मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ब्रेक डान्स गर्दै पान बनाउने राजेश, यसरी मोहित पार्छन् पारखी

ब्रेक डान्स गर्दै पान बनाउने राजेश, यसरी मोहित पार्छन् पारखी

अपि टाइम्स

चन्द्रकान्त न्यौपाने
कपिलवस्तु । काम विशेषले दशैको छैठौँ दिन शुक्रबार जिल्लाको सदरमुकाम तौलिहवा जानु पर्ने भयो । जिल्ला प्रशासन कार्यालयमा काम सकिसकेपछि स्मरण भइहाल्यो ‘राजेश पान भण्डार’ को । र पुग्यौँ त्यहाँ ।

एक पटक राजेश पानको स्वाद भरेकाहरु अर्कोपटक तौलिहवा पुगेपछि त्यहाँ नपुगि सायदै फर्कन्छन् । दिउसोको करिब २ बजेको समयमा पनि त्यहाँ खुट्टो राख्ने ठाउँ थिएन । पान पसलका साहु राजेश तिवारी पान बनाउन निकै ब्यस्त देखिन्थे । राजेश पान जिल्ला प्रशासन कार्यालयअघिबाट मुलबाटो छोडी पश्चिमतिर हानिएर मोडियौँ भने बँयातिर नाकैमा ठोक्किन पुग्छ ।

सानो साँघुरो सटर, वरिपरिबाट गुट्ठा, सुपारी, प्याकेट कफी, चाउचाउ, कुरमुरे लगायतले घेरिएको पान पसलमा ब्रेक डान्स गर्दै पान बनाइरहेका थिए राजेशले । त्यहाँ जाने र राजेशलाई नियाल्नेले सुरुमा भेउ पाउँदैनन् कि उनले पान बनाइरहेका छन् या ब्रेक डान्स गरिरहेका छन् ।

पानको स्वाद लिन गएकाहरु उनी हल्लिएको देखेरै अलिकति मनोरञ्जन लिन पाउँछन् । अर्कोतिर उनको हँसाईले जोसुकैको अँध्यारो मुखमा उज्यालो प्रकाश छरिदिन्छ । पान बनाउने काम तिवारी त्यति मुस्कुराएर गर्छन् । उनको टिशर्ट र हाफपाइन्ट चुना लगायतको लत्पत्याइले रंगिएको थियो भने हातका औँला रक्ताम्ये देखिन्थे ।

पान पसलमा पुगेपछि केहि समय नियाल्यौँ अनि पानको माग गर्यौँ । निकै समय लगाएर राजेशले मिठा पान तयार गरिहाले । लामो समय राजेश पानको स्वाद लिनबाट बंचित रहेका हामीले उनले दिनासाथ मुखमा हालीहाल्यौँ । त्यो पान मुखमा अट्न पनि गारो भयो ।

मुखमा पान राखेरै चपाउँदै राजेशसंग केहि जानकारी नलिई मनले मानेन । पान मुखमा चपाईँदै थियो, प्रश्न सोधिरहेँ । उनले पानका बारेमा छोटकरीमा धेरै कुरा सुनाए । मिडियामा धेरै बोल्न नरुचाउने उनले हामीले सोधेका प्रश्नको वाक्यमै उत्तर दिए ।
राजेशको त्यो पुख्र्यौली पेशा रहेछ ।

