मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कपिलवस्तुको मायादेवीमा भण्डारणसहितको चिउरा मिलको उद्घाटन, के भन्छन् कृषिमन्त्री ?

कपिलवस्तुको मायादेवीमा भण्डारणसहितको चिउरा मिलको उद्घाटन, के भन्छन् कृषिमन्त्री ?

अपि टाइम्स

कपिलवस्तु । कृषि तथा पशुपन्छी विकास मन्त्री डा बेदुराम भुसालले कपिलवस्तुमा सिंचाई सुविधा विस्तारमा ध्यान दिनुपर्नेमा जोड दिएका छन् ।

जिल्लामा खेतीयोग्य जमिन प्रयाप्त रहेपनि भरपर्दो सिंचाई सुविधा नभएको भन्दै अब सिंचाई सुविधा विस्तारमा लाग्नुपर्ने बताएका हुन् ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाई कपिलवस्तुको ५० प्रतिशत अनुदान सहयोगबाट मायादेवी गाउँपालिका वडा नं ५ बलुहवामा निर्मित भण्डारणसहितको चिउरा मिलको शनिबार उद्घाटन गर्दै मन्त्री भुसालले जिल्लामा सिंचाईको अल्पकालिन, मध्यकालिन र दीर्घकालिन योजनासहित सिंचाई सुविधा विस्तार गर्नुपर्ने बताए ।

जिल्लाको पूर्वी भेगमा बाणगंगा नदी, कोठी नदी लगायतबाट बाँध बाँधेर दक्षिणी क्षेत्रसम्म सिंचाई सुविधा विस्तार गर्नुपर्ने बताउनुभयो । साथै दशकौ देखिको राप्ति ड्राइभर्सनको सपना अब पूरा गर्नुपर्ने उनको भनाई छ ।

यी दीर्घकालिन योजना भएपनि अब काम गरेर देखाउनुपर्नेमा उनले जोड दिए ।

तत्कालका लागि जिल्लामा साना सिंचाई मार्फत खेती गर्नुपर्नेमा उहाँको जोड थियो । साना नहर तथा कुलोको स्तरउन्नति, डिप बोरिङ निर्माण, स्यालोट्युवेल मार्फत सिंचाई गर्नुपर्ने मन्त्री भुसालले बताए ।

सिंचाइको प्रबन्ध गरेमात्र धान उत्पादनमा वृद्धि गर्न सकिने उहाँको तर्क छ । बर्षेनी चामलको आयात बढिरहेको भन्दै अब सरकारले चैते धान प्रबर्धनमा जोड दिएको उनले जानकारी दिए ।

कृषिको उत्पादन वृद्धिका लागि यान्त्रिकीकरण र उन्नत बिउमा जोड दिनुपर्नेमा मन्त्री भुसालको जोडछ ।

कार्यक्रममा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका निर्देशक विनोद भट्टराईले कृषिको उत्पादन वृद्धिमा परियोजनाले विभिन्न जिल्लामा काम गरिरहेको बताए । कपिलवस्तुमा धान सुपरजोन, माछा र तरकारी जोन मार्फत कृषिको उत्पादन वृद्धिमा काम गरिरहेको उनले जानकारी दिए ।हरेक बर्ष किसानका लागि विभिन्न बजेट मार्फत किसानलाई सहयोग गरिरहेको समेत उनले बताए ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख बाबुराम आचार्य, सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेल लगायतले बोल्दै बलुहवामा निर्माण भएको चिउरा मिलले यहाँका किसानलाई प्रत्यक्ष फाइदा पुग्नेमा जोड दिएका थिए ।

आव ०७९।०८० मा परियोजना कार्यान्वयन एकाई कपिलवस्तुले यहाँ ग्रीन नेपाल कृषक समूह मार्फत भण्डारणसहितको चिउरा मिल स्थापना गरेको परियोजनाका कपिलवस्तु प्रमुख सहसराम चौधरीले बताए । परियोजनाले चिउरा मिलमा १९ लाख १९ हजार रुपैयाँ अनुदान सहयोग गरेको उनले जानकारी दिए ।