मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

२ बर्षदेखि धुलो पिउँदै सर्वसाधारण, जनप्रतिनिधि र ठेकेदारको चरम बदमासी

२ बर्षदेखि धुलो पिउँदै सर्वसाधारण, जनप्रतिनिधि र ठेकेदारको चरम बदमासी

अपि टाइम्स

चन्द्रकान्त न्यौपाने

काठमाडौँ । वाणगंगा नगरपालिकाको मुटुमै पर्ने वडा नम्बर ४ को तल्लो गजेहडा (तिनकुने) देखि गंगौली–राजापानी जोड्ने बाटोको दुर्दशाको बारेमा सायदैलाई जानकारी होला । बाटोको दुर्दशा मात्र होइने त्यो बाटोको कारण छेउछाउका सर्वसाधारणले भोगेको समस्याको बारेमा लेख्दा उपन्यास नै बन्छ ।

विगत केहिदिनदेखि त्यहि सडकखण्डको दुर्दशा सामाजिक संजालमा भाइरल भइरहेको छ । भिडिओ देख्दा यस्तो लाग्छ त्यहाँ स्थानीय सरकार छ कि छैन ? छ भने कहाँ छ ? संघ र प्रदेश सरकारका जनप्रतिनिधिले आफ्नो क्षेत्रको यो दुर्दशा हुँदा के हेरेर बसिरहेका छन् ?

पहिले भिडिओबारे कुरा गरौँ । सामाजिक संजालमा सार्वजनिक भिडिओमा त्यहि बाटो एउटा बस गुडेको देखिन्छ । त्यो बस कुनै कलेजको हुन्छ । बस सुस्तरी गुडेको देखिँदैन । उसको दौडाई देख्दा लाग्छ त्यहाँ सवारी साधनको दौडने प्रतिस्पर्धा नै चलेको छ । बसको दौडाईसंगै त्यहाँबाट बुङ्ग धुलो उड्छ । यसरी धुलो उड्छ कि एकैछिनमा पछाडीबाट त्यो बस नै देखिन्न । वरिपरिको वातावरण छेकिन्छ । घरहरु धुलोले ढाकिन्छन् । यसैगरी विहानदेखि साँझसम्म सवारी गुड्छन् ।

विगत दुई बर्षदेखि त्यहाँका सर्वसाधारणले यहि नियति भोगिरहेका छन् । विहानदेखि साँझसम्म बाटोमा उड्ने त्यो धुलोका कारण कति सर्वसाधारण विरामी परेका छन् भने कतिपयलाई श्वासप्रश्वाससम्बन्धि जोखिम बढेको छ । अर्कोतर्फ त्यस बाटोमा दुर्घटनाको पनि त्यस्तै डर छ । कतिपय बालबालिका र यात्रु दुर्घटनामा परेका छन् ।

अर्कातर्फ धुलोले सर्वसाधारणलाई दिनु दुख दिएको छ । अहिले त्यस क्षेत्रका सर्वसाधारणको धेरै समस्या भोगिरहेका छन् । घर अगाडि बनाइएका कम्पाउण्डको बाहिर निस्किएर बस्न, कुरा गर्नै नसकिने, लुगा कपडा धोएर बाहिर सुकाउनै नमिल्ने? घरहरुमा पोतिएको रङ्ग नै नदेखिने, धुलोका कारण तरकारी तथा फलफुल खेतीमा प्रदुषण, घरभित्रका बिस्तरा खाद्यान्हमासमेत धुलोका कारण फोहर हुने लगायतका समस्याले हैरान भएपछि अब सर्वसाधारण आन्दोलनको तयारीमा छन् । पटकपटक स्थानीय, प्रदेश र संघ सरकारका प्रतिनिधि र ठेकेदारलाई यस विषयमा पटकपटक जानकारी गराउँदा टेरपुच्छर नलगाई आरोपप्रत्यारोपमा लागेपछि बाटोमा यातायात बन्द, वडा र नगरमा धर्ना, त्यति पनि नभए जनप्रतिनिधिको पुत्ला दोहन गर्ने र कालोमोसो दल्ने सुरमा त्यहाँका सर्वसाधारण छन् । अबको केहि दिनमै यस्तो आन्दोलनमा जाने स्थानीयले अपिटाइम्सलाई बताए ।

किन यस्तो भयो ?

