चन्द्रकान्त न्यौपाने,
कपिलवस्तु । समाजलाई संगति र शुशासनमा हिँडाउने पाठ सिकाउने पत्रकारहरुको संगठनमा नै शुशासन भएन भने के हुन्छ ? आम जनता र सरोकारवालाले सोँचिरहेका हुन्छन् यस्तो संस्था र त्यहाँको नेतृत्व त पक्कै ठिक तवर (नीति नियम र विधान) मा चलेको हुन्छ । संस्थागत शुषासन हुन्छ होला त्यहाँ । तर आम जनताको यहि अनुमान र संस्थाको विधान विपरित नेपाल पत्रकार महासंघ अन्तर्गतका शाखा चल्ने गरेका छन् । यस अन्तर्गत पर्दछ नेपाल पत्रकार महासंघ कपिलवस्तु, जसको आन्तरिक जीवनमा अनेक समस्या छन् भने पछिल्लो समयमा भद्रगोल र अनियमितताको चाङ देखिन्छ । समयमा गनुपर्ने साधारण सभा गर्न नसकेपछि अहिले ती कुराहरु छताछुल्ल हुन थालेका छन् ।
किन हुन सकेन साधारण सभा ?
देशभरका सबै शाखाले साधारण सभा गरिसके तर कपिलवस्तु शाखाले अहिलेसम्म गर्न सकेको छैन । आन्तरिक कलहमा रुमल्लिँदा महासंघले ७९ चैत्र सम्म गरिसक्नुपर्ने साधारण ८० कार्तिक महिना सकिन लाग्दासमेत गर्न सकेको छैन । यसभित्र बिभिन्न समस्या छन् । तीमध्ये प्रमुख कारण भनेको पदाधिकारीबीचको आपसी लडाई र अपार्दशिता रहेको बताइन्छ ।
साधारण सभा गर्ने विषयमा एकदुईपटक वैठक नै बसेर निर्णय भएको थियो । तर पदाधिकारीबीच कुरा नमिल्दा त्यो विषय माइन्यूटमै सिमित भयो । यहाँनेर अध्यक्ष बज्राचार्य, सचिव जानु पाण्डे र कोषाध्यक्ष मोहन बेलबासको मुख्य दोष रहेको श्रोत बताउँछ ।
‘उनीहरुले साधारण सभाको लागि गर्नुपर्ने अडिट लगायतका काम गर्न सकेका छैनन्’ श्रोत बताउँछ ‘अध्यक्ष, सचिव र कोषाध्यक्षले नत बार्षिक प्रतिवेदन पार्न सकेका छन् नत आर्थिक प्रगति प्रतिवेदन नै तयार पार्न सकेका छन् । उनीहरु लडेर बसेका छन् ।’
‘कार्यकाल सकिन अब ६ महिना मात्र बाँकी छ यो बीचमा अढाई बर्षसम्म संस्थाको अडिट समेत छैन, सारा हिसाबकिताब गायब छ । हरेक बर्ष बिभिन्न सरकारकाबाट आउने बजेटको कुनै टुङ्गो छैन । महासंघका नाममा सार्वजनिक सुनुवाई, पत्रकार कल्याणकारी कोष, संरचना निर्माणमा खर्चभन्दै हरेक बर्ष लाखौँ रुपैयाँ आउँछ । तर यो २ बर्षभरी यस्तै गरी आउने पैसाको हर हिसाव छैन । त्यो पैसा कहाँ खर्च भइरहेको छ, कसरी खर्च भएको छ ? यसबारे महासंघका कुनै सदस्यलाई जानकारी छैन, यिनै कारण अहिलेको कार्यसमिति साधारण सभा गर्न तयार छैनन्’ श्रोत बताउँछ ।
‘आजभन्दा करिब ३ बर्षअघि महासंघको अध्यक्ष भएका ब्रजाचार्यले पहिलो बर्ष साधारण सभा गर्न चाहेर ताकेता गरेनन् । उनको सक्रियता रहेको हुन्थ्यो भने पहिलो बर्षमा साधारण सभा गर्न कुनै समस्या थिएन’, अध्यक्षमाथि दोष थोपर्दै एक जनाले भने ‘त्यसपछि त ढिलै भए पनि अध्यक्षले साधारण सभा गर्छन् कि भन्ने आशा थियो सदस्यहरुमा तर त्यसपछि पनि साधारण सभा हुन सकेन । पत्रकार शुद्धिकरणपछि त अध्यक्ष बज्राचार्यलाई झनै हम्यहम्ये भएको छ ।’
