मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जगदिशपुरमा रकेट शैलीमा कुदिरहेका स्टिमर एक सातामै किन भए बन्द ?

जगदिशपुरमा रकेट शैलीमा कुदिरहेका स्टिमर एक सातामै किन भए बन्द ?

अपि टाइम्स

कपिलवस्तु । मुलुकको दोस्रो तथा लुम्बिनी प्रदेशकै एकमात्र दोस्रो बर्ड सेन्चुरी (पंक्षी आरक्ष क्षेत्र) जगदीशपुर तालमा चलेका मोटर बोट (स्टिमर) बन्द भएका छन् । तिहार बिदामा चोरबाटोबाट भित्र्याइएका स्टिमर एक सातामै बन्द भएका हुन् । स्टिमर संचालनपछि पर्यापर्यटनमा असर परेको भन्दै जनसमुदायबाट बयापक विरोध भइरहेको थियो । विरोधकाबीच नै जगदीशपुर ताल जलासय व्यवस्थापन बहुसरोकार मञ्चले ठेक्कामार्फत् अत्याधुनिक १० सिटे मोटरबोटको संचालन गरेको थियो ।

मंचले चोरबाटोबाट यसरी स्टिमर चलाएपछि चराको बासस्थान विथोलिएको थियो भने आगन्तुक चराको आगमनमा असर परेको थियो । जनसमुदाय र सरोकारवालाले यहि कुराको ब्यापक विरोध गरिरहेका थिए । त्यहि कुरा थेग्न नसकेर स्टिमर बन्द भएका हुन् । फिल्मी र रकेट शैलीमा घुमाई घुमाई तिब्र गतिमा स्टिमर चलाँउदा स्थानीय तथा आगन्तुक चरा डराएर भाग्ने गरेका स्थानीयको भनाइ रहेको थियो ।

१५७ हेक्टरमा फैलिएको नेपालकै दोस्रो पंक्षी आरक्ष क्षेत्र जगदीशपुरले हिउँदमा मात्रै १५ देखि २० हजार आगन्तुक चरालाई आश्रय दिँदै आएको छ । अहिले हिउँदको समयमा मध्य एसियासहित चीन, रुस, मंगोलिया, युरोप, कोरिया र तिब्बती क्षेत्रबाट चिसो छल्न, फुल पार्न र बचेरा हुर्काउन आउने चराहरु अवैध मानवीय हस्तक्षेपका कारण अप्ठेरोमा परेको विज्ञहरुको ठहर छ । सोही कारण कतिपय चरा जगदीशपुर तालमा गएका छैनन् । साना ताल तलैयामा आश्रय लिन पुगेपछि उनीहरु असुरक्षित बनेका हुन् ।

सिमसार क्षेत्रमा लामो समयदेखि काम गर्दै आउनुभएका संरक्षणकर्मी तथा वातावरणविद् डा. कमल थापा तालमा मोटरबोट संचालन गर्न उचित नहुने तर्क गर्छन् । तालको निश्चित स्थान तोकेर पेडल डुंगा संचालन गर्न सकिएता पनि स्टिमर सञ्चालन गर्नु ताल र पर्यापर्यटनका लागि घातक हुने डा. थापाको ठहर छ ।

स्थानीयकै मनोमानीका कारण वर्ड सेन्चुरी नै संकटमा परेको सरोकारवाला बताउँछन् ।

मञ्चले संचालनमा ल्याएका स्टिमर पनि चोर बाटोबाट आएका थिए भने सञ्चालनका लागि एक वर्षका लागि ७ लाख ५ सयमा दिइएको ठेक्कामाथि पनि प्रश्न थियो ।

सर्लाहीबाट साढे १३ लाखमा खरिद गरेपछि यी स्टिमर २८ गतेदेखि तालमा चलिरहेका थिए । यसअघि ०७६ सालदेखि जगदिशपुरमा पाईडल डुंगा चलिरहेका थिए ।

जैविक विविधता, सिमसार र चराका कारण विश्व सिमसार क्षेत्रमा सुचिकृत भएको ठाउँको रुपमा जगदिशपुर जलाशय पर्दछ । सरोकारवालाका अनुसार पहिले संचालन भएका ४ वटा पाईडल डुंगा पनि जर्वजस्ती चलाईएको थियो ।

पाईडल डुंगा संचालन गैरकानूनी र अपारदर्शी रहेको उजुरी २०७८ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयमा परेको थियो । अख्तियारले छानबिन गरि डिभिजन वन कार्यालयलाई तत्काल डुंगा बन्द गर्न निर्देशन गरेको थियो ।

जाडो सुरु भएसंगै हिउँदे चरा आगमन सुरु भएको छ । तर, जगदीशपुरमा अहिले पाहुना चराको अवस्था देख्दा वरिष्ठ चराविद् डा. हेमसागर बराल भावुक भए । विकासको नाममा जगदीशपुर विनास तिर लाग्यो, उनले भने, ‘यहाँको जैविक विविधता र चरा आकर्षण फर्काउन सकिँदैन् ।’

गत वर्षसम्म सबैभन्दा बढी पानी चरालाई आश्रय दिदै आएको तालमा यो वर्षदेखि पानी चरा घट्ने निश्चित छ । सन् २००१ मा विश्व सीमसार क्षेत्रमा सूचीकृत उक्त ताललाई लुम्बिनी प्रदेश सरकारको पहलमा सन् २०२२ मा बर्ड सेन्चुरी घोषणा गरिएको थियो ।