गजेहडाको तिनकुनेदेखि वडा नम्बर ३ को सिमाना (पूर्व कल्भर्ट) सम्म पहिले सानो ट्याक थियो । फराकिलो बाटो नभएपछि केहि स्थानीय र टेकेन्द्र कुमार क्षेत्री नगरपालिका गुहार्न पुगे । त्यतिखेर नगरप्रमुख मंगल प्रसाद थारु थिए भने उपप्रमुख (हालका मेयर) चक्र अर्याल थिए । क्षेत्रीले भने ‘यो बाटो बनाउन भनेर उपमेयर अर्याललाई आग्रह गरेँ । तर उहाँ बाटो बनाउन तत्पर हुनुभएन । त्यसपछि चक्रपाणी खनाल बलदेवको पावर लगाएर संघिय सरकारमार्फत् २० लाख बजेट झिकाइयो र पश्चिमबाट नालीसहित नौ मिटरको कायम गरी निर्माण कार्य अघि बढ्यो । पेलेर बाटो निकालिएको हो । कतिपयका घरका पेटी गए, कतिपयका केके गए ।’

क्षेत्रीले थपे ‘२० लाख बजेटले छेउ नलागेपछि बलदेवको सांसद विकास कोषबाट फेरि २० लाख बजेट ल्यायौँ र काम बढिरहेको थियो । त्यतिखेरसम्म घोलासम्म नाली पनि बन्यो ।’ यतिखेरसमम पनि नगरले त्यो बाटो निर्माणबारे कुनै चासो नदिएको क्षत्री बताउँछन् ।

उनका अनुसार त्यसपछि प्रदेश सांसद विष्णु पन्थीलाई भनेर ५० लाख बजेट बिनियोजन गरियो र फिप्टीफिप्टी योजना अन्तर्गत नगरलाई पनि ५० लाख बजेट हाल्न बाध्य पारिएको थियो । त्यसपछि नगरले ७० लाखको टेण्डर आह्वान गर्यो । टेण्डरमा साहानी विल्डर्स छानिएर काम सुरु भएको थियो । विल्डर्सले केहि काम गर्दागर्दै एक्कासी काम रोकियो । काम रोकिएकोबारे स्थानीयले विल्डर्ससंग बुझ्दा भुक्तानी नपाएको लगायतका समस्या देखाएर निर्माण ठप्प परेको छ ।

यति हुँदा हुँदाहुँदै पनि प्रदेश सरकारले फेरि त्यहि बाटोमा ३० लाख बजेट छुट्यायो । तर त्यो बजेटलाई खर्चको प्रकृयातर्फ नगरले लैजान सकेन र विगत २ बर्षदेखि बाटो अलपत्र छ । श्रोतका अनुसार अहिले प्रदेशको बजेट पनि फश्र्यौट गरिएको छ भने बाटो निर्माणबारे नगरले कुनै चासो दिएको छैन ।

स्थानीयले बाटो किन बनेन ? भनेर वडा अध्यक्ष र मेयरलाई सोध्दा मुद्धा मामिला र ठेकेदारको बदमासी भएको देखाउँछन् भने ठेकेदारले नगरपालिकालाई दोष लगाउने गरेको पाइएको छ । जनप्रतिनिधि र ठेकेदारको तारोमा अहिले स्थानीय छन् । बाटो भत्काउने र खन्ने काम भएर लथालिङ्ग भएको बाटो नबन्दा धुलो पिउने लगायतको सास्ती सर्वसाधारणले खेपेका छन् । कतिपयले नगरले जानाजान ठेकेदार भगाएर आफू चोखिन खाजेको आरोप लगाउने गरेका छन् ।

