मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

समस्याग्रस्त विद्यार्थी बोकेर इजरायलबाट उड्यो जहाज, केहि घाइते छन्

समस्याग्रस्त विद्यार्थी बोकेर इजरायलबाट उड्यो जहाज, केहि घाइते छन्

अपि टाइम्स

काठमाण्डौ । युद्धग्रस्त इजरायलबाट नेपालीहरू लिएर नेपाल वायु सेवा निगमको जहाज काठमाण्डौका लागि उडेको छ ।

द्वन्द्वका कारण अलपत्र नेपालीलाई लिन परराष्ट्रमन्त्री एनपी साउदसहित गएको जहाज नेपालीहरू लिएर आजै राती काठमाण्डौ आइपुग्ने छ । जहाजमा २५३ जना रहेको परराष्ट्रमन्त्रीको सचिवालयले जनाएको छ ।

इजरायलको तेलअभिभ अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको जहाज यूएईमा तेल भर्नका लागि केही समय रोकिने छ ।

हमासको आक्रमणबाट बचेका नेपाली विद्यार्थीहरूले आफूहरूको जीवन दान दिएर स्वदेश पठाएको इजरायलमा रहेका सम्पूर्ण नेपाली समुदायलाई धन्यवाद दिएका छन् ।

तर आफूहरू फर्किए पनि आक्रमणमा परी घाइते भएका केही साथीहरू अहिले उपचाररत रहेको र एक जना हराइरहेकाले घाइतेको उपचार र हराएको साथीको खोजी गरिदिन उनीहरूले अनुरोध गरेका छन् ।

इजरायलबाट घर फर्कन नाम टिपाएका मध्ये झण्डै आधा नेपाली मात्रै आज फर्किन लागेका हुन् ।

पहिलो लटमा स्वदेश फिर्ता हुने टोलीमा हमासको आक्रमणबाट जोगिएका वीरेन्द्र चौधरी, प्रमोद केसी र धनबहादुर चौधरीसमेत रहेका छन् । धनबहादुर चौधरी आक्रमणबाट घाइते भएका छन् ।

१७ जनाको समूहमा भएको हमासको आक्रमणमा परी १० जना नेपालीको ज्यान गएको छ । इजरायल सरकारले हमाससँग युद्धको घोषणा गरेको अवस्थामा ज्यान गुमाएकाको शव हस्तान्तरणमा कानुनी प्रक्रिया पूरा नभएकाले तत्काल शव ल्याउन कठिन भएको छ ।

इजरायलले शल्यपरीक्षणलगायत सबै कानुनी प्रक्रिया पूरा भएपछि यथाशक्य चाँडो शव ल्याइने परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले बताइन् ।

इजरायलस्थित नेपाली राजदूतावासले स्वदेश फर्कन चाहनेहरुको विवरण सङ्कलन गरिरहेको छ ।