मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हमाससँग १ सय २६ जना बन्धक रहेको इजरायलको दाबी

हमाससँग १ सय २६ जना बन्धक रहेको इजरायलको दाबी

अपि टाइम्स

एजेन्सी । प्यालेस्टाइनी लडाकु समूहले नौ दिनअघि घातक आक्रमण गरेयता हमासले १ सय २६ जनालाई बन्धक बनाएको इजरायली सेनाले आइतबार पुष्टि गरेको छ । अक्टोबर ७ मा हमासले इजरायलमा गरेको आक्रमणमा कम्तीमा एक हजार ३०० जनाको मृत्यु भएको र करिब १ सय ५० इजरायली र विदेशी बन्धक बनाएको हुनसक्ने अनुमान इजरायली अधिकारीहरूले गरेका थिए ।

त्यसयता इजरायली बमबारीमा प्यालेस्टाइनी इलाकामा दुई हजार ३ सयभन्दा बढीको मृत्यु भइसकेको छ भने दशौँ हजार सैनिकहरू आक्रमणको तयारीका लागि गाजाको सीमामा जम्मा भएका छन् । सेनाका प्रवक्ता रिचार्ड हेक्टले पनि हमासले एक्कासी गरेको आक्रमणको जवाफमा सुरु गरिएको सैन्य कारबाहीका क्रममा २ सय ८६ इजरायली सैनिकको मृत्यु भएको बताएका छन् ।

इजरायली अधिकारीहरूले दक्षिणी इजरायलमा हमास आक्रमण स्थलबाट शवहरू फेला परेका र पहिचान गरिएकाले ज्ञात बन्धकहरूको सङ्ख्यामा परिमार्जन गरिएको बताएका छन् । हेक्टले एक ब्रिफिङमा १२६ जनालाई हमासले बन्धकको रूपमा लगेको ‘पुष्टि’ भएको बताएका छन् । यो सङ्ख्या शनिबार १२० बाट बढेको थियो र अधिकारीहरूले आगामी दिनहरूमा यो सङ्ख्या परिवर्तन भइरहने चेतावनी दिएका छन् ।रासस र एएफपी