बाटो चुनावी नारा बन्यो तर फर्केर हेरिएन

यहि बाटोको मुद्धा बनाएर त्यस क्षेत्रका जनताको भोट लिएर वडा अध्यक्षमा छवि रेश्मी, मेयरमा चक्र अर्याल, प्रदेश सांसदमा विष्णु पन्थी र प्रतिनिधि सभा सदस्य पदमा बलराम अधिकारीले चुनाव जिते । स्थानीय कृष्ण मरासिनी भन्छन् ‘यहि बाटो बनाउने शर्तमा हामीले भोट दिएका थियौँ । तर अहिले यसबारे बेखबर छन् ।’

अर्का स्थानीय विनोद भण्डारीले बाटोको नबन्नाको कारण, मुद्धा लगायतबारे विष्णु पन्थी, बलराम अधिकारी, चक्रपाणी खनाल, छवि रेश्मी लगायत सबैलाई जानकारी गराएको अपिटाइम्सलाई स्मरण गराए । भण्डारीका अनुसार पन्थी र रेश्मीले मुद्धा मामिला जे भए पनि आफूले बाटो बनाएरै छाड्ने भन्दै भोट मागेका थिए ।

स्थानीय आशिष राना, निशान कुँवर र पुर्ण राना भन्छन् ‘अहिले त्यो वाचा बन्धन भुलेर वडा अध्यक्ष, प्रदेश सांसद कसैले पनि यसको दुर्दशाबारे सुन्नै खोज्दैनन् । उनीहरुले ठेकेदारको कारण बाटो बनेन भनेर तर्कन्छन् । हामीले कसलाई हो भन्ने । अब हामी आन्दोलनमा जानुको विकल्प छैन ।’

स्थानीय सरोकारवालाका अनुसार जनप्रतिनिधि अहिले कहिले अख्तियारमा परेको मुद्धालाई देखाएर कहिले ठेकेदारलाई देखाएर पानीमाथिको ओबानो बन्ने बन्ने प्रयास गरिरहेका छन् । उक्त बाटो निर्माणबारे अहिले अख्तियारमा मुद्धा छ । मुद्धाको किनारा नलाग्दासम्म नगरले केहि गर्न मिल्दैन । मुद्धा किनारा लाग्नासाथ जे गर्नुपर्ने हो हामी गछौँ । बाटो नबन्नुमा नगर, मेयर र वडाको दोष छैन, नगर श्रोत भन्छ ।

सांसद विष्णु पन्थीले आफु बाटो निर्माणबारे संवेदनशिल रहेको बताए । उनले भने ‘मुद्धामामिला, ठेकेदार भागेको लगायतको कुरा सुनेको छु । तर पनि बाटो बन्नुपर्छ । के भएको रहेछ । जे भएको भए पनि मैले पहल गर्छु । मैले नै बजेट छुट्याइदिएको छु प्रदेशबाट ।’

बाटो निर्माण हुन नसकेको कारणबारे ठेक्का पाएको साहानी विल्डर्ससंग अपिटाइमसले बुझ्न खोज्दा कुराकानी हुन सकेन । कम्पनीको आधिकारिक मोबाइल नम्बर ९८४०७७०९३७ नम्बरमा फोन लगाउँदा स्विच अफ छ । उसो त स्थानीय बाटोघाटोको ठेक्कामा बदमासी गर्ने, योजना अलपत्र पार्ने कम्पनीको सुचिमा पर्दछ साहानी ।

समाचार श्रोत अनुसार निर्माण कम्पनी साहानीले पनि गरेको कामको भुक्तानी नगरबाट नपाएपछि अन्यायमा परेको भन्दै नगरविरुद्ध मुद्धा दायर गरेको छ । यता २ बर्षसम्म धुलो र खराब बाटोका कारण सास्ती पाएका समुदाय अब तार्किक आन्दोलनमा छन् । उनीहरुले ठेकेदार कम्पनीबारे आफूहरुलाई कुनै थाहा नहुने भन्दै वडा अध्यक्ष, मेयर लगायतको कठालो समात्ने बताउँछन् । उनीहरुले अब चरणवद्ध आन्दोलन गर्ने बताए ।