काठमाडौं । यो यस्तो महान एकदिवसीय इनिङ्स थियो, जसलाई केहीले मात्र देख्न पाए । त्यसैले यसलाई ‘कसैले देख्न पाएको महान इनिङ्स’ पनि भनिन्छ ।
साँच्चै यसलाई कोही कसैले पनि दोहोर्याएर देख्न पनि पाउने छैन् । हामी कुरा गरिरहेका छौं, सन् १९८३ को विश्वकपमा भारतका लागि कपिल देवले जिम्बावेविरुद्ध बनाएको १७५ रनको इनिङ्स ।
प्रश्न हुन सक्छ, अहिले यति बेला यसको चर्चा किन त ?
खासमा ग्लेन म्याक्सवेलले कपिल देवको त्यो इनिङ्सलाई सम्झाउन बाध्य पारेका हुन् ।
अफगानिस्तानविरुद्ध नटआउट २०१ रनको सर्वकालीन महान इनिङ्स खेले, सबैले ठ्याक्कै सम्झन चाहेको भनेको त्यही कपिल देवको १७५ नै हो ।
म्याक्सवेलको त्यो असाधारण ब्याटिङले अहिले धेरै भन्दा धेरेले कपिल देवलाई नै सम्झिरहेका छन् ।
के तपाईँले सन् २०२१ मा रिलिज भएको ८३ सिनेमा हेर्नु भएको छ ?
छैन् भने अहिले विश्वकप चलिरहेको छ, हेर्दा मज्जै आउँछ ।
कबिर खानले निर्देशन गरेको यो सिनेमा कपिल देवको जीवनीमा आधारित छ ।
अनि यससँग भारतीय टिम त जोडिन्छ नै ।
कपिल देवको भूमिकामा छन्, रणवीर सिंह । व्यापारिक रूपमा यो खासै सफल भने रहेन । तर खेल प्रेमीका लागि यो हेर्न लायक नै छ ।
यसमा पनि मज्जाले चर्चा गरिएको छ, त्यही कपिलदेवको १७५ रनको ।
खासमा भएको के थियो भन्दा सन् १९८३ को त्यस विश्वकपमा भारत र जिम्बावेबीच टनब्रिज वेल्समा यो खेल भएको थियो ।
दर्शक खासै थिएनन्, सायद सयको संख्यामा । नभए त्यो भन्दा केही बढी । जति थिए, तिनीहरू भाग्यमानी रहे ।
उनीहरूले देख्न पाए, एकदिवसीय क्रिकेटकै सबैभन्दा महान एक अर्को इनिङ्स ।
दिन थियो, जुनको १८ । भारतले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो ।
यसक्रममा खराव सुरुवात गरेको भारतले १७ रन बनाउँदासम्म पाँच विकेट गुमाइसकेको थियो ।
अझ चार विकेट गुमाउँदा त स्कोर बोर्डमा नौ रन मात्रै चढेको थियो । पछि यो स्कोर सात विकेट गुमाएर ७८ रन पनि भयो ।
यही स्थितिमा मैदानमा आए, कपिल देव । उनले दायाँ हेरेनन, बायाँ हेरेनन्, खालि एकपछि अर्को बलमा रन मात्र बटुले ।
उनले १ सय ३८ बलको मात्र सामना गरे र यसमै १६ चौका र छ छक्का प्रहार गरे ।
अन्त्यमा नटआउट पनि रहे । उनले बनाएको १७५ रन त्यो समयको स्कोर हो, जुन बेला प्रति ओभर चार रन बनाउनु पनि ठूलै थियो ।
त्यो समयको क्रिकेट बेग्लै थियो । एकदिवसीय त्रिकेट पनि ६० ओभरको थियो । यसरी भारतले आठ विकेटमा २ सय ६६ रन बनायो । पछि जवाफमा जिम्बावेले २३५ रन बनाएर अलआउट भयो, भारत ३१ रनले विजयी रह्यो ।
आखिरमा भारतले नै यो विश्वकप जित्यो, फाइनलमा वेस्ट इन्डिजलाई हराएर ।
यसैपछि त हो, भारतमा क्रिकेटले गति लिएको । अनि अहिलेको व्यावसायिक भारतीय क्रिकेटको जग बसेको ।
पछि यी कपिल देव विश्व क्रिकेटकै एक महान अलराउन्डर कहिलिए । सर्वाधिक टेस्ट विकेटको कीर्तिमान लामै समय उनको नाममा रह्यो ।
तर यहाँनिर एउटा ठूलै समस्या के रह्यो भने कपिल देवको त्यो इनिङ्सको भिडियो रेकर्डिङ छैन् ।
त्यो दिन बीबीसीका कामदार हड्तालमा थिए । त्यसैले यो खेलको प्रतक्ष प्रशारण पनि भएन् । न त अभिलेखकै लागि भनेर खिचियो ।
भनेपछि यो खेल मैदानमै रहेकाले जति हेरे, त्यति मात्रै हो । अरू कसैले दोहर्याएर हेर्न पाएनन् ।
त्यसैले त यसलाई भन्ने गरिन्छ, ‘कसैले देख्न पाएको महान इनिङ्स’ । अनलाइनखबरबाट
प्रतिक्रिया