काठमाडौँ । त्रिकोणात्मक टी–२० शृङ्खलामा नेपालले यूएईलाई ५ विकेटले पराजित गरेको छ । प्रतियोगितामा नेपालको यो लगातार चौथो जीत हो ।
यूएईले प्रस्तुत गरेको १ सय ६५ रनको लक्ष्य नेपालले ४ बल अगावै पछ्यायो । दीपेन्द्र सिंह ऐरीले नटआउट रहँदै मात्र १५ बलमा ४० रन बनाउँदै नेपाललाई जीतसम्म डोर्याए । उनले ६ छक्का र १ चौका हिर्काए ।
नेपालले सुरुवात भने खराब गरेको थियो । तेस्रो ओभरमा नै नेपालले ११ रन बनाउँदा ३ विकेट गुमाइसकेको थियो । पहिलो ओभरमा नै कुशल भुर्तेल मात्र १ रन बनाएर आउट भने लगत्तै अर्को ओभरमा सोमपाल कामी पनि २ रन बनाएर आउट भए । त्यसै गरी कुशल मल्ल शून्य रनमा आउट भएका थिए ।
त्यसपछि कप्तान रोहित पौडेलले ओपनर आसिफ शेखसँग मिलेर नेपालको पाली सम्हालेका थिए । शेखले ५० बलमा ६२ रन बनाए । उनले यसक्रममा ६ चौका र २ छक्का हिर्काए । त्यस्तै कप्तान पौडेलले ४२ बलमा ४७ रनको योगदान दिए । उनले चार चौका र १ छक्का हिर्काए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको यूएईले भृतया अरविन्द र बासिल हमिदको शानदार ब्याटिङको मद्दतले यूएईले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ६४ रन बनाएको थियो ।
यूएईका लागि विस्फोट ब्याटिङ गरेका हमिदले मात्र १९ बलमा ४५ रन बनाए । उनले २ चौका र ५ छक्का हिर्काए । अरविन्दले पनि ५१ बलमा ४५ रन बनाए । उनले यस क्रममा चार चौका हिर्काए ।
त्यस्तै, आसिफ खानले १८ तथा खालिद साहले १२ रनको योगदान दिए । नेपालका लागि सोमपाल कामी र अविनाष बोहराले २–२ विकेट लिए भने करन केसी र गुल्सन झाले १–१ विकेट लिए ।
प्रतिक्रिया