कपिलवस्तुमै सक्रिय पत्रकारिता गर्ने एक जनाले भने ‘साधरण सभा नहुनुमा दोष अध्यक्षको भन्दा सचिव र कोषाध्यक्षको देखिन्छ । बज्राचार्य त्यति नराम्रा थिएनन् । तर उनले आफ्नो दिमागले काम गरेनन् । ‘उनलाई कहिले सचिव र कोषाध्यक्षले घुमाए, कहिले महासंघभित्रकै स्वार्थ समुहले चलायो । सचिव र कोषाध्यक्ष खाली झगडा र लफडा गर्ने मात्र भए । उनीहरु पनि अध्यक्षलाई नै फेल गराउने रणनीतिमा लागे । अहिलेको कार्यसमिति यस्तै झुर खाले छ । कसलाई के दोष दिने सबै बराबर दोषी छन्’, उनले भने ।
महासंघका अध्यक्ष किरणमान बज्राचार्यले साधारण सभा गर्न नसकिएको स्विकार गर्दै अब अधिवेशनकै क्रममा एकैपटक साधारण सभा गर्ने बताउँछन् । तथापी महासंघमा त्यस्तो विकृति नरहेको उनले बताए ।
आर्थिक अनियमितताको चाङमा महासंघ
महासंघको भवन निर्माण, सार्वजनिक सुनुवाई, पत्रकार कल्याणकारी कोष, पार्टीको भातृ संगठनका केन्द्र प्रदेशमा हुने बिभिन्न अधिवसन र कार्यक्रममा उठाइने चन्दा बापतको हिसाब भद्रगोल रहेको श्रोत बताउँछ ।
प्रदेश र स्थानीय सरकारले तिनै शीर्षकमा दिने लाखौँ/लाख रकमबारे अध्यक्ष, सचिव र कोषाध्यक्ष नै अनविज्ञ देखिएको बताइन्छ । ‘आफ्ना पार्टीका पत्रकार संगठनका नाममा नेताहरुले नीजि क्षेत्रसंग पनि यसैगरी पैसा उठाइरहेका हुन्छन्’, श्रोत भन्छ तिनको लेखाजोखा त झन् परको कुरा हो । यी सबै उदाहरणबाट महासंघ आर्थिक अनियमितताको चङ्गुलमा फसेको सजिलै अनुमान गर्न सकिन्छ ।
पत्रकार शुद्धिकरणपछि जुँगे लडाई
नेपाल पत्रकार महासंघले यस बर्ष पत्रकार शुद्धिकरण अभियान नै चलायो । त्यसपछि कपिलवस्तुका थुप्रै पत्रकार पनि शुद्धिकरणमा परे । महासंघमा आवद्ध भएका १ सय ९३ पत्रकारका मध्ये अहिले ७५ जनाको मात्र सदस्यता कायम छ । पत्रकारको नाममा पार्टीको राजनीति गर्ने, सरकारी वेतन खाने (सांसदका स्वकीय सचिव, शिक्षक ) एनजिओ आइएनजिओका लगानीकर्ता लगायतका ब्यक्तिहरु शुद्धिकरणमा परेका थिए । अहिले पनि यो विवाद कायमै छ ।
महासंघका उपाध्यक्षद्धय हरि अधिकारी, श्वेता गिरी लगायतको सदस्यता चट् भएको छ भने प्रेस युनियनका सभापति गोपाल भण्डारी लगायतको पनि सदस्यता खारेज भएको छ । यसपछि महासंघमा झन् द्धन्द्ध र विवाद चर्किएको छ । दलका भातृत्संगठनको रुपमा रहेका पत्रकारका संगठनका नेताहरुले भोलि अध्यक्ष हत्याउने दाउमा लागेर अहिले किचलो गरिरहेका छन् ।