हजुर बुबासम्मले त्यो पेशा धानिरहेका थिए । राजेशका बाबुले त्यसलाई निरन्तरता दिएका रहेनछन् । त्यसपछि हजुरबुबाको पेशालाई आफूले निरन्तरता दिएको राजेशले कुराकानीको क्रममा बताए । उनले आफूले २५ बर्षदेखि तौलिहवामा पान पसल चलाइरहेको जानकारी दिए ।
कुराकानीपछि थाहा पायौँ उनले पानको सानो सटरबाट मनग्यै आम्दानी गरेका रहेछन् । आम्दानी ठ्याक्कै नबताए पनि दुई छोराले बोर्डिङ पढिरहेको, कपिलवस्तु नगरपालिका वडा नम्बर १ तौलिहवा कालिका टोल बस्ने ८ ९ जनाको परिवार राम्रैसंग धानिरहेको राजेशले सुनाए ।
राजेशका अनुसार त्यहाँ भारत र काठमाडौँबाट पानका पारखीहरु आउने गरेका छन् । उनी भन्छन् ‘हेर्ने कथाकी वरिष्ठ पत्रकार विद्या चापागाई कपिलवस्तु र पश्चिमतिर आउँदा पान खानकै लागि यहाँ आउनुहुन्छ । भारत, भैरहवा, बुटवल, दाङ, रुपन्देही लगायतका जिल्लाबाट पनि पानका पारखीहरु आउनुहुन्छ ।’

दिनभर कति ग्राहकले पान लिनुहुन्छ भन्ने प्रश्नमा त्यो गन्ति नरहेको उनले बताए । ‘विहान ९ बजेदेखि साँझ ८ । ९ बजेसम्म एक मिनेट पनि फुर्सद हुँदैन’ उनले भने ‘मेयर, सांसद, मन्त्री, सरकारी कार्यालयका हाकिमदेखि देखि अन्य ठुलाठुला उद्योगी ब्यवसायी मेरो नियमित ग्राहक हुनुहुन्छ । कसैले घरमै लैजानुहुन्छ ।’

पानमा बिभिन्न प्रकारका सामाग्रीको ३५ मिश्रण नै यहाँको विशेषता भएको तिवारी बताउँछन् । ‘पानको पात र सुपाडी त पानमा भइहाल्ने भयो काजु, किसमिस, मह, बिभिन्न मिठाई लगायतका ३५ सामाग्रीको मिश्रण हुन्छ । यस्तो खाले पान अन्त पाइन्न भन्दै ग्राहक आउनुहुन्छ’,उनले भने ।

राजेश पानमा ३ थरीको पान पाइन्छ, रेती, मिठा र फायर । फायर पानको एक सय रुपैयाँ पर्दछ भने रेती र मिठा पानको ५० रुपैयाँ ।
प्छिल्लो समय युवा पुस्ता फायर पानमा रमाउने गरेको उनले बताए । साँझको समयमा फायर पानका ग्राहक बढ्ने र रेती र मिठा पान धेरै बिक्ने तिवारीले बताए ।

फायर पान अहिलको युवा पुस्ताले रुचाउन भेराइटी हो । मनोरञ्जनको लागि पनि यो पानमा युवापुस्ता रमाउने गरेको उनले बताए । कतिपयले टिकटक पनि बनाउने गरेका छन् राजेशले हाँस्दै सुनाए ।

राजेश पानमा आउने ग्राहक पनि सन्तुष्ट छन् । वाणगंगाबाट पानकै लागि तौलिहवा पुग्ने गरेको उद्धव पौडेलले बताए ।
पनका पारखी वैरियाका कृष्ण भट्टराई र वडा नम्बर ५ कोपवाका दामोदर आचार्य पनि राजेश पान विशेष रहेको बताउँछन् ।
नियमित पानको सेवन गर्नाले स्वास्थ्यका लागि धेरै फाइदाजनक मानिन्छ ।

पानको पातमा रहेका तत्वहरुले पाचनप्रक्रियामा सुधार गर्नुका साथै मधुमेहलाई समेत नियन्त्रण गर्न मद्दत गर्ने चिकित्सकहरु बताउँछन्का अनुसार नियमति पानको सेवनले पाचन प्रक्रियामा सुधार ल्याउन, स्वस्थ छाला बनाउन, गिँजाको दुखाई कम गर्न, कब्जियतबाट राहत पाउन, छालाको मुसो कम गर्न, घाँटीको कफ अटाउन, खोकीबाट राहत पाउन, टाउकोको अधिक दुखाई कम गर्न र रगतमा सुगरको मात्रा नियन्त्रण गर्न काम गर्छ ।