मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

न्युजिल्याण्डलाई हराउँदै दक्षिण अफ्रिका शीर्ष स्थानमा, डिकको शतक

न्युजिल्याण्डलाई हराउँदै दक्षिण अफ्रिका शीर्ष स्थानमा, डिकको शतक

अपि टाइम्स

एजेन्सी । पुणेमा भएको खेलमा दक्षिण अफ्रिकाले प्रस्तुत गरेको ३ सय ५८ रनको लक्ष्य पछ्याउने क्रममा न्युजिल्याण्डले ३५।३ ओभरमा १ सय ६७ रन मात्र बनाउन सक्यो । न्युजिल्याण्डको यो लगातार तेस्रो हार हो । पराजयसँगै न्युजिल्याण्ड नेट रन रेटको आधारमा चौथो स्थानमा खस्किएको छ ।

दक्षिण अफ्रिका भने लगातार चौथो जीत निकाल्दै एक खेल कम खेलेको भारतलाई उछिन्दै शीर्ष स्थानमा उक्लिएको छ । दुवै टोलीको समान १२ अङ्क रहे पनि रन रेटको आधारमा दक्षिण अफ्रिका एक स्थान माथि उक्लिएको हो ।

दक्षिण अफ्रिकाका बलरसामु न्युजिल्याण्डका ब्याट्समान निरीह बनेका थिए । न्युजिल्याण्डका लागि ग्लेन फिलिप्सले सर्वाधिक ६० रन बनाए भने विल यङले ३३ रन र डेरल मिचेलले २४ रन बनाउनबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । दक्षिण अफ्रिकाका लागि केशव महाराजले ४ तथा मार्को जानसेनले ३ विकेट लिए । जेराल्ड कोट्जेले २ तथा कागिसो रबाडाले एक विकेट लिए ।

यसअघि क्विन्टन डी कक र रासी भन डर डुसेनको शतकीय पालीको मद्दतले दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ४ विकेटको क्षतिमा ३ सय ५७ रन बनाएको थियो । डी ककले १ सय १४ रनको शानदार पाली खेले । उनले ११६ बलमा १० चौका र ३ छक्का हिर्काए । यो विश्वकपमा उनी ५ सय रन पुरा गर्ने पहिलो खेलाडी पनि बनेका छन् । यो विश्वकपमा उनको यो चौथो शतक हो ।

त्यस्तै, डुसेनले ११८ बलमा १ सय ३३ रन बनाए । उनले ९ चौका र ५ छक्का हिर्काए । डेभिड मिल्लर आक्रामक पाली खेल्दै ३० बलमा ५३ रन बनाए । कप्तान टेम्बा बाभुमाले २४ रनको योगदान दिए । न्युजिल्याण्डका लागि टीम साउथीले २ तथा ट्रेन्ट बोल्ट र जेम्स निसमले १–१ विकेट लिए ।