कपिलवस्तु । पानीमाथि बनाइएको ९ इन्चको ट्रयाकमा ‘स्लो साइकल’ चलाएर रुपन्देहीका एक बालकले नगर ५० हजार रुपैयाँ जितेका छन् ।
विश्व साइकल यात्री, नेपाल साइकल यात्री तथा अन्य १२२ साइकल राइडरलाई पछि पार्दै बुटवलका ११ बर्षिय मनिक श्रेष्ठले उपाधि जितेका हुन् । उनले ५२ मिटरको दुरी सबै भन्दा धेरै १ मिनेट ५६ सेकेन्डमा लगाएर पार गरेका थिए ।
दुरी पार गर्न केहि दुरी मात्र कम रहँदा उनले साइकल अड्याएर आफ्नो कला प्रस्तुत गरेका थिए । यतिखेरको दृश्य निकै रोचक थियो । मनिक बुटवलको एभरेष्ट बोर्डिङ स्कुलमा कक्षा ६ मा अध्ययनरत छन् । लायन्स क्लव अफ कपिलवस्तुले नेपालमै दोश्रोपटक आयोजना गरेको प्रतियोगिताको नाम साइकल प्ल्याङ्क ब्यालेन्स थियो ।
प्रतियोगितामा धरानका अनिस तमाङले १ मिनेट २५ सेकेन्डमा दुरी पार गरी दोश्रो (२५ हजार ), तेस्रो स्थानमा शुभम् भट्टराई (१५ हजार ) र सान्त्वना अरुण अर्याल भएका छन् । एक भारतीय सहित सहभागि भएका खेलमा २४ जनाले निर्धारित दुरी पार गरेको खेल संयोजक विष्णु घिमिरेले बताए ।
गत बर्षभन्दा यसपटक खेलको ढाँचा बदलिएको थियो । गत बर्ष छिटो दुरी पार गर्नेले उपाधि जितेका थिए भने यसपटक ढिलो समय लगाएर दुरी पार गर्नेलाई उपाधि दिइएको थियो ।
पानी माथि ट्रयाक निर्माण गरी साइकल चलाएर निश्चित दुरी पार गरी खेलिने खेल गत वर्ष पहिलो पटक नेपालमा सञ्चालन भएको थियो । नौ इन्च चौडाइ रहेको ५२ मिटर लामो ट्रयाकमा साइकल चलाएर खेलिएको थियो । यो प्रतियोगिता लायन्स क्लव अफ कपिलवस्तुले आयोजना गरेको थियो ।
प्रतिक्रिया