नेपाली काँग्रेसको नेपाल प्रेस युनियन, एमालको प्रेस चौतारी, माओवादी केन्द्रको प्रेस सेन्टर, राष्ट्रिय जनमोर्चाको प्रगतिशिल पत्रकार संघ, एकिकृत समाजबादीको समाजवादी प्रेस संगठनका पत्रकार नेताहरुबीच आपसी एकता छैन । आफु अनुकुलको सिफारिस गर्न लगाएर पत्रकार शुद्धिकरण गरिएको भन्दै अहिले प्रेस चौतरी र प्रगतिशिल पत्रकार संघ लगायत बढी रुष्ट छन् ।
यो रुष्टता महासंघको हकिहितको लागि नभएर पार्टीको संगठनलाई केन्द्रमा राखेर गरेको देखिन्छ, पत्रकारहरु भन्छन् । आन्तरिक लडाइमा रेहेर महासघको समग्र गरिमामाथि नै आँच आउने र बेइज्जत गर्ने काममा प्रेस युनियन, प्रेस चौतारी, प्रेस सेन्टरका नेताहरु नै रहेको श्रमजिवी पत्रकार बताउँछन् ।
सरकारको लगानी, बालुवामा पानी
पत्रकार महासंघको वृहत्तर विकासको लागि भनेर प्रदेश र स्थानीय सरकारले संरचना निर्माणमा लाखौँ रुपैयाँ विनियोजन गर्दै आएका छन् । बिभिन्न शक्तिकेन्द्र धाएर महासंघलाई बजेट पार्न कम छैनन् यहाँका पत्रकार नेताहरु ।
कपिलवस्तु नगरपालिकाको तौलिहवामा महासंघको आफ्नै भवन रहेको महासंघले कहिँ नभएको जात्रा हाँडी गाउँमा भनेझैँ मुलुकमै कहिँ नभएको गरी जिल्लामा ३ । ३ भवन बनाएको छ । बुद्धभूमि नगरपालिको गोरुसिंगेमा सुचना केन्द्र अनि वाणगंगा नगरपालिकामा करोडौँको आसिलसान भवन । ती सबै भवन भने अहिले अलपत्र छन् ।
तौलिहवाको भवनमा अहिले ताला लागेको छ । त्यहाँ कुनै कर्मचारी छैनन् । त्यहाँ ताला लागेको अहिले ५ महिना पुरा भइसकेको छ । भवनभित्रका फर्निचर लगायतका सामानमा अहिले धुलाम्ये हुँदासमेत त्यहाँ रेखदेख गर्ने कोहि छैनन । प्राङगणको बाहिर झार उम्रिएर झाडीजस्तो बनेको छ ।
यस्तै महासंघले वाणगंगा नगरपालिकामा करोडौँ खर्चेर आलिसान भवन बनाएको छ । त्यहाँ गएर ती भवनको हविगत हेर्दा सरकारको पानी बालुवामा पानी जस्तै देखिन्छ । यो भवन नक्सा पास नगरी बनाइएको आरोप छ भने कतिपयले लालपुर्जा नै नभएको जग्गामा सरकारी रकम दुरुपयोग गरेको बताउँछन् ।
प्रदेश र स्थानीय सरकारबाट अनुदानस्वरुप लिएको रकमले त्यहाँ समयमा काम गर्न महासंघले सकेको छैन । अहिले पत्रकारको शुद्धिकरणमा परेका उपाध्यक्ष हरि अधिकारीलाई भवन निर्माण समितिको संयोजक तोकिएको थियो । त्यसको निर्माण सम्पन्न गर्न असफल भएका अधिकारी शुद्धिकरणमा परेर अहिले सुतेका छन् ।
यसको अवस्थाबारे उनलाई कुनै मतलब छैन । इट्टा लगाएर अहिले बोडगाउँको भवन अलपत्र छ । वोडगाउँको भवनमा पत्रकार महासंघका पूर्व अध्यक्षहरु नै विभाजित छन् ।
उता यस्तै अनुदान संकलन गरेर महासंघले बुद्धभुमि नगरपालिकामा पनि सुचना केन्द्र बनाएको छ । लाखौँ खर्च गरेर बनाइएको त्यो सुचना केन्द्र पनि अहिले अलपत्र छ । त्यसको अवस्था हेर्दा पनि सरकारी रकम दुरुपयोग भएको सहजै अनुमान गर्न सकिन्छ । त्यसलाई सुसम्पन्न गर्ने जिम्मा महासंघका सचिव जानु पाण्डेको हातमा थियो । उनले पनि यसबारे अहिले चासो राख्न छाडेका छन् ।
