कपिलवस्तु । वाणगंगा नगरपालिकाको वडा नम्बर ४ जितपुर चोकबाट गजेहडातर्फ लाग्दा दिउँसोमा निकै राम्रो देखिन्छ । फराकिलो बाटोको करिब आधा किलोमिटर दुरी पार गर्दा सुविधा सम्पन्न सहरमा हिँडेको अनुभुति हुन्छ यात्रुलाई । दायाँबायाँ घर, ठुलाठुला ब्यापार/ब्यवसायका पसल, वित्तिय संस्थाहरु, ठुलाठुला घर । त्यसमाथि दुई लेनको बाटोको बीचमा सेतै सडक बत्ती । सडकको बीचमा केहि मात्रामा हरिया विरुवा पनि ।
दिउँसोमा यस्तो बाटो देख्ने यात्रीले कल्पना गरेको हुन्छ, साँझमा यो सडक कस्तो देखिएला ? अनि उसले कल्पना गर्न सक्छ चारैतिर उज्यालो र झिलीमिली हुन्छ होला । रातभर हिँडडुल गरे पनि कुनै डर त्रास हुँदैन होला । जब त्यहि यात्री त्यहि बाटो साँझमा यात्रा गर्छ तब ऊ झसङ्ग हुन्छ । झमक्क साँझ परेर हिँडदा उक्त बाटोको अवस्था उसले कलपना गरेजस्तो हुँदैन ।
किनभने सो सडकमा सडक बत्ती त छन् तर बल्दैनन् । वाणगंगाको मुटु चार नम्बरलाई झिलीमिली बनाउने भनेर जडान गरिएका बत्ती अहिले बल्दैनन् । जडान गरिसकेर पनि यी बत्ती नबलेको एक महिना कटिसकेको छ । मोटो रकम खर्च गरेर जडान गरिएका सडक बत्ती लामो समय नबल्दा अहिले सर्वसाधारणले प्रश्न खडा गर्न थालेका छन् । कृषि विकास बैङ्कमुनिदेखि बुद्धभूमि हार्डवेयरसम्म वत्ती जडान छन् ।
अस्तिसम्म बत्ती नबलेपनि दशैँसम्म सडक झिलीमिली देखिन्छ भन्ने आशाले बसेका स्थानीय दशैँ भित्रिएको ३ दिन बितिसक्दा पनि बत्ती नबल्दा आश्चर्यमा परेका छन् । यसपछि उनीहरुले वडा अध्यक्ष छविलाल रेश्मीको आलोचना गर्न थालेका हुन् ।
धेरैले वडाले जडान गर्न नचाहेर पनि भनिरहेका छन् । तर तथ्य बुझ्दा वडाले नचाहेर भन्दा पनि नगरपालिकाको गम्भिर लापरबाहिका कारण वडा नम्बर ४ मात्र होइन अरु वडामा पनि बत्ती बाल्न समस्या भएको छ । यसपछाडीको कारण के होला भनेर स्थानीयले अपि टाइम्सलाई कारणसम्म सोध्न भ्याए । यसपछि यस विषयमा बुझ्दा सडकका बत्ती नबल्नुमा वडाभन्दा पनि नगर नै दोषी देखिएको हो ।
अपिले पाएको विशेष सुचना अनुसार नगरले वि सं २०७६ साल ११ । १५ गतेदेखि ११ वटा वडाका सडकमा जडान भएका बल्ब बालेबापत्को भुक्तानी नदिएपछि धेरै ठाउँमा समस्या भएको छ । नगरका बिभिन्न वडामा ३५ सय बढी बल्ब बलेबापत नगरले नेपाल विद्यूत् प्राधिकरणलाई करिब २ करोड रुपैयाँ तिर्न बााकी छ ।
त्यतिखेर सबै वडा अध्यक्षहरुले तिछौँ भनेर हस्ताक्षरसहित बत्ती जडान गरेर बिजुली बालेपनि अहिलेसम्म नतिरिएपछि वडा नम्बर ४ पनि समस्यामा परेको बताइएको छ ।
बत्ती जडान नभएर आलोचना आउन थालेपछि वडा अध्यक्ष छवि रेश्मी विद्यूत प्राधिकरण तौलिहवामा पुगे । तर पनि बत्ती जडान भएन । अब बत्ती जडान गर्न प्राधिकरणको एउटै शर्त छ बाँकी बक्यौती हुनुपर्ने । त्यसपछि रेश्मी रिसाउँदै नगरलाई दबाब दिन बाध्य भएको बुझिएको छ ।
नगरको यो लापरबाहीमाथि वडा अध्यक्ष रेश्मीले कडा जवाफ माग गरेपछि भने नगरले बल्ल भुक्तानीको लागि सिफारिस गरेको अपिटाइम्सले सुचना पाएको छ । बक्यौता भुक्तानीको लागि नगरलाई पटकपटक पत्र काटेपछि पनि भुक्तानी नभएपछि बाध्य भएर बत्ती काटेको प्राधिकरण श्रोत बताउँछ ।
वडा नम्बर ४ का अनुसार बत्ती जडान ढिलाई हुनुमा नगर नेतृत्वकै दोष रहेको बताउँछ । अब चाँडै मिटर जडान भएर बत्ती बल्ने बताइएको छ । श्रोतका अनुसार अब एक/दुई दिनमै बत्तीबलेर झिलीमिली हुने छ ।
प्रतिक्रिया