इतिहासमा पहिलो पटक एकै खेलमा तीन शतक प्रहार भएका हुन् । ओडिआईमा यसअघि तीन पटक मात्रै एकै खेलमा तीन शतक प्रहार भएका थिए । २०१५ मा दक्षिण अफ्रिकाले वेस्टइन्डिजविरुद्ध, त्यसै वर्ष दक्षिण अफ्रिकाले भारतविरुद्ध तथा गतवर्ष इंग्ल्यान्डले नेदरल्यान्ड्सविरुद्ध एकै खेलमा तीन शतक हानेको थियो ।

तर ती तीन खेल विश्वकप नभएर सिरिजका थिए । त्यसै खेलमा दक्षिण अफ्रिकाले वेस्टइन्डिजविरुद्ध आफ्नो ओडिआई इतिहासकै उच्च ४ सय ३९ रन बनाएको थियो ।

अनुभवी ब्याटर रास्सी भान डर डुसेन १ सय १० बलमा १३ चौका र २ छक्कासहित १ सय ८ रनमा आउट भए । ओपनर क्विन्टन डि ककले ८४ बलमा १२ चौका र ३ छक्कासहित १ सय रन बनाउँदै आउट भएका थिए ।

दोस्रो विकेटका लागि डुसेन र डि ककले २ सय ४ रनको दोहोरो शतकीय साझेदारी गरेपछि दक्षिण अफ्रिकाले विशाल योगफलको आधार तय गरेको थियो । कप्तान टेम्बा बभुमा भने ८ रनमै आउट भएका थिए ।

हेनरिक क्लासेन २० बलमा १ चौका र ३ छक्कासहित ३२ रनमा आउट भए । डेविड मिलर २१ बलमा ३ चौका र २ छक्कासहित ३९ तथा मार्को यानसन १२ रनमा नटआउट रहे ।

श्रीलंकाका तीव्र गतिका बलर मथिसा पाथिरानाले १० ओभरमा ९५रन खर्चेर १ विकेट लिए । कसुन रजिथाले १० ओभरमा १ मेडनसहित ९० रन खर्चेर १ विकेट लिए । दिलशान मदुशानकाले १० ओभरमा ८६ रन खर्चेर २ विकेट लिए । दुनिथ वेलालागेले १० ओभरमा ८१ रन खर्चेर १ विकेट लिए । हाम्रो खेलकुदबाट