फिनिसिङ भइसक्नुपर्ने ती भवनहरु अहिलेसम्म पनि अलपत्र हुँदा त्यहाँ पनि आर्थिक अनियमितता भएको हुन सक्ने आसंका गरिएको स्वयम् पत्रकारहरु बताउँछन् । पालिकापच्छिे भवन बनाएर करोडौँ रकम दुरुपयोग भइरहेको उनीहरुको भनाई छ ।
रमिते महासंघका पूर्व अध्यक्षहरु
महासंघ यस्तो अनियमितता र भद्रगोलमा रमाउँदा पनि महासंघका पूर्व अध्यक्षहरु रमिरे र मुकदर्शक छन् । खासगरी भेषराज पाण्डे, मनोज पौडेल, बसन्त गिरी, डिला भुसाललाई महासंघमा खुवै राजनीति लाग्छ । आफ्नो पार्टीको सदस्यता थप्न र त्यहाँबाट आफ्नो स्वार्थ लिन उनीहरुले कुनै कसर बाँकी राख्दैनन् तर साधारण सभा गराउने विषयमा होओस् अथवा पत्रकार हकहितका अरु विषय यी सबैले मुखमा माड हालेर बसेका छन् ।
वसन्त गिरी त अहिले महासंघको लुम्बिनी प्रदेश अध्यक्ष छन् । आफ्नै जिल्लाको यस्तो हविगत हुदासमेत उनको जिम्मेवार भूमिका देखिन्न । कुरा मिल्दा यी नेता एकजुट हुन्छन् भने नमिल्दा जिल्लाभरका पत्रकार रहेको संस्थालाई नैगुम्राहमा राख्न उद्धत हुने गरेको देखिएको श्रोत बताउँछ ।
पत्रकारको हक अधिकारमा काम गर्न असफल
बिभिन्न सरकारबाट बर्षेनी लाखौँ रुपैयाँ कुम्ल्याउने गरेको महासंघले श्रमजिवी पत्रकारको हकहितमा भने एउटा पनि काम गरेको देखिन्न । यो समस्या बज्राचार्यको कार्यकालमा मात्र होइन यसअघिका सबै नेतृत्वमा थियो । जिल्लामा पत्रकार र मिडिया हाउसबीचमा लडाई हुँदा महासंघले कहिल्यै मध्यस्तता गर्न सकेन, उल्टै पूर्वाग्रही बन्ने गरेका थुप्रै सवुत जुटाउन सकिन्छ ।
पत्रकारलाई पीर मर्का र समस्या पर्दा अवस्था हेरेर भन्दा पनि आफु अनुकुलका हेरेर गर्ने गरिएको एक सदस्यले अपि टाइम्सलाई बताए । जिल्लाका मिडिया हाउस अहिले संकट र समस्यामा छन् । कति मिडिया हाउसमा पत्रकारले तलब पाउँदैनन्, कतिपय ठाउँमा शोषण छ यसमाथि नियमन गर्ने कुरा त परै जाओस् जिल्लाको नेतृत्वले कहिल्यै चासो समेत नदिएको बताइन्छ ।
जिल्लाका पत्रकार दीपक केसी अहिले ब्लड क्यानसर पीडित रहेका छन् । उपचारको लागि उनको अहिलेसम्म देशविदेशमा धेरै रकम खर्च भएको छ तथापि उनलाई १ लाख रुपैयाँसम्म कोषबाट निकालेर दिने हिम्मत महासंघले गरेन । बिभिन्न समयमा पत्रकारहरु दुर्घटनामा पर्दा पनि महासंघले संगठन हेरेर सहयोग गर्ने गरेको आरोप छ । ‘संगठनको पावर हुने नेता र उसका आसेपासेले सजिलै यस्तो रकम पाउँछन् तर सामान्य ब्यक्तिलाई महासंघले सहयोग गर्दैन’, एकजना पूर्वअध्यक्षले अपि टाइम्ससंग भने ।
प्रतिक्रिया