मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

यूएईमाथि नेपालको शानदार जित, आज बिहीबार हङकङसँग खेल्ने

यूएईमाथि नेपालको शानदार जित, आज बिहीबार हङकङसँग खेल्ने

अपि टाइम्स

काठमाडौं । त्रिकोणात्मक क्रिकेट सिरिजको पहिलो खेलमा नेपालले यूएईविरुद्ध शानदार जित निकालेको छ ।

बुधबार मुलपानी क्रिकेट मैदानमा भएको खेलमा नेपालले यूएईलाई ७ विकेटले हराएको हो ।

नेपालको जितमा कप्तान रोहित पौडेलले शानदार अर्धशतकीय इनिङ्स खेले । उनले ४० बलमा ५ चौकाको मदतले नेपालका लागि सर्वाधिक ५१ रन बनाए ।

पौडेलसँग उत्कृष्ट साझोदारी गरेका दिपेन्द्र सिंह ऐरीले समेत ३४ रन बनाए । ओपनर कुशल भुर्तेल १४ र आसिफ शेखले २३ रन बनाएको नेपालको इनिङ्समा कुशल मल्ल ११ रनमा आउट भएका थिए ।

यूएईका अल नासिर र निलांश केसवानीले समान एक-एक विकेट हात पारेका थिए ।

पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ओभरमा ७ विकेट गुमाएर १ सय ४० रन बनाएको थियो । निकै खराब सुरुआत गरेको यूएईका लागि बासिल हामिदले ५१ रनको अर्धशतकीय इनिङ्स खेल्दै टोलीलाई उकासेका थिए ।

अल नासिरले ३२, कप्तान मुहम्मद वसीमले १७ तथा आसिफ खानले १५ रन बनाएका थिए । अन्य खेलाडीले दोहोरो अंकको स्कोर छुन सकेनन् ।

नेपालका लागि करण केसीले ३ विकेट हात पारेका थिए । गुल्सन झाले २ तथा अबिनाश बोहरा र सोमपाल कामीले समान एक-एक विकेट हात पारे ।

टी ट्वान्टी विश्वकप छनोट खेल्न लागेको नेपालले तयारी स्वरुप सिरिजको आयोजना गरेको हो । सिरिजमा नेपाल, युएई र हङकङ समावेश छन् ।

नेपालले सिरिजको दोस्रो खेलमा आज बिहीबार हङकङसँग खेल्नेछ ।