मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पोखरामा कृषि एम्बुलेन्सः किसानलाई दाम, विक्रि नभए नगरपालिकाले खरिद गर्छ

पोखरामा कृषि एम्बुलेन्सः किसानलाई दाम, विक्रि नभए नगरपालिकाले खरिद गर्छ

अपि टाइम्स

कास्की । पोखरा महानगरपालिकाले किसानलाई सघाउ पुग्ने गरी गाउँगाउँमा कृषि उपज सङ्कलन केन्द्र निर्माण गरेको छ । साना किसानहरुले उत्पादन गरेका कृषि सामग्रीहरु सहजै बजारमा बस्नेहरुले किन्न सक्ने गरी महानगरले कृषि एम्बुलेन्स सञ्चालन गरेको छ । कृषि एम्बुलेन्सबाट तरकारी बजार पुर्‍याएपछि उपभोक्ताले पनि ताजा तरकारी खान पाएका छन् ।

देशका धेरैजसो किसानहरुले उत्पादन गरेको तरकारी र फलफूलले बजार नपाउँदा सडकमा फालेर विरोध जनाउने गरेका छन् । उपभोक्ताहरुले भने बाहिरबाट आएका तरकारी र फलफूल महँगोमा किन्नुपर्ने बाध्यता छ । किसानले उत्पादन गरेको तरकारी बारीमै कुहिएर खेर जाने गरेको छ भने उपभोक्ताहरु विदेशबाट आएका विषादीयुक्त तरकारी र फलफूल खान बाध्य छन् ।

पोखरा महानगरपालिकाले भने कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएर किसान र उपभोक्तालाई सिधै जोडिदिएपछि किसानको आम्दानी बढेको छ । पहिलो दुई चार मुठा साग पनि बाकेर पोखरा जानु पर्ने थियो । पोखरा २६ माझठानका टिकाराम लामिछाने अहिले तरकारी लिन कृषि एम्बुलेन्स घरसम्मै आउँदा तरकारी बिक्री हुँदा कृषका लागि आम्दानी भएको बताए ।

पोखरा महानगरपालिकाले गाउँगाउँमा कृषि सङ्कलन केन्द्र बनाएको छ भने सहरमा बिक्री केन्द्र खोलेको छ । गाउँका कृषि सङ्कलन केन्द्रमा सङ्कलन भएका तरकारी सहरमा भएका बिक्री केन्द्रसम्म कृषि एम्बुलेन्सले ल्याएर बिक्री गर्ने गरेको कृषि एम्बुलेन्स सञ्चालक विकास ठकुरीले बताए ।

कृषि एम्बुलेन्सले वार अनुसार पोखराका कृषि उपजमा तरकारी पुर्‍याउन गर्दछ । बजारमा वार अनुसार तरकारी आएको थाहा पाउनासाथ उपभोक्ताहरु तरकारी किन्न आउँछन् । पोखराको विरौटा, सिर्जनाचोक, लेकसाइड, ड्यामसाइड लगायत क्षेत्रमा महानगरले नै बिक्री कक्ष तोकिदिएको छ । त्यसै ठाउँमा एम्बुलेन्सले तरकारी झारिदिन्छ । उपभोक्ताहरुले मन परेका तरकारी र फलफूल किन्छन् । गाउँबाट झरेको तरकारी बढी स्वादिलो हुने गरेको पोखरा – १७ कि पार्वती बताइन् ।

महानगरले पहिलो चरणमा परीक्षणको रुपमा एउटा एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । उत्पादन बढ्दै गए अझै एम्बुलेन्स थप्न सकिने योजना महानगरको रहेको छ । उत्पादन बढाउनकै लागि उत्पादनका आधारमा अनुदान दिने व्यवस्था महानगरले चलाएको छ ।

पोखरा महानगरले किसानले उत्पादन गरेका ३५ वटा कृषि उत्पादनको न्यूनतम समर्थन मूल्य पनि तोकेको छ । उनीहरुको तरकारी र फलफूल बजारमा बिक्री नभए महानगरले तोकिएको मूल्य किसानलाई दिने पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनहर कडरियाले बताएका छन् ।

महानगरमा सङ्कलन केन्द्र र बिक्री केन्द्र बढाउँदै जाने, आवश्यकता अनुसार कृषि एम्बुलेन्स थप्ने लगायतका योजना रहेको उनको भनाई छ ।कार्यक्रमलाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ कास्कीले पनि सघाइ रहेको छ । आगामी दिनमा ग्रेडिङ गरेर पोखराको उत्पादनलाई छुट्टै ब्राण्डिङ गरिने योजना रहेको उहाँको भनाइ छ । वैशाखदेखि पोखरा महानगरपालिकाले एम्बुलेन्स खरिद गरेर गाउँगाउँबाट तरकारी तथा फलफूल सङ्कलन गर्दै आएको छ।