मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भारतले नेपाललाई ९५ हजार टन चामल दिने

भारतले नेपाललाई ९५ हजार टन चामल दिने

अपि टाइम्स

नयाँ दिल्ली — भारतले नेपालसहित सात देशलाई तोकिएको परिमाणमै गैरबासमती चामल निर्यातको अनुमति दिएको छ । गत जुलाई–२० बाट भारतले गैर बासमती चामलको निर्यातमा रोक लगाएको थियो । भारतको विदेश व्यापार महानिर्देशनालयले बुधबार जारी गरेको सूचना अनुसार नेपाललाई ९५ हजार टन चामल निर्यात गरिने छ । नेपाल सरकारले चामल निर्यातमाथिको प्रतिबन्ध खुकुलो बनाउन आग्रह गर्दै आएको थियो ।

दिल्लीस्थित नेपाली दूतावास मार्फत नेपालले भारत सरकारसँग एक लाख टन गैरबासमती चामलको माग गरेको थियो । प्रतिबन्ध लगाइएको तीन महिनापछि भारतले नेपालका लागि निर्यातको कोटा तोकेको हो । बुधबार जारी गरिएको सूचना अनुसार सात देशलाई कुल १० लाख ३४ हजार ८ सय टन चामल निर्यातको कोटा दिइएको छ ।
पछिल्लो पटक चामल निर्यातको अनुमति पाउनेमा नेपाल, कैमरून, कोटे डी आइभोर, गिनी, मलेसिया, फिलिपिन्स र सेसल्स छ । फिलिपिन्सले सबैभन्दा बढी २ लाख ९५ हजार, कैमरूनले १ लाख ९० हजार, मलेसियाले १ लाख ७० हजार, कोटे डी आइभोर र गिनीले १ लाख ४२ हजार टन चामल भारतबाट पाउने छन् । सबैभन्दा कम सेसल्सलाई ८ सय टन दिइएको छ । तोकिएको कोटाको चामल भारतको राष्ट्रिय सहकारी निर्यात लिमिटेड मार्फत निर्यात गरिने विज्ञप्तिमा उल्लेख छ । सम्बन्धित देशहरुको खाद्य सुरक्षा र आवश्यकतालाई हेरेर निर्यात खुलाइएको जनाइएको छ ।

यसअघि भारतले यूएई, सिंगापुर, भुटान, मरिसस, सेनेगल, गाम्बिया, इन्डोनेसिया, माली लगायतका देशलाई पनि कोटा तोकेर निर्यातको अनुमति दिइसकेको छ । विश्व बजारमा भारतीय चामलको ठूलो हिस्सा छ । कुल चामल निर्यातको ४० प्रतिशत भारतबाटै जान्छ । भारतबाट १ सय ४० देशमा चामल निर्यात हुँदै आएको छ । तर, आन्तरिक बजारमा मूल्यवृद्धि हुन नदिन भारतले चामलको निर्यातमा रोक लगाएको थियो । भारतले निर्यातमा प्रतिबन्ध लगाएसँगै विश्व बजारमा चामलको मूल्यमा वृद्धि भएको छ । नेपाललाई पनि त्यसको मार परेको छ ।